अबको बोर्ड अध्यक्ष को?


अभिनेता भुवन केसीको दुईवर्षे कार्यकाल पूरा भएपछि गत साउन १० गतेदेखि रिक्त चलचित्र विकास बोर्डको अध्यक्ष अब को होला? फिल्म क्षेत्रमा हिजोआज यसबारे व्यापक लेखाजोखा र अनुमान चल्न थालेको छ।

सरकारले नियुक्तिका लागि तोकेका दुई प्रावधानलाई टेकेर आधा दर्जन फिल्मकर्मीले बोर्ड अध्यक्ष पदका लागि दरखास्त पेस गरेका छन्।

अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर, फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी दिनेश डिसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक तथा डकुमेन्ट्री फिल्म निर्देशक राजेश थापा, फिल्म निर्देशक दीपा बस्नेत, बोर्डका पूर्वसदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल (अर्जुनकुमार)ले बोर्ड अध्यक्षमा नियुक्ति पाउन दरखास्त दिएका छन्। प्रक्रियाअनुसार सरकारले दरखास्त दिएकाहरूको योग्यता पुगे वा नपुगेको परीक्षण गर्नेछ भने त्यसपछि कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताको तालिका सार्वजनिक गर्नेछ। यसबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिस समितिले यीमध्ये तीनजनाको नाम सिफारिस गर्नेछ। समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले एकजनालाई अध्यक्ष पदमा नियुक्त गर्नेछ।

बोर्डमा हालसम्म १६ जना अध्यक्ष भइसकेका छन्। तीमध्ये दुईजना सरकारी कर्मचारी अध्यक्ष भएका छन् भने बाँकी  १४ जना कला क्षेत्रबाट अध्यक्ष बनेका थिए। पूर्णरूपमा फिल्म क्षेत्रबाट नै प्रतिनिधित्व गर्ने अध्यक्ष भने १० जना छन्। तर, कला र फिल्म क्षेत्रबाट बोर्ड नेतृत्वमा पुगेका प्रायः कलाकर्मी पार्टीगत हिसाबले नै नेतृत्वमा पुगेका थिए। देशमा राष्ट्रपति, प्रधानन्यायाधीशजस्ता सर्वोच्च र उच्च पदमा महिला पुगिसके पनि बोर्डमा भने हालसम्म एकजनाबाहेक दोस्रो महिला नेतृत्वमा पुग्न सकेका छैनन्। निकिता पौडेललाई सरकारले बोर्डको हालसम्मको एकमात्र महिला अध्यक्ष बनाए पनि उनलाई दुई राजनैतिक आस्थाका आधारमा दुईवर्षे कार्यकाल पूरा गर्न दिइएन, बीचमै राजीनामा दिन बाध्य तुल्याइयो। बोर्डले केही अघिमात्र २४औं वार्षिकोत्सव मनाउँदा हालसम्मका अध्यक्षको नाम लिने क्रममा निकिताकै मात्र नाम सम्बोधन गर्न आवश्यक ठानेन। 

त्यसो त नेतृत्वमा पुगेका फिल्मकर्मीहरूले बोर्डलाई स्वायत्तता प्रदान नगरिएका कारण बोर्डको हैसियत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको एक विभागसरह खुम्चिएको र त्यहाँ  गएर नियमित प्रशासनिक कामबाहेक फिल्म क्षेत्रको उन्नतिका लागि केही गर्न नसकिने बताउँदै आएका छन्। बोर्डका संस्थापक अध्यक्ष यादव खरेलले त दोस्रो कार्यकालको अन्त्यतिर आएर यसैलाई कारण देखाउँदै राजीनामा नै दिएका थिए। बोर्डकै पछिल्ला अध्यक्ष भुवन केसीले पनि फिल्म उद्योग निजी क्षेत्रको प्रयास र लगानीका कारणमात्र आजको स्वरुपमा आएको र बोर्डले केही गर्न नसकेको बताएका छन्।

यस्तोमा पनि सरकार चलाइरहेको एमालेनिकट आधादर्जन कलाकर्मी बोर्ड अध्यक्ष्ँको अभिलाषी देखिएका छन्। अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर यसपालिको बोर्ड अध्यक्ष आफू हुने आसमा छिन्। सँगसंगै  बोर्ड अध्यक्ष भएर फिल्म क्षेत्रका लागि काम गर्न सकिनेमा ढुक्क छिन्। ‘म बोर्ड अध्यक्षका लागि डिजर्भ गर्छु र यसपालिको बोर्ड अध्यक्ष हुने आसा छ। मैले फिल्म क्षेत्रमा सक्रिय भएर धेरै काम गरेँ । मसँग  यसको ठुलो एक्सिपेरियन्स पनि छ। मलाई अलि अघिसम्म बोर्ड अध्यक्षमा इन्ट्रेस्ट थिएन। तर, पोलिटिक्समा लागेपछि यस्तोमा इन्ट्रेस्ट लाग्ने रहेछ। त्यहाँ  गयो भने नितीगत रूपमा केही गर्न सकिन्छ कि भन्ने लागेकाले निवेदन दिएकी हुँ ,’ करिश्मा भन्छिन्, ‘बोर्ड चलाउनु भनेको प्रशासनिक काम पनि हो। त्यहाँ  गएर हाम्रो फिल्म क्षेत्रमा के कमी छ भनेर पनि हेर्नुछ। बोर्डमा गएर धेरै केही गर्न नसके पनि नराम्रो केही गर्दिन।’

अभिनेता, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीलाई यसअघि बोर्डको नेतृत्वमा जानका लागि अवसर थियो। तर, उनले दुवैपटक रुचि देखाएनन्। यसपटक भने उनी पनि आकर्षित भएका छन्। उनले तत्काल कुनै प्रतिक्रिया दिन भने चाहेनन्।

सांस्कृतिक संस्थानको महाप्रबन्धक भइसकेका डकुमेन्ट्री फिल्म निर्देशक राजेश थापा फिल्म क्षेत्रलाई उचाइमा पु¥याउन बोर्डमा जान खोजेको बताउँछन् । ‘मूलरूपमा फिल्म क्षेत्रमा जुन ढंगले अन्तर्राष्ट्रिय लगानी बजार प्रवर्द्धन हुन सकेको छैन, वैदेशिक लगानी भित्र्याउन सकिएको छैन, नेपाललाई सुटिङ हबका रूपमा विकास गर्न सकिएको छैन, श्रमजीवी फिल्मकर्मीको हक अधिकार स्थापित गर्न सकिएको छैन र नेपालको राष्ट्रियता, सार्वभौमिकता र मौलिकताको प्रवर्द्धन गर्न सकिएको छैन, त्यो काम म गर्न सक्छु भनेर बोर्डमा जान खोजेको हुँ ,’ थापा भन्छन्, ‘म कलाकार पनि भएकाले सांस्कृतिक संस्थानमा गएर नेपालको लोकसंस्कृतिको विकासका लागि काम गरे“। अब फिल्म क्षेत्रका लागि राम्रो ढंगले काम गर्न चाहन्छु।’

फेरि फेरियो मापदण्ड

बोर्डमा फिल्मसंग  सम्बन्धित पढेको र अनुभवी मानिस अध्यक्ष हुनुपर्छ भन्ने मान्यताबमोजिम बोर्ड अध्यक्षका लागि केही वर्षअघि स्नातक उर्तीण भई १० वर्ष फिल्म क्षेत्रमा योगदान गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो। तर, सरकारमा रहेको पार्टीअनुकुलका फिल्मकर्मीलाई अध्यक्ष बनाउन यो मापदण्डलाई पटकपटक  चलाईदै  आएको छ। 

स्नातक उर्तीण नगरेका, तर आफ्नो  अनुकूलका फिल्मकर्मीलाई समेत बोर्ड अध्यक्ष नियुक्त गर्नका लागि यसरी मापदण्ड नै परिवर्तन गरिएको हो। यसपटक पनि सरकारले आफ्नू  अनुकूलका फिल्मकर्मीलाई अध्यक्षमा नियुक्ति दिन लचिलो मापदण्ड बनाएको छ। जसअनुसार कुनै विषयमा कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास संरक्षण, सम्वद्र्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको तथा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले बोर्ड अध्यक्षका लागि दरखास्त दिनसक्ने एकथरि प्रावधान तोकिएको छ। संगसंगै  प्रवीणता प्रमाणपत्रतह वा सोसरह उत्तीण  गरेकाले फिल्म उद्योगको स्थापना, विकास संरक्षण, सम्वद्र्धन तथा प्रवर्द्धनमा निरन्तररूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने अर्को मापदण्ड पनि थपिएको छ।

हालसम्मका अध्यक्ष

यादव खरेल

नीर शाह

मुकुन्दप्रसाद आचार्य

शम्भुजीत बासकोटा

शैलेशराज आचार्य

कृष्ण मल्ल

ईश्वरचन्द्र ज्ञवाली

अमर गिरी

गणेश भण्डारी

धर्मेन्द्र मरवैता

राजकुमार राई

रामचन्द्र ढकाल

निकीता पौडेल

स्व. केशव भट्टराई

दयाराम दाहाल

भुवन केसी