नन्दकृष्णले अमेरिकामा फेरि देउडा सुनाउने


काठमाडौं ।

देउडा सम्राट नन्दकृष्ण जोशी गौरा पर्वको अवसरमा अमेरिकामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
सुुदूरपश्चिम र कर्णाली प्रदेशको महत्वपूर्ण पर्व गौराको अवसरमा सुदूरपश्चिम समाजले आगामी आइतबार अमेरिकाको टेक्सासमा हुने कार्यक्रममा सहभागी हुन उनी भोलि बिहिबार त्यसतर्फ प्रस्थान गर्नेछन्।

कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी हुने उनले कार्यक्रममा देउडा गाएर दर्शकलाइ मनोरञ्जन प्रदान गर्नेछन्। कार्यक्रम रमेश पोखरेलको संयोजकत्वमा टेक्सासमा बनेको पशुपतिनाथको मन्दिरमा हुनेछ।

गायक जोशीले नेपाल फिल्म सोसाइटीले आगामी भदौ ३० गते न्युयोर्कमा आयोजना गर्ने फिल्म फेस्टिभलमा समेत प्रमुख अतिथिको रूपमा सहभागी भई देउडा गीत संगीत प्रस्तुत गर्नेछन्।

‘न्युयोर्कमा सुुदूरपश्चिमका संस्कृतिमा अभिरुचि राख्ने व्यक्तिहरूले सांस्कृतिक कार्यक्रम गर्दै हुनुहुँदोरहेछ। त्यो कार्यक्रममा पनि म देउडा प्रस्तुत गर्छु। ४०/४५ वर्षअघि मैले गाएको मौलिक देउडा गीत प्रस्तुत गर्छु। अहिलेका बनावटी देउडा गीत धेरै सुनिन्छन्, मैले त्यहाँ प्रस्तुत गर्ने मौलिक र वास्तविक देउडा गीतको विशेष महत्व रहन्छ,’ नन्दकृष्णले भने।

५ वर्षअघि पनि गौरापर्वको अवसरमा अमेरिकामा आफ्नो प्रस्तुति दिएका जोशीले मलेसिया, दक्षिण कोरियाजस्ता देशमा पुगेर देउडा भाकालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।