निजामतीमा मधेस र लुम्बिनी प्रदेशका युवायुवतीको बढी आकर्षण

वागमती र गण्डकीको न्यून आकर्षण


काठमाडौं ।

निजामती सेवामा सबैभन्दा बढी आकर्षण मधेसका युवायुवतीको देखिएको छ। लोकसेवा आयोगद्वारा सञ्चालन हुने विभिन्न परीक्षामा सहभागी हुनेदेखि नाम निकाल्नेहरूसमेत मधेस प्रदेशका बढी हुन थालेको लोकसेवा आयोगले जनाएको छ।

लोकसेवा आयोगको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा आयोगद्वारा सञ्चालित विभिन्न परीक्षामा दरखास्त दिने जम्मा ४ लाख ८३ हजार २ सय ३ जनामध्ये सबैभन्दा बढी मधेस प्रदेशका १ लाख २० हजार ३ सय ८९ युवायुवती रहेका थिए । जुन कुल दरखास्त दिनेको २४.९१ प्रतिशत हो।

परीक्षाका लागि मधेस प्रदेशबाट आवेदन दिनेमा पुरुष ८४ हजार ३ सय ५ र महिला ३६ हजार ८४ रहेका थिए। मधेसका युवायुवतीमा सरकारी सेवाप्रतिको आकर्षण ह्वात्तै बढ्न थालेको लोकसेवा आयोगका अधिकारीहरूको भनाइ छ। ‘लोकसेवा आयोगको परीक्षामा बढी मिहिनेत गर्नुपर्ने र घोक्नुपर्ने अवस्था हुने र मधेसका युवायुवती मिहिनेत गर्न र घोक्न खप्पिस हुने भएकाले उनीहरूको नाम निकल्ने क्रम बढेको हुन सक्छ’ –आयोगका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

लोकसेवा आयोगका अनुसार निजामती सेवामा मधेसपछि लुम्बिनी प्रदेशका युवायुतीको बढी आकर्षण देखिएको छ । अघिल्लो वर्ष दरखास्त दिनेमा मधेस प्रदेशपछि लुम्बिनी प्रदेशका बढी छन्। लुम्बिनी प्रदेशका ८९ हजार ९ सय ९५ जनाले दरखास्त दिएका थिए। जुन जम्मा दरखास्त दिनेको १६.९७ प्रतिशत हो।

जसमा ४५ हजार ४ सय २४ र पुरुष ३६ हजार ५ सय ७१ जना थिए। हाल सरकारी सेवाको माथिल्लो तहमा रहनेहरूमा बढी लुम्बिनी प्रदेशकै रहेका छन् । निजामती सेवामा सबैभन्दा कम आकर्षण भने वागमती र गण्डकी प्रदेशका युवायुवतीमा देखिएको छ । मधेस र लुम्बिनी प्रदेशको तुलनामा गण्डकी र वाग्मती प्रदेशबाट लोकसेवाको परीक्षामा निकै कम दरखास्त पर्ने गरेको छ ।

सात प्रदेशमध्ये सबैभन्दा न्यून दरखास्त पर्नेमा गण्डकी प्रदेश रहेको छ। गण्डकी प्रदेशबाट ४२ हजार ९ सय ९७ जनाले दरखास्त दिएका थिए । जुन ८.९० प्रतिशतमात्रै हो। दरखास्त दिनेमा पुरुष १६ हजार ३० र महिला २६ हजार ९ सय ६७ जना रहेका थिए। यसै गरी वागमती प्रदेशबाट दरखास्त दिनेको संख्या ४६ हजार २ सय ७१ मात्रै रहेको थियो। जसमा महिला २९ हजार २६ र पुरुष १७ हजार २ सय ४५ जना रहेका छन्। सरकारी सेवामा कोशी प्रदेशका युवायुवतीको पनि उल्लेख्य आकर्षण देखिएको छ। अघिल्लो आर्थिक वर्ष कोशी प्रदेशबाट ६९ हजार २ सय १२ जनाले दरखास्त दिएकामा पुरुष ३० हजार ९ सय १० र महिला ३८ हजार ३ सय २ जना थिए।

यसै गरी दरखास्त दिनेमा कर्णाली प्रदेशबाट ६४ हजार २ सय ९० रहेकोमा पुरुष ३९ हजार ७ सय ७१ र महिला २४ हजार ५ सय १९ रहेका थिए। यस्तै, सुदूरपश्चिम प्रदेशबाट दरखास्त दिने ५८ हजार ४९ मध्ये पुरुष ३० हजार ७ सय ४९ र महिला २७ हजार ३ सय रहेका छन्।

दरखास्त दिने कुन प्रदेशका कति ?
मधेस प्रदेश : १,२०,३८९
लुम्बिनी प्रदेश : ८१,९९५
कोशी प्रदेश : ६९,१२१
कर्णाली प्रदेश : ६४,२९०
सुदूरपश्चिम प्रदेश : ५८,०४९
वागमती प्रदेश : ४६,२७१
गण्डकी प्रदेश : ४२,९९७
जम्मा : ४,८३,२०३