त्रिवि पदाधिकारीको कार्यालय प्रहरीको सुरक्षा घेरामा

940
Shares

–डिनले आजसम्म वरिष्ठको नाम सिफारिस नगरे पदाधिकारीले हस्तक्षेप गर्ने
–त्रिवि पदाधिकारी भन्छन्ः– मापदण्ड मिच्दैनौं, सिनियरलाई नै बनाउँछौँ
–हिजोबाट हाजिर, प्रहरीको व्यापक निगरानी

काठमाडौं ।

समाजशास्त्रका विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेपछि सरकारले त्रिविका तीन पदाधिकारी कार्यालयको मूल गेटमा प्रहरी परिचालन गरेको छ।

त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्टार केदार रिजाललाई विभिन्न स्वार्थ समूहले ज्यान मार्नेसम्मको धम्की दिएपछि तीनैजना पदाधिकारी बिदामा बसेका थिए। उपकुलपति बराल दुई सातादेखि, रेक्टर र रजिस्टार गएको शुक्रबारबाट बिदामा बसेका थिए। सरकारले त्रिविको सुरक्षा व्यवस्था चुस्त पारेपछि हिजो बुधबारबाट रेक्टर र रजिस्टार कार्यालय प्रवेश गरेका हुन्।

प्रहरीले कार्यालयमा आउने सबैलाई सुरक्षा जाँच गरेपछि मात्र प्रवेश दिन थालेका छन्। सरकारले प्रहरी वृत्त प्रमुख डीएसपी भवनेश्वर साहको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरेको छ। सुरक्षाकर्मी परिचालन गरी चेकजाँच गरेपछि कर्मचारीले आपत्ति जनाएका छन्। ‘आँट नभएको पदाधिकारी कति दिन मूल ढोकामा प्रहरी राखेर काम गर्ने होला?’ कामको सिलसिलामा त्रिवि पुगेका एक सेवाग्राहीले भने।

गतशुक्रबारबाट विभागीय प्रमुख युवराज लुईँटेलको कार्यकाल सकिएपछि मानविकी तथा सामाजिक संकायका डिन कुसुम शाक्यले आफूखुसी दोस्रो वरीयताका टीकाराम गौतमलाई विभागीय प्रमुखको जिम्मेवारी दिनुभएको थियो। आफैं काम चलाउ रहनुभएका डिन शाक्यले पदाधिकारीको निर्णयबेगर कनिष्ठलाई विभागीय प्रमुख बनाएपछि विवाद चर्केको हो।

नेपाली कांग्रेसनिकट प्राध्यापक र अन्यले गौतमको नियुक्ति ठीक भएको बताएका छन् भने त्रिविका पदाधिकारीले मापदण्डको आधारमा वरिष्ठलाई प्रमुख बनाउनुपर्ने बताएका छन्। सोही विषयमा कांग्रेस र कम्युनिस्टबीच विवाद चुलिएपछि त्रिविको पदाधिकारीलाई सुरक्षा चुनौती बढेको हो। स्रोतका अनुसार पदाधिकारीले सम्भवतः आजसम्ममा वरिष्ठताको आधारमा पासाङ शेर्पालाई विभागीय प्रमुख बनाउने तयारी छ।

त्यसो हुँदा त्रिविमा फेरि नेविसंघ र अनेरास्ववियुलगायत अन्य दलसँग तिक्तता शुरू हुनेछ। त्रिवि कार्यकारीको बैठकले अघिल्ला उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकालमा लागु भएको मापदण्डअनुसार विभागीय प्रमुख सिफारिस गर्न डिन शाक्यलाई आग्रह गरेको छ। त्यसो भएमा डिनले शेर्पालाई विभागीय प्रमुख बनाउनुपर्ने व्यवस्था हुनसक्छ।

उच्च स्रोतका अनुसार डिन शाक्यले हिजो बुधबारसम्ममा वरिष्ठताको आधारमा शेर्पालाई विभागीय प्रमुख बनाउने निर्णय नगरे पदाधिकारी आफैंले शेर्पालाई डिन बनाउने तयारी भइरहेको छ।

एक पदाधिकारीले नेपाल समाचारपत्रसँग भने, ‘डिनलाई पाँच दिनको म्याद दिएर सिफारिस गर्न आग्रह गरिएको थियो। यदि त्यसो नगरे पदाधिकारीको बैठकले शेर्पालाई सिफारिस गर्न सक्छ।’ नेपाली कांग्रेसनिकट डिन शाक्यले शेर्पाको नाम सिफारिस नगरे आफैं सिफारिस गर्ने तयारीमा पदाधिकारी छन्। एक पदाधिकारीले नेपाल समाचारपत्रसँग भने, ‘हामी कार्यविधि र मापदण्ड मिच्दैनौं। शाक्यले कार्यविधि मिचेर वरिष्ठताभन्दा पनि दोस्रो वरीयतामा रहेका गौतमलाई विभागीय प्रमुख बनाउन उपकुलपति कार्यालयमा सिफारिसपछि थप चिन्ता भएको छ। पदाधिकारीले यो वा त्योभन्दा पनि सिनियरको आधारमा उपकुलपति नियुक्ति गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यही अडान पनि हो।’

यसअघि तत्कालीन उपकुलपति बास्कोटाको कार्यकालमा ज्येष्ठताको आधारमा लुईँटेललाई विभागीय प्रमुख नियुक्ति गर्नुभएको थियो। बास्कोटाको निर्णयको विरोधमा पनि तालाबन्दी भएको थियो। तालाबन्दीको विरोध गर्दा उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने योगेन्द्र रावल समूह थियो। अहिले रावल समूह नै गौतमलाई समाजशास्त्रको विभागीय प्रमुख बनाउनुपर्ने भन्दै पदाधिकारीलाई धम्की दिने गरेको स्रोतले जनाएको छ।

तीन पदाधिकारीलाई सुरक्षा थ्रेट बढेपछि सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्टार केदार रिजालमाथि सुरक्षा चुनौती दिइएको भन्दै शिक्षामन्त्री विद्या भट्टराईले सार्वजकिरूपमै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभएको छ।

नेविसंघका नेता योगेन्द्र रावल, विश्वविद्यालयका सभापति श्यामराज ओझालगायतको नामै लिएर पदाधिकारीलाई धम्की दिएको आरोप छ। शिक्षामन्त्रीले सार्वजनिकरूपमै गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्नुभएको छ।

स्ववियु सभापति ओझासँग सो विषयमा जानकारी लिन खोज्दा मोबाइल रिसिभ गर्नुभएन। स्ववियू सचिव सिद्धान्त भट्टले स्ववियूको माग वरिष्ठलाई विभागीय प्रमुख बनाउनु रहेको बताउनुभयो। उहाँका अनुसार नेविसंघका केही नेताले गौतम र एमाले, अखिल क्रान्तिकारीलगायतले वरिष्ठताको आधारमा नियुक्ति गर्नुपर्ने अडान दोहोर्‍याएका थिए।

पदाधिकारीको सुरक्षा माग

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा माग गर्नुभएको छ। केही दिनयता त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि हमला गर्न खोज्ने र प्राध्यापकलाई फोन गरेर धम्क्याउने कार्य भइरहेको भन्दै उहाँले गृहमन्त्रीसँग सार्वजनिकरूपमा सुरक्षा माग गर्नुभएको हो।

पछिल्लो घटनाक्रमबारे जानकारी दिन सोमबार रजिस्टार दाहाल र रेक्टर केसी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति भट्टराईसँग भेट गर्नुभएको थियो। सामाजिक सञ्जाल एक्समा मन्त्री भट्टराईले उहाँहरूको सुरक्षा प्रबन्ध गर्न माग गर्नुभएको छ।

‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीमाथि हमला गर्न खोज्नु र प्राध्यापकलाई फोन गर्दै धम्की दिने गरेकाले सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु,’ उहाँले लेख्नुभएको छ।