सनातन धर्मावलम्वीको महत्वपूर्ण पर्व जनैपूर्णिमा

17.77k
Shares

जनैपूर्णिमा वैदिक सनातन धर्मावलम्बीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् । यो दिन जनै धारण गर्नेको विशेष पर्व हो । यस दिन श्रावणी स्नान, अरुन्धतीसहित सप्तऋषिको पूजन तथा तर्पण, जनैको प्रतिष्ठा, नयाँ जनै धारण, पितृको स्मरण, रक्षाबन्धन पूजा र धारण आदि कर्म गर्ने गरिन्छ । यस विषय विभिन्न ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ ।

हिन्दू संस्कृतिमा जन्मदेखि मृत्युपर्यन्त १६ वटा संस्कारको वर्णन गरिएको छ । जसमा व्रतबन्ध संस्कारलाई निकै महत्व दिइएको छ । व्रतबन्धको अर्थ कुनै व्रत वा नियममा बाँधिनु भन्ने हुन्छ । कुनै पनि पूजापाठ, यज्ञ–यज्ञादिको अधिकारी बन्न जनै लगाएको हुनुपर्छ ।

गुरुकुलमा गएर वेद–वेदाङ्गको अध्ययन गर्न पनि व्रतबन्ध संस्कार अनिवार्यरूपमा गरेको हुनुपर्दछ । ‘मातुरङ्गेऽधिजननम्, द्वितीयं मौञ्जीबन्धनम्’ अर्थाद् हाम्रो पहिलो जन्म आमाको गर्भबाट हन्छ भने दोस्रो जन्म व्रतबन्ध संस्कारबाट हुन्छ । यसै कारण व्रतबन्ध गरेकालाई ‘द्विज’ भन्ने गरिएको छ । ब्राह्मण, क्षेत्री, वैश्यले अनिवार्य रूपमा व्रतबन्ध गर्नुपर्ने शास्त्रले बताएको छ । जनै लगाएपछि कठोर नियम पालना गर्नुपर्ने भएकाले शूद्रलाई भने यसबाट छुटकारा दिइएको छ ।
जनैको एउटा डोरोमा ९ वटा धागो हुन्छ । तीन डोरोमा एउटा ब्रह्मगाँठ लगाइन्छ । ९ वटा धागोमा ९ देवताको निवास हुन्छ । सर्वप्रथम ब्रह्माले तीन वेदको तीन सूत्र (धागो) बनाएका, विष्णुले ज्ञान, कर्म, उपासनाले यसलाई त्रिगुणा गरेका र शिवले गायत्री मन्त्रको अभिमन्त्रणले ब्रह्मगाँठ लगाएर जनै निर्माण गरेका हुन् । जनैमा सम्पूर्ण देवी–देवताको बास हुने भएकाले यसलाई नियमपूर्वक धारण गर्नुपर्दछ ।

जनैमा रहने देवताहरू

ओङ्कारः प्रथमस्तन्तुः द्वितीयोऽग्निस्तथैव च

तृतीयो नागदैवत्यश्चतुर्थस्सोमदैवतः

पञ्चमः पितृदैवत्यः षष्ठश्चैव प्रजापतिः

सप्तमो वायुदैवत्यस्सूर्यश्चाष्टम एव च

नवमः सर्वदैवत्यः (विश्वदैवत्यः) इत्येते नव तन्तवः ।

१ ॐकार २ अग्नि ३ नाग ४ चन्द्र ५ पितृ ६ प्रजापति ७ वायु ८ सूर्य ९ विश्वदेव ।

श्रावणी स्नान

जनैपूर्णिमाका दिन श्रवण नक्षत्रले युक्त पूर्णिमा तिथि हुन्छ । यस दिन गरिने स्नानलाई श्रावणी स्नान भनिन्छ । समूहमा गरिने भएकाले यसलाई गणस्नान पनि भनिन्छ ।

यो गर्दा समूहबद्ध भएर नजिकको तीर्थ वा जलाशयमा गई सर्वप्रथम तीर्थहरूको आवाहनपूर्वक पूजा गर्ने गरिन्छ । यसरी पूजा गर्नुपर्ने र मन्त्रोच्चारण गर्नुपर्ने भएकाले गणस्नान गर्न जानुभन्दा अगाडि घरमा आफ्नो नित्य स्नान गरेर जानुपर्छ । तीर्थको पूजनपछि महासंकल्प गर्नुपर्छ । वर्षभरि जानी–नजानी गरिएका त्रुटिबाट भएका पाप तथा दोषको निवृत्तिका लागि यो संकल्प गरिन्छ ।

जनै लगाउने मन्त्र

यज्ञोपवीतं परमं पवित्रं

प्रजापतेर्यत् सहजं पुरस्तात् ।

आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं

यज्ञोपवीतं बलमस्तु तेजः ।।

ब्रह्माजीसँगसँगै उत्पन्न भएको, सावित्रीले कपासबाट धागो काती स्वयं प्रजापतिले यज्ञका माध्यमबाट पवित्र पारिएको उपवीत परिधानीय सूत्र विशेष यज्ञोपवीत जनै धारणा गर्दछु । जसबाट मलाई आयु, विद्या, मेधा, यश र बल आदि गरिएका सामथ्र्य प्राप्त होउन् ।

जनैपूर्णिमाका दिन के गर्ने

बिहानै उठेर पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत, गोबर), जौ, तिल, कुश, माटो राखेर नुहाउने ।

अपमार्ग (दत्युन) तथा दुबोले शरीर शुद्धी गर्ने ।

नियमपूर्वक बनाइएको जनै पण्डितद्वारा अभिमन्त्रित गराउने ।

मन्त्रिएको जनै लगाउने, पुरानो जनैलाई शुद्ध स्थानमा विसर्जन गर्ने ।

जनै लगाएपछि गायत्री मन्त्र जप गर्ने ।

पुरोहित, मान्यजन तथा आफूभन्दा ठूलाबाट अभिमन्त्रित डोरो (रक्षाबन्धन) लगाउने ।

डोरो लगाइदिनेलाई यथासम्भव दक्षिणा तथा फलफूल दिने ।

जनै कस्तो हुनुपर्छ

जनैको लम्बाई (लगाउने व्यक्तिको) ९६ अंगुल हुनुपर्छ ।

जनै कम्मरभन्दा तल झर्ने गरी (लामो) लगाउन हुँदैन ।

नाभीभन्दा माथि आउने (छोटो) लगाउन हुँदैन ।

जनै लगाएपछि ६४ कला र ३२ विद्या सिक्न अधिकार प्राप्त हुन्छ ।

दिसा–पिसाब गर्दा जनैलाई दाहिने कानमा बेर्नुपर्छ ।

हात सफा गरेपछि मात्र यसलाई कानबाट झार्नुपर्छ ।

जनैमा देवताहरू बस्ने भएकाले सधैं सफा राख्नुपर्छ ।

कस्तो जनै नलगाउने

मैलिएको, मेसिनले बनाएको, प्रयोग गरिसकेको, जलेको, चुँडिएको मुसा आदिले काटेको जनै लगाउनु हँुदैन ।

जनै कानमा बेर्नाले के हुन्छ

हाम्रो शरीरमा ३ सय ६५ वटा इनर्जी प्वाइन्ट हुन्छ ।

अलग–अलग बिमारीमा अलग–अलग पार्टले काम गर्छ ।

कानबाट हाम्रो मष्तिस्कसम्म स–साना धेरै नशा पुगेको हुन्छ ।

यस नशालाई दबाउँदा दिमाग तेजिलो हुन्छ ।

दिसा–पिसाब गर्दा कानमा जनै बेर्नाले अकुप्रेसरको काम गर्छ ।

यसले दिसा–पिसाब क्लियर गराउँछ ।

राखी बाँध्ने चलन

राखी बाँध्ने प्रचलन भारतीय संस्कृति भए पनि आजकल नेपालमा राखी यसको प्रचलन चलेको छ । यस दिन दिदी–बहिनीले दाजुभाइलाई राखी बाँधिदिने गर्दछन् । दाजुभाइले पनि दिदी–बहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिन्छन् ।

विवादमा जनैपूर्णिमा

यसपालिको जनैपूर्णिमाका दिन भद्रा परेकाले विवादित बनेको छ । भाद्र ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको छ । घण्टा–मिनेटबाट हेर्दा यस दिन १ बजेर ३१ मिनेटसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भए पनि रक्षाबन्धन लगायत जनै लगाउन हुने÷नहुने विषयमा विवाद भएको हो ।
यस सम्बन्धमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले एक प्रेस विज्ञप्ति जारी गरेर विवादको अन्त्य गरेको छ । राष्ट्रप्रमुख वा राष्ट्र सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने व्यक्ति बाहेक अन्यले स्नान, पूजाआजा, जनै लगाउन, रक्षाबन्धन बाँध्न लगायतका कर्म गर्न हुने समितिले जनाएको छ ।

१६ संस्कार

१ गर्भधान २ पुंसवन ३ सीमन्तोनयन ४ जातकर्म ५ नामकरण ६ निष्क्रमण ७ अन्नप्राशन ८ कर्णवेद ९ चूडाकर्म ९ विद्यारम्भ (अक्षरारम्भ) १० उपनयन (व्रतबन्ध)

११ वेदारम्भ १२ केशान्त १४ समावर्तन १५ विवाह १६ अन्तिम संस्कार

सप्तऋषि

गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वशिष्ठ, कश्यप, अत्रि