मुद्रास्फीति घटेर साढे ५ प्रतिशतमा सीमित


काठमाडौं।

आर्थिक वर्ष २०८०-८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा मुद्रास्फीति ७ दशमलव ७४ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०-८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६ दशमलव ४० प्रतिशत, दाल तथा गेडागुडीको ९ दशमलव ९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ९ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ८५ प्रतिशत र तरकारीहरुको ८ दशमलव २९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उपसमूहको मूल्य सूचकांक १० दशमलव ९९ प्रतिशतले घटेको छ ।

त्यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११ दशमलव ३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव ९६ प्रतिशत, शिक्षाको ७ दशमलव ७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४ दशमलव ७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४ दशमलव ५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकांक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ४७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६ दशमलव ६२ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको छ । २०८० असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८०-८१ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ८.६२ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षमा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ९९ प्रतिशत, तराईको ४ दशमलव ८२ प्रतिशत, पहाडको ५ दशमलव ७८ प्रतिशत र हिमालको ६ दशमलव ८६ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७ दशमलव ५५ प्रतिशत, ८ प्रतिशत, ७ दशमलव ५६ प्रतिशत र ७ दशमलव १२ प्रतिशत रहेको थियो । २०८१ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ९२ प्रतिशत, तराईको ३ दशमलव २१ प्रतिशत, पहाडको ३ दशमलव ७७ प्रतिशत र हिमालको ३ दशमलव ७१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०८० असार महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७ दशमलव ७० प्रतिशत, ७ दशमलव ४८ प्रतिशत, ६ दशमलव ९८ प्रतिशत र ८ दशमलव १९ प्रतिशत रहेको थियो ।