प्रहरीमा ३० वर्षे हटाउन सर्वोच्चको आदेश


काठमाडौँ।

सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे हटाउन अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो।

‘अतः निवेदकहरू तथा निवेदक जस्तै अवस्थामा रहेका प्रहरी कर्मचारीहरुलाई मिति २०८१।५।१६ वा उक्त प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिको ३० वर्षे अवधीको आधारमा सेवाबाट अवकास हुने भनि दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू नगराउनू र त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्न नगराउनू भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। निजहरुको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू नगराउनू र प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउनु भनी विपक्षीहरुलाई लेखी पठाउनु,’ सर्वोच्चको आदेशमा भनिएको छ।

सर्वोच्च अदालतले विपक्षीहरूबाट १५ दिनभित्र जवाफ समेत माग गरेको छ।

३० वर्षे सेवा अवधिका कारण आफूहरू अन्यायमा परेको भन्दै नेपाल प्रहरीका एसएसपीसहित २१ जना प्रहरी कर्मचारीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।