राजश्व अनुसन्धानमा घिमिरे, सम्पत्ति शुद्धीकरणमा दाहाललाई पठाउने निर्णय


काठमाडौं । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सुमन दाहाललाई पठाउने निर्णय गरेको छ । 

 सरकारले केहि दिन अघि गरेको सहसचिव सरुवामा घिमिरे र दाहाल दुबैलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ल्याएको थियो भने राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई अन्यत्र सरुवा गरेको थियो । दुबै जना महानिर्देशकलाई सरुवा गरिएपछि रिक्त रहेको राजश्व अनुसन्धान विभागमा घिमिरे र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दाहाललाई पठाइएको  हो । यी दुबै विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको छ । 

घिमिरे राजश्वकै क्याडर हुन् । दाहालले यस अघि भन्सार विभागको महानिर्देशक भइसकेका छन् । दुबै महानिर्देशक अनुभवी भएकाले सुधार गर्नका लागि उनीहरुलाई  ती विभागहरुमा पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।