आफ्नै रेकर्ड तोड्दै पार्कर दिनेश

0
Shares

अभूतपूर्व ढंगले स्टन्टका साथ अपत्यारिलो जिम्न्यास्टिक कला प्रदर्शन गरी थुप्रै फिल्मका खलनायकलाई पछार्दै आएका पार्कर खेलाडी दिनेश सुनारले पार्कर खेलमा आफ्नै रेकर्ड तोड्दै १८औँ विश्वकीर्तिमान पूरा गरी १९औँ विश्वकीर्तिमान एटेम्ट् गरेका छन्।

एक ठाउँबाट अर्को ठाउँमा कलात्मक शैलीमा उफ्रिएर जाँदा बीचमा आउने अवरोधलाई सजिलै पार गर्दै अघि बढ्ने असाधारण कला हो पार्कर। फ्रान्सेली सैनिकले बच्न र बचाउन छिटो हुने माध्यका रूपमा अभ्यास गरेको पार्कर आज पनि उनीहरूको तालिममा सिकाइन्छ।

खोटाङ राजापानी गाबिस, हालको तुवाचुङ गाउँपालिकाका ३३ वर्षीय सुनारका बुबाआमा खेती किसानी गर्थे। उनका बुबाआमाले कमाइका लागि काठमाडौंमा गार्मेन्ट मजदुरी पनि गरे। तर, पेट पाल्न मुस्किल भएपछि दिनेशका बुबा विदेसिए। दिनेश भने आमासँग गाउँ फर्किए।

काठमाडौं बसाईका क्रममा ७ कक्षासम्म पढ्न पाएका उनी काठमाडौंमा हुँदा खोला किनारका बालुवा र डाँडातिर उफ्रिन्थे। अलिक अग्लो स्थान र बालुवा देख्नै नहुने, अभ्यास गर्न थालिहाल्थे। गाउँ फर्केपछि पनि उनले यस्तो स्टन्ट देखाउने कामलाई निरन्तरता दिँदै उल्टी, सुल्टी जम्प हान्दै हुर्किए। उनी अनौठो ढंगले खेतबारीमा उफ्रिन्थे, आँगन नै बिगारेर खाल्डो खनेर उफ्रिन्थे, डाँडामाथिबाट फाल हान्थे। अनि भरमार गाली पनि खान्थे।

पार्कर खेलकै माध्यमले फिल्ममा समेत छाउन पुगेका दिनेश सानोमा विराज भट्ट र निखिल उप्रेतीका फिल्म हेरेर उनीहरूको नक्कल गर्थे। ‘ममा बाल्यकालमै फिल्म र स्टन्टको प्रभाव थियो। काठमाडौंमा हुँदा बालुवाखानीमा थुप्रो बनाएर उल्टी–सुल्टी हान्ने गर्थें। यसो गर्दा धेरैपटक हात खुट्टा मर्कियो,’ सुनारले सुनाए। खासमा उनी केवल रमाइलो र अरूलाई देखाउनका लागि उफ्रिन्थे। उनलाई थाहा थिएन, यही कलाले आपूmलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड्ससम्म पु¥याउनेछ भनेर । त्यो पनि एकपल्ट होइन, पटकपटक।

उनले यस्तो साहसिक खेल सशस्त्र प्रहरी बलका लागि सात वर्ष खेले। त्यहाँ रहँदा उनले पहिलो प्रयासमै जिम्न्यास्टिकबाट स्वर्ण पदक जिते। २०७१ सालमा भएको लुम्बिनी खेलकुदमा स्वर्ण हात पारे, सातौँ राष्ट्रिय खेलकुद २०७३ मा स्वर्ण र रजत प्राप्त गरे। उनै दिनेशले पार्कर खेलमा १८औँ विश्वकीर्तिमान बनाइसकेका छन्। जसमध्ये ३ वटा विश्वकीर्तिमान नेपालमै भएको समयमा बनाएका थिए भने १५ विश्वकीर्तिमान अमेरिकाका विभिन्न राज्यमा कायम गरेका हुन्। उनी गतजुलाई २९ मा नायग्रारा फल्समा सम्पन्न नेपाल फेस्टिबलमा आँखामा पट्टी बाँधेर ३० सेकेन्डमा १४ पटक फ्लप हानेर १९औं विश्वकीर्तिमान एटेम्प्ट गरी त्यसको परिणाम कुरिरहेका छन्।

‘रेकर्ड बनाउँदै जान्छु, संघर्ष गर्दै जान्छु। थाहा छैन, कतिवटा रेकर्ड राखेपछि मनमा शान्ति मिल्छ,’ दिनेश भन्छन्। आफूले गरेका संघर्ष तथा पाएका हण्डर ठक्कर र उपलब्धिलाई समेटेर वृत्तचित्र बनाउने दिनेशको योजना छ। हवल्दार सुन्तली, किस्मत टु, कोइलाजस्ता थुप्रै नेपाली फिल्मका साथ दशका दमलगायत बलिउड फिल्म विभिन्न कलाकारका लागि पार्कर कलाको साहसिक स्टन्ट प्रदर्शन गर्दै आएका दिनेश खेलकुद क्षेत्रको एक लोकप्रिय व्यक्तित्वको रूपमा आफ्ना असाधारण सीप प्रदर्शन गर्दै थुप्रै टेलिभिजन विज्ञापनमा चित्रित भएका छन्।

हाल अमेरिकामा रहेर पार्करजस्तो उल्लेखनीय कलाबाट नेपाली खेलकुद र सांस्कृतिक आदान प्रदानमा सक्रिय हुने क्रममा विभिन्न प्रदर्शनी र विश्वकीर्तिमानी प्रवद्र्धनमा सक्रिय हुँदै आएका दिनेशले यस सिलसिलामा त्यहाँका विशिष्ट व्यक्तित्वबाट सम्मान पाइरहेका छन्। दिनेशको यो अदभुत कलालाई हेरेर उनको सम्मानमा सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई दिनेश सुनार डे नै घोषणा गरे। अमेरिकाका राष्ट्रपति जी बाइडेनले शुभकामनापत्र दिए। एक नेपाली खेलाडीको रूपमा अमेरिकामा उनले हासिल गरेका थुप्रै उपलब्धि देशकै लागि गर्वलायक छन्।

उनलाई अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको छ। यतिमात्र होइन, गिनिज वल्र्ड रेकर्ड्स डेमा संसारका उत्कृष्ट पाँच रेकर्ड होल्डरभित्र दिनेश पनि परेका छन्। यो मनोनयनमा दिनेशसँगै उत्तर अमेरिकासहित चीन, जापान, बेलायत र मेक्सिकोका खेलाडी परेका थिए। मे २०, २०२३ मा सफोक काउन्टी, लङ आइल्यान्ड, न्यूयोर्कमा सम्पन्न १४औँ वार्षिक एसियाली अमेरिकी र प्यासिफिक आइल्यान्डर हेरिटेज मन्थ तथा एनआरएनएद्वारा गत २०२३ को मे २१ मा न्यूर्योकमा आयोजित नेपाल परेड दिवसमा पार्कर र एक्रोबेटिक्स प्रदर्शन गरेका दिनेशले अमेरिकामै रहेर थुप्रै विश्वकिर्तिमान तोडेका छन्।

उनले २०२१ मा अक्रोन, ओहोयोमा भुटानीज् कम्युनिटी एसोसिएसन इंक, अक्रोनको सहयोगमा सनसाइन तेक्वान्दो एकेडेमीद्वारा आयोजित कार्यक्रममा ३० सेकेन्डमा सबैभन्दा पूर्ण ट्विस्ट ब्याकफ्लिप्सका लागि विश्वकीर्तिमान तोडे। मार्च ९, २०२३ मा न्यूयोर्कमा जिपीके फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एक मिनेटमा सबैभन्दा धेरै २१ पटक डाइभिङ गर्ने गिनिजवल्र्ड रेकर्ड तोडे।

मे २६, २०२२ मा अक्रोन डाउनटाउन पार्टनरसिपद्वारा आयोजना गरिएको डाउनटाउन अक्रोनमा एक मिनेटमा सबैभन्दा धेरै १२ पटक ब्याकफरवार्ड सोमरसल्ट फुल ट्विस्टको लागि गिनिज वल्र्ड रेकर्ड तोडे। अक्टोबर ९, २०२२ मा अमेरिका–नेपाल कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव मनाउने क्रममा फ्लोरिडाको ओर्लान्डोमा ३० सेकेन्डमा सबैभन्दा धेरै १९ पटक वेबस्टर फ्रन्ट प्mिलप गर्ने विश्वकीर्तिमान कायम गरे।

सन् २०२२ मा ओर्लान्डो, फ्लोरिडामा सम्पन्न गिनिज वल्र्ड रेकर्ड्स दिवस समारोहमा नेपाल र संयुक्तराज्य अमेरिका दुवैको प्रतिनिधित्व गर्दै आँखामा पट्टी बाँधेर एक मिनेटमा सबैभन्दा बढी २१ पटक ब्याकफरवार्ड समारोसाल्टका लागि गिनिज वल्र्ड रेकर्ड हासिल गरे। त्यस्तै, अगस्ट १३, २०२२ मा बाल्टिमोर, मेरील्याण्डमा एक मिनेटमा सबैभन्दा धेरै २२ पटक बटरफ्लाइ फुल ट्विस्टको लागि अर्को विश्व कीर्तिमान स्थापित गरे।

‘मेरो सपना खेलकुदमार्फत व्यक्ति व्यक्ति, समाज समाज र देश देशबीचको भाइचारा, अनुशासन र मेलमिलापलाई बढोत्तरी दिँदै युवा पुस्तालाई प्रेरित गर्नु हो । म पार्करको परिवर्तनकारी शक्ति र युवा दिमागलाई सशक्त बनाउने क्षमता देखाउने प्रेरणादायी वृत्तचित्र सिर्जना गर्ने कल्पना गर्दै बढिरहेको छु,’ दिनेश भन्छन्।