वर एन्ड बधुमा आँचलको भरपुर ग्ल्यामर


काठमाडौं ।

नायिका आँचल शर्मालाई भरपुर ग्ल्यामर अवतारमा प्रस्तुत गर्दै फिल्म वर एण्ड वधुको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी १४ गते रिलिजमा आउने फिल्मको ट्रेलर राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

आँचल र नवनायक विवेक कर्माचार्यबीचको प्रेम, रोमान्स, धोका र गीतका दृश्यलाई समावेश गरी तयार पारिएको ट्रेलरमा कमेडी र एक्सनले भरपुर स्थान पाएको छ।

मिलन चाम्सद्वार निर्देशित फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजय लामा, विजु पार्की, रवीन्द्र खड्का, किरण केसी, सरिता लामिछाने, हिमेश पन्त, कुसुम शर्मा, सृष्टि खड्का, दिनेश काफ्ले, यमन श्रेष्ठ, अंशु महर्जन, सिता न्यौपानलगायत कलाकारले अभिनय गरेका छन्।

नायिका आँचल शर्माले फिल्म दर्शकका लागि विशेष खुराक हुने बताइन्। निर्देशक चाम्सले फिल्म दर्शकलाई मन पर्ने विश्वास व्यक्त गरे। डेब्यू अभिनेता कर्माचार्यले फिल्मका लागि निकै मिहिनेत गरेको बताए। अभिनेता किरण केसीले आफूले काम गरेका एक सयभन्दा बढी फिल्ममध्ये वर एन्ड बधु एक–दुई नम्बरमा पर्ने बताए।

नेपाल र रोमानियामा छायांकन गरिएको फिल्म एलआरके प्रोडक्सनको ब्यानरमा जानुका थापाले निर्माण गरेकी हुन्। अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन, अर्जुन पोखरेलको संगीत, रवीन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, सुदीप बरालको छायांकन निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।