माधव–विप्लवप्रति प्रचण्डको एकपक्षीय प्रेम !

3.01k
Shares

काठमाडौं ।

अस्थिर राजनीतिक खेलमा बढी रमाउने प्रवृत्तिलाई मलजल गरेकै कारण सत्ताच्युत भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभिन्न साना राजनीतिक दलहरुसँग सहकार्यदेखि पार्टी एकतासम्मको योजना बाँड्दै हिँड्नुभएको छ ।

एक महिनाअघि सत्ता बहिर्गमनमा पर्नुभएका दाहालले केही समययता नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा (सी) सँग एकता गर्ने रणनीतिमा लाग्नुभएको हो ।

तर, उहाँलाई अहिले नै ती साना दलहरुले समेत पत्याइहाल्ने अवस्था रहेको छैन । दाहालको विगतलाई हेरेर नेकपा एकीकृत समाजवादीले अहिले नै पार्टी एकताको हतार नगर्ने बताइसकेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ भने जति सक्दो चाँडो माधव नेपाल नेतृत्वको नेकपा एस र विप्लवसँग सहकार्य हुँदै पार्टी एकतासम्म जाने गरी दौडधुपमा लाग्नुभएको नेताहरुले बताएका छन्।

अध्यक्ष ‘प्रचण्ड’ले नेकपा एससँगको पार्टी एकतामा हतार गरे पनि आफूहरु त्यसलाई अहिले नै टुंगोमा पुग्न नसक्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताउनुभयो। ‘अहिले ‘प्रचण्ड’ कमरेड हामीसँग पार्टी एकताका लागि हतारिनुभएको छ। सो विषयमा अध्यक्ष माधव नेपालसँग पटकपटक संवाद पनि गरिसक्नुभयो रे । तर, हामी अहिले पार्टी एकतामा पुगिहाल्ने अवस्थामा छैनौं । भर्खरै पार्टीको महाधिवेशन भएर साथीहरुले पूर्ण जिम्मेवारीसमेत पाइनसकेको यो अवस्थामा माओवादीसँग एकता गरिहाल्नेमा हामी छैनौं । तर कतिपय एजेन्डामा सहकार्य गर्ने विषयमा नेकपा एस सधैं खुला छ’ –उहाँले भन्नुभयो ।

आफ्नै पार्टीभित्रको आन्तरिक विवाद मिलाउन निकै दबाब खेप्नुभएका दाहालले विवादलाई विधिसंगत ढंगले भन्दा पनि नेताहरुलाई आफ्नो पक्षमा पारेर फरक मत राख्नेलाई पेलेरै ठेगान लगाउने नीति अवलम्बन गर्नुभएको छ । पार्टी बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएको नेतृत्वको विकल्पको एजेन्डालाई पनि दाहालले अरु नेताहरुबाटै साइजमा राख्ने गरी भूमिका खेल्नुभयो ।

पार्टीको बैठक सकिनासाथ उहाँ अहिले पार्टी एकताका नाममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँगको छलफलमा बढी केन्द्रित हुनुभएको छ। तर, दुवै नेताहरुसँग निरन्तर छलफल भए पनि विगतका टुटफुट, विभाजन र प्रचण्डको अस्थिर राजनीतिक उतारचढावसमेतलाई गम्भीरताका साथ विश्लेषण गरेर मात्रै अघि बढ्ने नेकपा एसका नेताहरुले बताएका छन् ।

प्रचण्डमाथि लाग्ने गरेको अस्थिर नेताको आरोपलाई ‘प्रचण्ड’ आफैंले भने गतिशील र चलायमान नेताको पगरी गुथाउँदै आउनुभएको छ।

शान्ति प्रक्रियापछि सानो दल भएर पनि सबैभन्दा लामो समय सत्तामा बस्ने मौका पाएको माओवादी र त्यसको नेता ‘प्रचण्ड’ सत्ताबाहिर पुग्नेबित्तिकै षड्यन्त्र र प्रतिगमनको सपना देखेर उच्शृङ्खल र भड्काउ ढंगका अभिव्यक्ति दिने गर्नुभएको छ ।
२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा ३२ सिटसहित संसद्को तेस्रो दल बनेको माओवादीले २०८१ असार मसान्तसम्म पहिलो र दोस्रो दलसँगै काँध फेरीफेरी सरकारको नेतृत्व गरेको थियो । यो बीचमा दुवै दललाई २–२ पटक धोका दिएर सत्ता सहकार्य परिवर्तन गर्नुभएका दाहाललाई अन्ततः पहिलो र दोस्रो दलका नेता देउवा र ओली मिलेर सत्ताबाट हटाएका छन्।

सत्ता बहिर्गमनसँगै छटपटिएका ‘प्रचण्ड’ अहिले आफ्नो पार्टी बलियो बनाउने भन्दा पनि छरिएका सानातिना दलहरुलाई एकताबद्ध गरेर सत्ताकै बार्गेनिङमा शक्ति सञ्चय गर्ने योजनामा रहेको स्वयम् माओवादीकै कतिपय नोताहरुले बताएका छन्। यही कारण उहाँ पछिल्लो समय पार्टी एकताका नाममा हतारिनुभएको कम्युनिस्ट पार्टीको नेताहरुले टिप्पणी गर्ने गरेका छन्।

दाहालले नेकपा एसका अध्यक्ष माधव नेपाललाई एक साताअघि नै पार्टी संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने गरी पार्टी एकता गरेर जान प्रस्ताव राखिसक्नुभएको भए पनि प्रधानमन्त्रीका लोभमा नेकपा एस हतारिएर पार्टी एकतामा नजाने नेकपा एसका महासचिव घनश्याम भुसालले बताउनुभयो । उता विप्लवले पनि विचार र कार्यक्रममा स्पस्ट खाका आएपछि मात्रै एकताको विषयलाई अघि बढाउन सकिने प्रतिक्रिया दिनुभएको छ । दुवै नेताले हतारमा पार्टी एकता गरेर फुर्सदमा पछुताउन नहुने निष्कर्ष निकालेपछि प्रचण्ड केही हच्किएको बताइएको छ ।