ब्रेकथ्रु बक्सर सनिल भन्छन्, खेलकुदमा राजनीति धेरै भयो, स्वदेश फर्किन मन छैन

10.62k
Shares

१८ वर्षको उमेरमा बक्सिङ खेल्न शुरू गरेर २१ वर्षकै उमेरमा साउथ एसियन गेम्समा स्वर्ण पदक जितेका सनिल शाही भन्छन्– ’राम्रो ट्रेनिङ पाएको भए सन् २०२० को ओलम्पिक्समै क्वालिफाई हुने थिएँ ।’ राष्ट्रियस्तरका बक्सर राजु श्रेष्ठबाट बक्सिङ सिक्न शुरू गरेका सनिल राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक नजित्दै एकैपटकमा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक ल्याएर रक स्टार बनेका थिए । राष्ट्रिय टिमका प्रकाश थापा मगरबाट तालिम लिएका उनले उज्वेकिस्तानका कोच अलिसर राखिमोभबाट प्रशिक्षण लिएपछि १३ औं साउथ एसियन गेम्समा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

मनभरि पीडा लुकाएर आँखामा ओलम्पिक जित्ने सपना बोकेका २६ वर्षीय सनिल २ वर्ष अघिदेखि क्यानाडाको क्रान्डल युनिभर्सिटीमा बीबीएको पढाइ गर्दैछन् । उनको पढाइ दुई वर्षपछि अर्थात् सन् २०२६ मा सकिँदैछ, तर अरू राम्रा नेपाली खेलाडीले स्वदेश छाडेझै उनी पनि स्वदेश नफर्किने मुडमा छन् । यद्यपि नेपालकै नामबाट खेलकुद क्षेत्रलाई निरन्तरता दिने उनको सोच छ ।
उनीसँग गरिएको कुराकानीको सारसंक्षेप :

पढाइ कि बक्सिङ ?
दुवै सँगसँगै अगाडि बढाउँदैछु । अहिले म बीबीए तेस्रो सेमेस्टरमा जाँदैछु । सँगसँगै बक्सिङ पनि खेल्दैछु । युनिभर्सिटीबाटै खेल्ने भएकाले पढाइ र खेल एक साथ लैजान सजिलै भएको छ । सन् २०२८ मा ओलम्पिक खेल्ने सोच्दैछु ।

पढाइ सकिएपछि फर्केर के गर्ने विचार छ ?
म फर्किन्नँ होला । देशको हालत खत्तम छ । नेपालमा ट्रेनिङ गरेर ओलम्पिकको सपना बुन्नु बेकार छ । नेसनल टिममा जिमको हालत देख्नुभयो भने आँखाबाट आँसु आउँछ । बरु सेलेक्सन खेल्न नेपाल आउने, तर ट्रेनिङ चाहिँ विदेशमै गर्ने हो ।

देशप्रति यस्तो निराशाको कारण ?
नेपालमै बक्सिङ खेलेर केही गर्छु भन्नेको थुप्रैको हालत देखेको छु । २० वर्षसम्म देशका लागि बक्सिङ खेलेर आखिरमा ४० को उमेर कटेपछि हात खाली भएर बसेको पनि देखेको छु । एएफपी क्लबका खेलाडी पुरन राईकै हालत हेर्नुस् । यो साल पनि एएफपी क्लबबाट ३ जना महिला बक्सर बिनिता थापा मगर, संगीता सुनार र सञ्जु थिङ एएफपीको जागिर छाडेर विदेश गइक्सक्नुभएको छ ।

देशको माया लाग्दैन ?
माया त लाग्छ नि⁄ लागेर के गर्नु ? खेलकुदमा राजनीति धेरै भएका कारण हामीजस्ता खेलप्रति नै समर्पित मान्छेलाई माथि उक्लन गाह्रो छ । खेलबाट राजनीति हट्नुपर्छ । हरेक मन्त्री फेरेसँगै खेलकुद परिषद्को सदस्यसचिव फेरिन्छन् । खेलकुदको केही ज्ञान नै नभएकाले खेलकुद परिषद्को जिम्मा लिएका हुन्छन् । खेलाडीलाई विदेश खेलाउन लैजाने बहानामा संघका पदाधिकारी भ्याकेसन मनाउन जान्छन् । विदेशमा सपिङ, साइट सिइङ र ड्युटी फ्रीबाट बोटलका बोटल महँगो रक्सी ल्याउने काम हुन्छ, खेलाडीको कसलाई के मतलब छ र ? अनि यस्तो ठाउँमा फर्केर जीवन बर्बाद पार्नुछ र ?

बक्सिङ खेलको सबैभन्दा ठूलो चुनौती ?
नेपालमा राम्रो ट्रेनिङ नपाउनु नै हो । त्यसमाथि सरकार र खेलकुद संघले खेलाडीमाथि लगानी गर्न कन्जुस्याइँ गरेका कारण बक्सिङ खेल्न र अन्तर्राष्ट्रिय अवार्ड जित्न गाह्रो छ । बक्सिङ संघको विरोध गर्ने खेलाडी सिधैं बहिष्करणमा परिन्छ । १० वर्षअघि म्याक्स बस्नेत, ३ वर्षअघि म स्वयं र अहिले सुष्मा तामाङ । संघको ’होमा हो’ मिलाएर हजुर हजुर गर्नेले मात्र चान्स पाउँछ ।

घर परिवारबाट चाहिँ कतिको सहयोग पाउनुभएको छ?
परिवारको सहयोग शुरूमा चाहिँ थिएन । देशमा खेलकुदको भविष्य राम्रो छैन भनेर पढाइ र राम्रो जागिरमा ध्यान दिनुपर्छ भनेर जोड दिनुहुन्थ्यो । ममी युरोपमा भएकाले ममीले पठाउनुभएको पैसाले म डाइट किनेर खाने गर्थे । सन् २०१९ मा थाइल्यान्ड जाने टिममा छानिएपछि भने परिवारबाट पनि सहयोग मिल्न शुरू भयो ।

विद्यालय वा कलेजको रेस्पोन्स कस्तो रह्यो ?
मैले १२ कक्षापछि मात्रै खेल्न शुरू गरेकाले विद्यालयको त कुनै कुरै भएन । तर, साउथ एसियन गेम्समा स्वर्ण पदक जितेपछि भने मैले पढेको गौतम हाइस्कुलबाट सम्मान प्राप्त भएको थियो ।

खेलकुदले पढाइमा कस्तो असर ग¥यो ?
खेल र पढाइ सँगसँगै लान गाह्रो भयो । बीएको पहिलो वर्षमा ब्याक लागेर अर्को साल फेरि परीक्षा दिएर पास गरें । त्यसपछि पढाइमा ब्रेक लाग्यो । तर, अहिले क्यानाडा आएपछि युनिभर्सिटीबाटै खेल्न पाएकाले खेल र पढाइ सँगसँगै लान केही सजिलो भएको छ ।

मनपर्ने बक्सिङ खेलाडी ?
नेपालमा त बक्सिङमा नेसनल लेभलको मनपर्ने खेलाडी कोही छैन । त्यसैले नेपालमा चाहिँ मेरो फेभरेट म आफैं हुँ । इन्टरनेसनल लेभलमा चाहिँ २ पटक ओलम्पिक गोल्ड मेडल जितेका युक्रेनका भासिल लोमाचेन्को मनपर्छ ।

उपलब्धिहरू
अन्तर्राष्ट्रिय टुर्नामेन्ट
सन् २०१९ थाइल्यान्ड ओपनमा सहभागी
सन् २०१९ १३ औं साउथ एसियन गेम्स, गोल्ड मेडल
सन् २०२० ओलम्पिक्स क्वालिफायर्स, अम्मान, जोर्डन
सन् २०२१ वल्र्ड च्याम्पियनसिपमा सहभागी, बेलग्रेड, सर्बिया
सन् २०२३ ब्राम्प्टन कप, ओन्टारियो, क्यानाडा
सन् २०२४ ब्राम्प्टन कप, सिल्भर मेडल
सन् २०२४ क्युबेक कप, क्युबेक सिटी, क्यानाडा, ब्रोन्ज मेडल