बैतडीमा मिनी ट्रक दुर्घटना: एकको मृत्यु, दुई घाइते


काठमाडौं ।

बैतडीमा आज बेलुका मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

कञ्चनपुरकमे शुक्लाफाँटा नगरपालिका–५ झलारी घर भएका मिनी ट्रक साहु जगदीश अवस्थीको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सुपप्र ०२ ००१ ख ०७३४ नम्बरको मिनी ट्रक कफलकोट नजिकै आज साँझ ७ बजे दुर्घटनामा भएको हो।

ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन्। उनीहरुको उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ।

सरिया र सिमेन्ट बोकेको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त मिनी ट्रक सडकबाट ६० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।