अनमोल केसी : जसले थामे पिताको बिँडो 

0
Shares

चकलेटी नायक अनमोल केसी युवापुस्तामाझ निकै लोकप्रिय छन्। ३० वर्षका अनमोल सुपरस्टार भुवन केसी र अभिनेत्री सुस्मिता केसीका छोरा हुन्। उनी अहिले आफै  सुपरस्टार बनेर भुवनको बाटो पछ्याइरहेका छन्। अनमोल स्वयं सुपरस्टार हुनुअघि उनलाई सुपरस्टार किड भन्ने गरिन्थ्यो भने अहिले भुवनलाई सुपरस्टारका पिता भन्ने गरिन्छ। सुपरस्टार तथा निर्माता र निर्देशक पिता भुवनको बिडो थामेर पाएको सफलताका कारण उनलाई यसो भन्ने गरिएको हो।

-अनमोलको रुचि गायनमा थियो। उनले स्कुल पढ्दा आफ्ना साथीहरूसँग मिलेर ब्यान्ड नै स्थापना गरेका थिए। अनमोल स्कुल पढ्दा पढाइमा भन्दा पनि म्युजिक, स्पोर्टस्जस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्थे।

-आफ्नै बुवा भुवन केसी र आमा सुस्मिता केसीको फिल्म सुपरस्टारमा बाल कलाकरको रूपमा अभिनय गरेका उनले फिल्म साथी म तिम्रोको एक गीतमा अभिनय गरेका थिए। 

-फिल्म होस्टेलबाट भने उनले नायकको रूपमा डेब्यू गरेका  थिए। त्यसपछि उनका ड्रिम्स, गाजलु, कृ, ए मेरो हजुर ३ जस्ता फिल्म हिट रहे। फिल्म छड्केबाट भने उनले असफलता ब्यहोरेका थिए। पछिल्लोपटक रिलिज भएको उनको फिल्म फर्कीफर्कीले पनि दर्शकलाई सोचेजस्तो आकर्षित गर्न सकेन।

-अनमोलले शुभतारा, ज्ञानोदय, सेन्ट जेभियर्सजस्ता धेरै स्कुल फेरे। उनलाई नजिकका साथीहरूले  केसु, केसी भनेर बोलाउँछन् भने परिवारमा अनु, अमु भनेर बोलाइन्छ।

-अनमोलले कोभिड १९ को महामारीको फुर्सदका बेला नेपाली भाषा सुधार गर्नका लागि वर्णमाला किनेरै क, ख, ग, घ, क का, कि की पढेका थिए।  फिल्मका स्क्रिप्ट पनि नेपालीमा आउने र आफूलाई नेपाली पढ्न गाह«ो भएपछि उनले यो जुक्ति लगाएका थिए।

-सबैभन्दा बढी परिश्रमिक लिने नेपाली नायकमध्ये अनमोल एक हुन्।  फिल्म छड्केमा उनले ५० लाख पारिश्रमिक लिएको हल्ला थियो। फिल्म    फर्कीफर्कीका लागि उनले ५० लाख पारिश्रमिक लिएका थिए भने  केही समयअघि उनले पारिश्रमिकको करस्वरुप ७ लाख रुपिँयासमेत तिरेका थिए।  उनले कृमा ३० लाख रुपियाँ लिएको बताइन्छ।

-अनमोल भगवान् कृष्णका भक्त हुन्। उनी सुटिङबाट फुर्सद भएको समयमा कृष्णको भजन गाउने, मन्दिर जाने, फिल्म हेर्ने, किताब पढ्ने, स्विमिङ गर्ने, गिटार  बजाउने, गाउने आदि गर्छन्।

-फिल्ममा धेरै अफर आउने गरे पनि उनी वर्षमा एक वा दुई फिल्ममा मात्र काम गर्ने गर्छन्।
 
-अनमोललाई एक पटक प्रहरीले पक्राउ गरेको थियो।  फिल्ममा अभिनय गर्नका लागि एड्भान्स लिएर काम नगरेको आरोपमा उनलाई प्रहरीले गत वर्षको असोजमा भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो।