देशभरका ७४ जिल्लामा फैलियो डेंगु, सबैभन्दा बढी तनहुँ र कम गोरखामा

1.22k
Shares

काठमाडौं ।

यति बेला एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । त्यसमध्ये इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी डेंगुका बिरामी तनहुँमा रहेका छन्।


शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पतालका सिनियर सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले केही दिनदेखि देशव्यापी रूपमा र टेकु अस्पतालमा पनि डेंगु संक्रमित बिरामीको संख्या बढेको बताउनुभयो। उहाँले पछिल्लो समय तनहुँमा डेंगुका बिरामी बढ्दै गएको उल्लेख गर्नुभयो। जनघनत्व बढेको स्थानमा लामखुट्टेको बसाइ सहज हुँदै जाँदा तनहुँमा यो अवस्था देखिएको हो।

डा. पुनले भन्नुभयो– ‘सन् २०२२ मा यो समयमा धरान र काठमाडौंमा धेरै संख्यामा डेंगुका बिरामी बढेका थिए। मनसुनलगतै डेंगुले पिकअप लियो भने ह्वात्तै बढ्छ। मनसुन शुरूदेखि नै बढेको भए महामारीको अवस्था देखिन्थ्यो। अझै पनि सन् २०१९ मा धरानबाट काठमाडौंमा देखिएको महामारी नहोला भन्न सकिन्न।’

‘विगतको अनुभवले मनसुन सकिएलगतै कतै न कतै आउटब्रेक हुन सक्ने सम्भावना छ । अहिलेजस्तै बिरामी बढ्दै गए धेरै बिरामी लामो समय हुने र मृत्युसमेत हुन सक्ने विगतको अनुभवले देखाउँछ । अहिले महामारीको रूप लिएन भने पनि भोलि हुन सक्छ । संख्यात्मक रूपमा मृत्युसमेत हुन सक्छ । कडा डेंगुको स्वरूप पाइरहेका छौं । लामखुट्टे नष्ट पर्याप्त मात्रामा हुन सकेको छैन । लामखुट्ेको लार्भा जति नष्ट गर्न सकिन्छ त्यति नै नियन्त्रण गर्न सफलता मिल्छ’ –उहाँले भन्नुभयो ।
उहाँले लामखुटेको लार्भा नष्ट गर्न संयुक्त प्रयासको जरुरी रहेको बताउँदै घर सफा गरेर मात्र नभई अफिसमा पनि त्यतिकै सफा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लामखुट्टे नष्ट गर्न एक दुई नगर र वडाले मात्र प्रयास गरेर हुन्न राज्यको ध्यान लार्भा नष्ट गर्नेतर्फ केन्द्रित हुने हो भने डेंगु नियन्त्रण सम्भव हुने बताउनुभयो ।

सन् २०२४ जनवरी देखि हालसम्म ३ हजार ७ सय ५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सरकारी तथ्यांकअनुसार गण्डकीमा १ हजार ४ सय ४८, वागमतीमा ९ सय २८ कोशीमा ६ सय ३९, लुम्बिनीमा ३ सय २८, सुदूरपश्चिममा २ सय ९५, मधेसमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । तनहुँ जिल्लामा भने ७ सय १५ जना सबैभन्दा बढी संख्यामा डेंगु संक्रमितको संख्या रहेको छ । त्यसै गरी काठमाडौंमा ३ सय ५४, कास्कीमा २ सय ७४, झापामा १ सय ४७, चितवनमा १ सय ४५, पर्वतमा १ सय ३६, मकानपुरमा ९० र गोरखामा सबैभन्दा कम ८५ जना डेंगु संक्रमित बिरामी प्रमाणित भएका छन् ।

सन् २०२३ मा ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।
नेपालमा सन् २००५ मा यो रोग पत्ता लागेको थियो । छिटपुट घटनाहरू देखिएका थिए। २००६ र २०१० मा भने प्रकोपकै रूप लियो । त्यतिबेला छिमेकी मुलुक भारतको यात्रा गरेका व्यक्तिमा देखिएको थियो। तर पछिल्लो समय डेंगु नेपालकै रैथाने बन्दै छ।

सन् २००६ मा वारुन/एएफआरआईएमएसको सहकार्यमा ईडीसीडी/एनपीएचएलले गरेको अध्ययनले नेपालमा डेंगु भाइरस सर्कुलेसनका चार उपप्रकार (डेन–१, डेन–२, डेन–३ र डेन–४) देखाएको थियो । सन् २०१२ मा १ सय ८३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये ४० प्रतिशतभन्दा बढी (एन.७७) झापा जिल्लाका थिए, तत्कालीन मेचीनगर नगरपालिका र धुलाबारी गाविसमा यसको प्रकोप देखिएको थियो । झापामा भेटिएका ७७ संक्रमितमध्ये ६२ प्रतिशत पुरुष र अधिकांश वयस्क रहेका थिए । झापामा तीन जना गम्भीर संक्रमित फेला परेका थिए ।

विगतमा तराई भेगमा मात्र देखा परेको डेंगुलगायत किटजन्य रोग अहिले काठमाडौं उपत्यकालगायत हिमाली जिल्ला अर्थात् ७७ जिल्लामा फैलिएको चिकित्सकहरू बताउँछन् । रोग फैलनुको प्रमुख कारण जनघनत्व बढ्नुका साथै तापक्रम बढ्नु र सरसफाइमा ध्यान नपुग्नुनै प्रमुख कारण भएको स्वास्थ्य विज्ञहरूको ठम्याइ छ ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन्। पछि त्यही लार्भा बन्छ । लार्भा ७ देखि १० दिनसम्ममा वयस्क हुन्छ। संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ । डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु, एकसाता सम्म ज्वरो आउने र रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । यस्तो अवस्थामा तत्काल चिकित्सकको सल्लाह लिई आवश्यक उपचार गर्नुपर्छ ।

केही बिरामीलाई लगातार वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्नु, बेहोस हुुनु, रगत जाँचमा प्लेटेलेट्स धेरै कम हुनुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ।

कुन प्रदेशमा कति संक्रमित बिरामी ?
गण्डकी : १४४८
वागमती : ९२८
कोशी : ६३९
लुम्बिनी : ३२८
सुदूरपश्चिम : २९५
मधेस : ६५
कर्णाली : ५२


कुन जिल्लामा कति संक्रमित बिरामी ?
तनहुँ : ७१५
काठमाडौं : ३५४
कास्की : २७४
झापा : १४७
चितवन : १४५
पर्वत : १३६
मकानपुर : ९०
गोरखा : ८५