देववाणीमा रोमान्टिक कुन्दन र अनुजा


काठमाडौं ।

आगामी मंसिर ७ गतेका लागि रिलिज डेट तोकिएको फिल्म देववाणीमा समावेश गीत तिमीलाई सधैंभरि आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।कार्यक्रममा फिल्मको टिजर र अर्को एक गीत पनि सार्वजनिक गरिएको थियो।

सार्वजनिक गीतमा प्रतापदास र सुनीता कार्कीको स्वर, भोला पौडेलको शब्दरचना तथा मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत रहेको छ। भारतका विभिन्न सुन्दर दृश्यमा खिचिएको गीतको भिडियोमा फिल्मका नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चा फिचर्ड छन्। कुन्दन र अनुजालाई रोमान्टिक भावमा देखाइएको छ। गीतको भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी छ।

मौसम फिल्म्स् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा मिना खड्का र हिराबहादुर लेप्चाद्वारा निर्मित तथा बाबुसाहेब बलामीद्वारा निर्देशित फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनील थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देवसिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना र मौसम पौडेललगायतले अभिनय गरेका छन्।

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन गरिएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा र संवाद, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, हरिबहादुर घलेको छायांकन र बन्देप्रसादको सम्पादन रहेको छ। मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ कार्यकारी निर्माता रहेको फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ।