अपडेट : धौलागिरि आईसफलबाट खसेको हिमपहिरोले थुनिएको बोक्सेखोला बग्यो

कुनै प्रकारको क्षतिको जोखिम छैन- प्रहरी

26.88k
Shares

म्याग्दी।

हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२, कोबाङस्थित छिप्लाङमा थुनिएको बोक्सेखोलाबाट पानी बग्न सुरु भएको छ । आज (शुक्रवार) दिउँसो साढे १२ बजेतिर धौलागिरि आईसफलबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सेखोलाबाट अहिले पानी बगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

धौलागिरि आईसफलबाट खसेको हिमपहिरोको कारण कोबाङको छिप्लाङ भन्ने ठाउँमा बोक्सेखोला थुनिएको थियो । कोबाङको बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला मानिन्छ । खोला थुनिएर पानीको मात्रा घट्नुका साथै हिमपहिरो खसेको ठूलो आवाज सुनेपछि स्थानीयवासीले सुरक्षा निकाय र जनप्रतिनिधिलाई खबर गरेका थिए । 

थुनिएको बोक्से खोलाबाट पानी बग्न थालेपछि अहिले कुनै प्रकारको क्षतिको जोखिम नभएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बताए। पहिरो आएर खोला थुनिएको ठाउँ छिप्लाङ पुगेर प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहित जिल्ला सुरक्षा समितिका सबै पदाधिकारी र स्थानीय जनप्रतिनिबाट क्षतिको बारेमा स्थलगत अवलोकन गरिएको उनले जानकारी दिए।

हिमपहिरो खसेर बोक्सेखोला थुनिएर जोखिम बढेपछि तटीय क्षेत्रमा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा पठाइएको थियो । बोक्सेखोलामा बेनी–जोमसोम–कोरला सडक पर्दछ । यसअघि २०७८ साल कात्तिक २८ गते दिउँसोको समयमा पनि मुस्ताङको थासाङ–२, कोबाङको यही खोलामा हिमपहिरो खसेको थियो।