त्रिविमा विभागीय प्रमुख नियुक्ति प्रकरण: स्ववियु विभाजित, सभापति र सचिवको छुट्टाछुट्टै विज्ञप्ति

1.97k
Shares


–स्ववियुको लेटरप्याडमा फरकफरक विज्ञप्ति
–सभापति ओझा भन्नुहन्छ : थ्रेट कसले दियो, प्रमाण पेस गर्न चुनौती दिन्छु
–सचिव भट्ट भन्नुहुन्छ : सुरक्षा थ्रेट खप्न नसकेर सहकुलपतिले सुरक्षा माग्नुभएको हो ।
–नेविसंघ भन्छ : कसले थ्रेट गर्‍यो प्रमाण दिनुपर्छ
–बिहीबार पनि प्रहरीको कडा पहरा
–नेविसंघ गौतम र अनेरास्ववियु शेर्पाको पक्षमा

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा सुरक्षा थ्रेट बढेको अभिव्यक्ति दिएपछि त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) दुई भागमा विभाजित भएको छ ।
सहकुलपति एवं मन्त्री भट्टराईले त्रिविका पदाधिकारीको भनाइको आधारमा सामाजिक सञ्जालमा त्रिविका पदाधिकारीको सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीलाई आग्रह गरेपछि विवादित भएको छ।

सहकुलपति एवं मन्त्री भट्टराई आफंैले गृहमन्त्रीसँग छलफल गर्न छाडेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि त्रिविको समस्या झन् पेचिलो भएको छ। मन्त्रीको अभिव्यक्तिप्रति स्ववियुका सभापति श्यामराज ओझाले कडा आपत्ति जनाउनुभएको छ भने र सचिव सिद्धान्त भट्टले समर्थन गर्नुभएको छ ।

यस विषयमा स्ववियु विभाजन भएपछि त्रिविमा झन् समस्या बढेको छ । स्ववियु सभापति ओझा नेविसंघ समर्थित हुनुहुन्छ भने सचिव अनेरास्ववियु समर्थित हुनुहुन्छ । स्ववियु सभापति श्यामराज ओझाले शिक्षामन्त्री भट्टराईलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न चुनौती दिनुभएको छ भने सचिव सिद्धान्त भट्टले विश्वविद्यालयलाई दलगत राजनीतिको केन्द्र बनाउन खोजिएको भन्दै भण्डाफोर गर्ने चेतावनी दिनुभएको छ।

दुवै जनाले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शिक्षामन्त्रीको अभिव्यक्तिबारे धारणा सार्वजनिक गरेका हुन् । स्ववियु सभापति ओझाले स्ववियु विभाजन नभएको बताउँदै स्ववियुको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गर्ने सचिवसँग स्पष्टीकरण लिने चेतावनी दिएका छन् । सचिव भट्टले भने आफूसँग स्पष्टीकरण लिन चुनौती दिनुभएको छ । सचिव भट्टले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कसैले पनि स्पष्टीकरण लिन सक्दैन । स्ववियुमा नेविसंघको तर्फबाट ९ र एमाले निकट अनेरास्ववियुको तर्फबाट ६ जना पदाधिकारी छन् ।’

त्रिवि स्ववियु सभापति ओझाले जारी विज्ञप्तिमा कोबाट सुरक्षा थ्रेट आएको भन्ने प्रस्ट हुनुपर्ने उल्लेख गर्नुभयो । विश्वविद्यालयका पदाधिकारीलाई असुरक्षा भएका कारण विश्वविद्यालयमा उपस्थित हुन नसकेको भन्ने समाचार सम्प्रेषण भइरहेको विषयप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभयो । पदाधिकारीलाई सुरक्षा थ्रेट भएका कारण विश्वविद्यालयमा उपस्थित नभएको र उक्त असुरक्षा विद्यार्थीले सिर्जना गरेको भन्ने भ्रम निर्माण गरिनुले चकित तुल्याएको सभापति ओझाको भनाइ छ ।
‘कसले ? कहाँ ? कुन माध्यमबाट ? कहिले ? कसलाई ? कुन प्रकारको धम्की दिएको हो ? त्यो नखुलाई विद्यार्थी राजनीति र आन्दोलनका आजसम्मका उपलब्धिहरूको समेत अवमूल्यन हुने गरी विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र मिडियाबाजीले हामीलाई लज्जित तुल्याएको छ’ –सभापति ओझाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विश्वविद्यालयको शैक्षिक गरिमामाथि नै आँच आउने गरी अत्यधिक मिडियाबाजी भएपश्चात् सोधीखोजी गर्दा पदाधिकारीका कार्यालय प्रमुखहरूलाई समेत धम्की आएको जानकारी नभएको बुझिएको उहाँको भनाइ छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै सभापति ओझाले भन्नुभयो– ‘तीनैजना पदाधिकारीको कार्यालयमा कसैले पनि धम्की दिएको छैन, उहाँहरू आफैँले प्रपोगान्डा गर्न खोज्नुभएको छ ।’ उहाँले आफ्नो अक्षमता ढाक्न सुरक्षा थ्रेट भएको जानकारी दिएको दाबी गर्नुभयो ।

‘अनावश्यक राजनीतिकरणमा लाग्नुको साटो प्रमाणसहित आफ्नो अभिव्यक्ति पुष्टि गर्न शिक्षामन्त्री चुनौती दिन्छु’ –उहाँको भनाइ थियो । आफ्नो क्षमताले विश्वविद्यालय चलाउन सकिँदैन भन्ने लागेका कारण बहानाबाजी गरेर आफ्नो दायित्वबाट पन्छिने मनसाय राखिएको भए पदबाट राजीनामा दिन पदाधिकारीहरूलाई चेतावनी दिएका छन् ।

विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा रिक्त विभागीय प्रमुख नियुक्तिमा स्वार्थ समूह र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयको पदाधिकारीमाथि स्वार्थ समूहले डर, धम्की दिएको भनी आएका समाचारप्रति स्ववियु विश्वविद्यालय क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको सचिव भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘दबाब र प्रभावमा परेर विश्वविद्यालयको ऐन, विनियम तथा कार्यविधिविपरीत हुनै पनि निर्णय नगर्न तथा विद्यार्थी र विश्वविद्यालयमैत्री निर्णय निर्धक्क भएर निर्णय गर्न पदाधिकारीलाई आग्रह गर्दछु’ –सचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उहाँले विश्वविद्यालयलाई दलगत राजनीतिको केन्द्र बनाउन खोजिएको भन्दै भण्डाफोर गर्ने चेतावनी दिनुभएको छ ।
यता, नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले पनि अमुक आयातीत पात्रलाई समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय पदाधिकारी त्रिवि परिसरमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइएको आरोप लगाएको छ ।

विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट विभागीय प्रमुख नियुक्त गर्नुपर्नेमा आफ्ना कुकार्यहरू ढाकछोप गर्न कृत्रिम सुरक्षा थ्रेट देखाएर झुटको खेती गर्न उद्यत त्रिवि पदाधिकारीलाई कारबाही गर्नुको सट्टा उल्टै शिक्षा मन्त्रीले हल्लैहल्लाको भरमा गलत सूचना सामाजिक सञ्जालमा राखेर मन्त्री पदको गरिमा बिर्सिएको नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका अध्यक्ष विष्णु बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दिनदहाडै विद्यार्थी तर्सिने गरी बन्दुकधारी प्रहरी विश्वविद्यालयमा परिचालन गरी आतंक मच्चाउनु आफंैमा लज्जास्पद विषय भएको नेविसंघले ठहर गरेको छ । विज्ञप्तिवाजी भइरहँदा त्रिविमा दुई पदाधिकारी हाजिर भएका छन् । बुधबारबाट प्रहरीको पहराभित्र बसिरहेका रेक्टर खड्ग केसी र रजिस्टार केदार रिजालले बिहीबार कार्यालयमा नियमित काम गरिरहेका छन् ।

संसद्मा कुलपतिप्रति कटाक्ष

प्रतिनिधिसभाको हिजो बिहीबारको बैठकमा त्रिभुवन विश्वविद्यालयमा भएको पछिल्लो घटनाबारे सांसदले प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी ओलीको कटाक्ष गरेका छन् ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद राजन दाहालले विश्वविद्यालयको घटनाको सत्यतथ्य संसद्लाई जानकारी गराउन माग गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘त्रिविमा के भएको हो सत्य थाहा पाउनुपर्छ । त्रिविमा सुरक्षा नभए अन्त कहाँ हुने भन्दै राजनीतिका कारण समस्या जटिल बन्दै गएको उल्लेख गर्नुभयो।

‘राजनीतिक प्रेरित घटना हो भने तत्काल वार्ताबाट समस्या समाधान गर्नुपर्छ, गुण्डागर्दी हो भने सरकारले नियन्त्रणमा लिएर गुण्डालाई पक्राउ गरी कारबाही गर्नुपर्छ’ –उहाँले भन्नुभयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वविद्यालयको सम्पत्ति दुई दलले बाँडेर लिन सुझाव दिनुभएको थियो । बैठकमा बोल्दै रास्वपाका नेता एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिले शिक्षाक्षेत्र तहसनहस भएको आरोप लगाउनुभयो । उहाँले त्रिविका कुलपति एवं प्रधानमन्त्री ओलीको कटाक्ष गर्दै भन्नुभयो– ‘सानोमा बलभन्दा बुद्धि ठूलो भन्ने पढेको स्मरण गर्दै अहिले त बुद्धिभन्दा बल ठूलो बलभन्दा दल ठूलो भएको छ ।’ त्रिविमा भएको घटनालाई दलीय राजनीतिले निम्त्याएको दुर्दशाको संज्ञा दिँदै उहाँले भन्नुभयो– ‘दलगत प्रभावका कारण शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव परेको छ ।’