पाठक पत्र: खोला र एयरपोर्ट छेउको बस्ती सखाप हुने डर



मानिसलाई राम्रो लुगा लगाउँदैमा, चिल्लो गाडी चढ्दैमा, महलजस्तो घरमा बस्दैमा र मीठो खानेकुरा खाँदैमा आनन्द हुन्छ भन्ने हुँदैन । केही वर्षयता प्रकृतिको दोहन गरी घर तथा भवनहरु निर्माण गर्ने क्रम बढ्दो छ । अहिले खोला, नदीकिनारकै छेउछाउमा अग्ला घर देखिन्छन् । कतिपयले त खोलामाथि नै घर बनाएका छन् ।

खोलाको बायाँदायाँ वा टुकुचामाथि घर बनाएका घरधनीहरुलाई अहिले रातभर निन्द्रा लाग्दैन । खोलाको बहाव जुनसुकै बेला पनि बढ्न सक्ने हुँदा त्यहाँँस्थित घरधनीहरु रातभर निदाउँदैनन् । यता, पेट्रोल पम्प, ग्यास डिपो, वर्कसप, कबाडी गोदामछेउछाउमा घर बनाएका घरधनीहरुको पनि यही नै पीडा छ । किनकि यसमा आगलागी हुनासाथ समग्र बस्ती नै सखाप हुन्छ ।

पछिल्लो समय ग्यास लिक भएर वा विद्युत् सर्ट भई आगलागी भएका थुप्रा घटना छन् । आगलागीमा परी ठूलो जनधनको क्षति हुँदै आएको छ । तर बस्तीछेउछाउ पेट्रोल पम्प, वर्कसप, ग्यास डिपो, कबाडी गोदम, पार्टी प्यालेन्स सञ्चालन गर्न नदिने निर्णय सरकार गर्दैन । ०६५ मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले खोलाको २० मिटर दूरीमा मात्र घर बनाउन पाउने निर्णय गरेको थियो । केही समयअघि सर्वोच्च अदालतले समेत परमादेश जारी गरी खोलाको ४० मिटर दूरीमा मात्र घर बनाउन पाउने भनेको छ । अहिले काठमाडौंको लाम्जिपाट उत्तर ढोकादेखि जय नेपाल हल हुँँदै कमलादी, बागबजार वा टुकुचा हुँदै थापाथलीमा निस्किने खोलामाथि घरैघर बनेको देखिन्छ । यद्यपि, ती घरहरु काठमाडौं महानगरपालिकाले भत्काउन सकेको छैन ।


यसले खोलाको बहाव बढ्दा त्यसमाथि बनेका घरहरु जुनसुकै बेला पनि भत्किएर ठूलो धनजनको क्षति हुने देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न मितिमा पटक–पटक गरी विमान दुर्घटना भइसकेको छ । दुर्घटनामा परी थुप्रै यात्रु र पाइलटले ज्यान गुमाइसकेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राजधानीमै छ तर बस्तीको बीचमा । यहाँबाट विभिन्न ठाउँ वा देश जाने वा विभिन्न देश वा ठाउँबाट आउने प्लेन यहीँ अवतरण हुने गरेको छ । फेरि आयल निगमले इन्धन भण्डारण पनि यहीँ गरेको छ ।

सिनामंगल, एयरपोर्ट, गैरीगाउँ, शान्तिनगर, तीनकुने, कोटेश्वर, इमाडोल, टीकाथली, जडीबुटी, नरेफाँट, लोकन्थली, काँडाघारी, पेप्सीकोला, मूलपानी, जोरपाटी, बौद्ध, नयाँबस्ती, गौरीघाटलगायत हुँदै विमान उड्ने हुँदा यो ठाउँका मानिसहरुलाई अहिले न रातमा निद्रा लाग्छ, न दिनमा भोक । यहाँ भाडामा बस्ने मानिस तथा व्यापारीहरुले समेत धमाधम कोठा, फ्ल्याट र सटर छोडिरहेका छन् । यी स्थानमा ७७ वटै जिल्लाका मानिसहरु भाडामा बस्छन् । सटर भाडामा लिएर व्यापार व्यवसाय गर्छन् । तर लगातारको विमान दुर्घटनापश्चात् यहाँ बस्नेहरु त्रसित भएका छन् । बस्तीमै प्लेन दुर्घटना हुने जोखिम बढ्दै गएकोले यहाँ बस्नेहरु अहिले धमाधम सरिरहेका छन् ।

त्यसैले अब सरकारले कि त विमानस्थल नै सार्नुपर्छ, होइन भने एयरपोर्टछेउछाउ घना बस्ती बस्न दिनुहुन्न । बजारमा यस्ता जोखिमपूर्ण ठाउँवरपरका घरजग्गा किन्नुहुन्न भनेर सर्वसाधारणमा बहस शुरु भइसकेको छ । एयरपोर्ट, पेट्रोल पम्प, ग्यास डिपो, वर्कसप, पार्टी प्यालेन्सवरपर अब घर बनाउन रोक लगाउनुपर्छ । सरकारले यस्ता क्षेत्रछेउछाउ घरजग्गा नकिन्न पनि जनतालाई सचेत गराउनुपर्छ ।

२०४४ सालतिर सिंहदरबारमा धेरै घोडा हुन्थे । सरकारले नै त्यति बेला घोडा पालेको थियो । घोडा जात्रामा देखाउनदेखि हरेक कार्यका लागि सरकारले त्यो समयमा घोडाकै प्रयोग गर्दथ्यो । त्यसै बीच सिंहदरबारछेउको अनामनगर, घट्टेखोला, डिल्लीबजार, धोबीखोलाको जग्गामा सरकारले घोडा चराउन वा पाल्ने व्यापक हल्ला चल्यो । यो जग्गा कतिपय सरकारकै थियो त कतिपय व्यक्तिको पनि थियो । तर त्यो व्यक्तिको जग्गा किनबेच हुँदैनथ्यो । सरकारले घोडा पाल्ने सम्भावना भएपछि कोही पनि त्यो जग्गा किन्न चाहदैनथे । ०४४ सालअघि यी ठाउँमा एउटै पनि घर थिएनन् । सबै खेतबारी थिए ।

०४६ सालमा पञ्चायती व्यवस्था हटेर बहुदलीय व्यवस्था आयो । कृष्णप्रसाद भट्टराई पहिलोपटक प्रधानमन्त्री बने । त्यसपछि उनले सिंहदरबारपछाडिको अनामनगरको बाटो खोलिदिए । बाटो खुल्नेबित्तिकै सरकारले त्यो जग्गामा घोडा पाल्ने सम्भावना पनि म¥यो । अनि मानिसहरुले धमाधम त्यो जग्गामा घर बनाउन थाले । अहिले सिंहदरबारभित्र नयाँ भवन बनाउने जग्गा नै छैन। यता, बाहिर सबैले ठुल्ठूला बिल्डिङ बनाएका छन् । सरकारको सानो गल्तीका कारण सिंहदरबारवरपरको धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको छ ।

चार दशकअघि गैरीगाउँ, शान्तिनगर, तीनकुने, कोटेश्वर, इमाडोल, टीकाथली, जडीबुटी, नरेफाँट, लोकन्थली, काँडाघारी, पेप्सीकोला, मूलपानी, जोरपाटी, बौद्ध, नयाँबस्ती, गौरीघाट, बानेश्वर, सिनामंगलमा बस्ती नै थिएन । सबै खेतैखेत थियो । घर भए पनि कच्ची माटोको मात्र थियो । त्यति बेला नै सरकारले यो ठाउँको जग्गा अधिग्रहण गरेको भए आज एयरपोर्ट बस्तीको बीचमा हुँदैनथ्यो ।

विमानस्थल बन्ने भएपछि पनि सरकारले यो ठाउँको जग्गा न त अधिग्रहण गर्‍यो, न त घर बनाउनमा नै प्रतिबन्ध लगायो । यसैको फाइदा उठाएर जग्गा दलालीहरुले किसानसँग रोपनीको एक लाखमा जग्गा किने । अनि डोजर चलाई खण्डीकरण गरेर आनाकै ८०–९० लाखमा बेचेका छन् । यति महँगोमा जग्गा किनेर घर बनाउनेहरु अहिले नराम्ररी डुबेका छन् ।
जोखिमको बीचमै घर भएकाले बेच्न खोज्दाखोज्दै पनि उनीहरुले सकेका छैनन् । यहाँका घरधनीहरुलाई रातभर निद्रा लाग्दैन । दिनमा समेत शान्ति छैन । कुन बेला के दुर्घटना हुन्छ भनेर उनीहरु त्रसित भइरहन्छन् । हाम्रो कानुनमा एयरपोर्टछेउछाउ वा विमान उड्ने ठाउँको तलसमेत घर बनाउन नपाइने व्यवस्था छ । अन्तर्राष्ट्रिय मापदण्डमा समेत यो व्यवस्था छ ।

केही गरी प्लेन दुर्घटना भएमा समग्र बस्ती नै सखाप हुने हुँदा यस्तो प्रावधान गरिएको हो । तर हाम्रोमा त एयरपोर्टमै टाँसिएर घर तथा ठूला भवन बनाइएको छ । यसले विमान दुर्घटना हुँदा बस्तीमा समेत ठूलो धनजनको क्षति हुने जोखिम बढेको छ । कानुनमा त सरकारी कार्यालयवरपर वा विश्व सम्पदा सूचीमा परेका मठमन्दिरको वरपरसमेत घर बनाउन नपाइने व्यवस्था छ । यद्यपि अहिले विश्व सम्पदा सूचीमा परेका मठमन्दिर वा सरकारी कार्यालयवरपर मन्दिर वा भवनभन्दा ठूलो घर बनेको पाइन्छ ।
सरकारमा बस्नेहरु कानुन त बनाउँछन् तर कार्यान्वयनमा जोड नदिँदा यस्तै हुँदै गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि यस्ता ठाउँवरपर घर बनाउन हुन्न र बस्ती नै सार्नुपर्छ भनेर सम्बन्धित मन्त्रालयमा प्रस्ताव लग्दैनन् । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले समेत यस्ता ठाउँवरपरका बस्ती हटाउनुपर्छ वा एयरपोर्ट नै सार्नुपर्छ भनेर निर्णय गरेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे पनि यस्तो कुनै निर्णय गर्दैनन् ।

अहिले देश विदेशबाट आउने र जाने प्लेनको संख्या बढेको छ । प्लेनमा यात्रा गर्नेहरुको पनि संख्या बढेको छ । तर एयरपोर्टको भूभाग भने ज्युँको त्युँ छ । त्यसैले, अब सरकारले एयरपोर्टछेउछाउको सबै जग्गा अधिग्रहण गगर्नुपर्छ, होइन भने एयरपोर्ट नै सार्नुपर्छ । अहिले सरकारमा बस्नेहरु विमान दुर्घटना हुनासाथ घटनास्थलतर्फ दौडिन्छन् । अनि सार्वजनिक बिदा दिने, राष्ट्रिय झन्डा झुकाउने र छानबिन समिति गठन गर्ने निर्णय गर्छन् । तर कतिन्जेल यही प्रक्रिया चलिरहनेछ ?

सरकार आफैं विमान दुर्घटना गराउँछ अनि गोहीको आँसु झार्छ । त्यसैले, दुर्घटना हुनुअघि नै सतर्कता अपनाऔं । दुर्घटनापश्चात् छानबिन समिति गठन गर्ने र सार्वजनिक बिदा दिने होइन, एयरपोर्टछेउछाउको बस्ती हटाउनुपर्छ । नत्र कुनै विमान दुर्घटना भएमा बस्ती नै सखाप हुनेछ अनि त्यति बेला के गर्छ सरकारले ?

– रुषा थापा, भक्तपुर ।