पाल्पामा अबका केही दिन जात्रैजात्रा

1.13k
Shares

पाल्पा ।

मंगलबार गाईजात्रा पर्व धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा मनाइएको छ। जात्राको पहिलो दिन भाद्र कृष्ण प्रतिपदाका दिनको गाईजात्राको यस पर्वमा दिवंगत भएका घरको आफन्तले मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराइएको हो।
यसरी परिक्रममा गर्नले मृतकले गाईको पुच्छर समाती बैरतणी पार हुन्छन् भन्ने धार्मिक जन विश्वास रहेको देउराली सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष मदन देउरालीले बताउनुभयो।

बिहानैदेखि सदरमुकाम तानसेनलगायत आसपासका नेवारी बस्तीमा गाईजात्रा निकालिएको थियो । दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने घरबाट भगवान् राम, सीता, लक्ष्मण, कृष्ण, राधाका रूपमा बालबालिकालाई सिँगारेर निर्गुण भजन, रामायण गाउँदै दिवंगत आत्माको शान्तिको कामना गरेका थिए।

यस क्रममा काम्लाको गाईजस्तै आकृति (काम्ले गाई) बनाई बजार घुमाउने र विभिन्न व्यङ्यात्मक प्रदर्शनीसमेत भएका छन्। तानसेनमा निकालिने हरेक गाईजात्रा अनिवार्य रूपमा पाल्पा दरबारमा लैजाने परम्परा आजसम्म पनि कायम रहेको छ। सरकारी निकायको प्रमुख थलो मानिएको दरबारमा गाईजात्रा नदेखाएमा सरकारले मृतकहरूको रेकर्ड राख्न सक्दैन भन्ने परम्परागत मूल्य मान्यताका साथ दरबारमा गाईजात्रा लगिने गरिएको हो।

राजा प्रताप मल्लले शोकमा परेकी रानी लाई अनेक कोसिस गर्दा समेत सम्झाउन नसकेपछि तिमीलाई जस्तो पीडा जनतालाई पनि परेको छ भनी बुझाउन र वर्षभरिमा आफ्नो राज्यमा कति जनताहरूको मृत्यु भएको रहेछ भने सूचना प्राप्त गर्नका लागि मृतकको घरबाट गाईजात्रा निकाल्ने परम्पराको सुरुआत भएको मानिन्छ। आर्थिक अभाव कम भएका घरपरिवारले भने गाईलाई डोर्‍याएर बजार परिक्रमा गरी गाईजात्रा मनाउँदै आएका छन्।

त्यस्तै, वर्तुङ्ग, हार्थोक, रिडी, ताहु, सिलुवा, वीरकोटलगायतका ठाउँमा पनि गाईजात्रा निकालिएको थियो। गाईजात्राको सुरुआतसँगै पाल्पा जिल्ला सदरमुकाम तानसेन अबका केही दिन जात्रामय हुने भएको छ। रोपाइँजात्रा, विभिन्न देवी–देवताका नाममा निकालिने रथयात्रा र यहाँको प्रसिद्ध श्री ७ रणउजेश्वरी भगवती जात्रा प्रायः दिनदिनैजसो मनाउने स्थानीय राजेन्द्रगोपाल सिंहको भनाइ छ ।