यात्रुवाहक बसमाथि पहिरो खसेर लाग्दा दुईजना घाइते

26.98k
Shares

म्याग्दी।

बेनी–जोमसोम–कोरला सडकखण्डमा सडकभन्दा माथिबाट पहिरो खसेर बसमा लाग्दा दुईजना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, उपल्लो बैंसरीमा सडक माथिबाट खसेको पहिरोले बसमा क्षति पु¥याउँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पोखराबाट जोमसोमतर्फ जाँदै गरेको ग १ ख ७७१७ नम्बरको यात्रुवाहक बसमा अचानक पहिरो खसेर लाग्दा बसमा सवार २१ जनामध्ये दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

सडकभन्दा माथिबाट खसेको ढुङ्गा माटोसहितको पहिरोले लाग्दा बसमा सवार बेनी नगरपालिका–४, सिङ्गा, म्याग्दीकी २१ वर्षीया पुजा खड्का र गुल्मी ईश्मा गाउँपालिका–२, घर भई हाल पोखरा लेखनाथ बस्ने ३२ वर्षीया मिना नेपाली घाइते भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

घाइते पुजाको टाउको, मेरुदण्ड र देब्रे खुट्टा तथा नेपालीको देब्रे खुट्टा र हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घाइतेद्वयको अवस्था मध्यम रहेको छ भने अहिले बेनी अस्पतालमा उपचार भैरहेको अस्पतालका सूचना अधिकारी खेमकुमारी पन्तले जानकारी दिइन्।