नेपालको राजनीतिमा लालुको ‘सोसियल इन्जिनियरिङ’

1.69k
Shares

विहारका लालु यादवले सत्तामा टिकिरहन प्रयोग गरेको सोसियल इन्जिनियरिङले विहारलाई जसरी भारतको पिछडिएको राज्य बनायो नेपालको राजनीतिमा पनि त्यस्तै विधिको उपयोग गर्नाले नेपाल दक्षिण एशियाकै कम विकसित राष्ट्र बनेको छ ।

सन् १९९० मा नेपालमा प्रजातन्त्र पुनस्र्थापना हुँदा विहारमा पहिलो चोटी लालु यादव मुख्य मन्त्री बनेका थिए । लालुले विहारमा अपनाएको राजनीतिक शैली र नेपालका नेताहरुले अहिलेसम्म अपनाउँदै आएको शैली ठ्याक्कै उस्तै छ । को गुरु को चेला छुट्याउनै मुश्किल पर्छ ।

लालुले विहारको राज्य सत्ताको नेतृत्व गर्दा समग्र भारतको विकासले ‘गोल्डन एरा’को उपनाम बनाउँदै थियो तर विहारको आर्थिक बृद्धिदर १ प्रतिशतमा सीमित भएको थियो । त्यहाँ कुनै ठूलो उद्योग कलकारखाना स्थापना भइरहेका थिएन् । बरु त्यहाँ राजनीतिक अपराधिकरण संस्थागत हुँदै थियो भने, राज्यको संरक्षणमा अपहरण, पेपर लिक, ढुंगा बालुवाको अबैध व्यापार मौलाउँदै गएको थियो । नेपालमा चाहिँ यस्ता प्रबृत्तिका साथै सन् १९९० अघि स्थापना भएका उद्योगहरु र प्राकृतिक साधन श्रोत समेत बेचेर खाने प्रबृत्ति मौलाउँदै गएको थियो ।

लालुको शासनकालमा विहारमा ५९ वटा जातिय हिंसा भएका थिए जसमा ६ जनाको ज्यान गएको थियो । लाखौँ मानिस पलायन भए । सन् १९९१ को तुलनामा सन २००१ मा विहारको माइग्रेसन दर ३ गुणाले बढेको थियो । शिक्षित मानिस विहारमा बस्न चाहदैनथे । बाबु आमाहरु अपहरणको डरले आफ्ना छोराछोरीलाई विहारमा बस्न दिन चाहदैनथे र अन्यत्रै पढ् पठाउँथे । जातिय विभेद र असुरक्षाका कारण लालुको शासन कालमा माथिल्लो जातीका धेरैले आफ्नो थर नलेखी अरु नै टाइटल लेख्न थालेका थिए ।

लालुको शासन कालमा विहारीहरुले विहारमा मात्र होइन भारतका अन्य राज्यमा पनि ठूलो विभेद खेप्नु परेको थियो । पढ्नमा तिक्ष्ण र मिहिनेती भए पनि अरु राज्यमा विहारीलाई असभ्य ठानिन्थ्यो र विभेद गरिन्थ्यो । सन् २००० मा रेलवे सेवामा फर्म भर्न मुम्बै पुगेका विहारीलाई सिट क्याप्चर गर्न आयो भनेर लखेटीलखेटी पिटिएको थियो । सन् २००३ मा आसामको टि गार्डेनमा काम गर्न गएका २ सय विहारीको हत्या गरिएको थियो ।

एक जना गलत मानिसलाई सधैँ चुनाव जिताइरहँदा मुलक कसरी पतनको गतितिर जान्छ र जनताले कति दुख पाउँछन् भन्ने कुरा विहारमा करिव १५ वर्ष प्रत्यक्ष अप्रत्यक्ष शासन गरेका लालु यादव ज्वलन्त उदाहरण हुँदा हुँदै पनि हामी नेपालीमा चेत फिर्न सकेको छैन । सन् १९९० देखि तिनै ¥याले, सिंगाने, भ्रष्ट र नौटंकी गर्न जान्ने धोकेवाजहरुलाई सत्ताको बाग्डोर सम्हाल्न दिइरहेका छौँ । यसको एउटा कारण युवाहरुको पलायनबादि सोच र शिक्षित मानिसहरुको राजनीति प्रतिको उदासिनता पनि हो ।

सन् १९९० मा पटनाको प्रसिद्ध गान्धी मैदानमा लालुले भारतीय प्रजातन्त्रवादि नेता जय प्रकाश नारायणको शालिकमुनि उभिएर सपथ लिदै भावुक भएर भनेका थिए ‘अव भ्रष्टाचार हुँदैन, बैमानी हुँदैन, जनताको अशल लोकतन्त्र हुन्छ ।’ सुरुमा उनले साधारण क्वाटरमा बसेर मुख्य मन्त्री कार्यालय आउने जाने गर्थे । कार्यालय जाँदा बाटोमा मानिसको समूह देखे भने रुखैमुनी उभिएर जनताका समस्या सुन्थे ।

दलित बस्तिमा पानीको ट्याङकरसहित गएर बच्चाहरुलाई आफैँ पानी छर्किएर नुहाइदिन्थे । पिछडिएको यादव समुदायबाट आएकाले अव दलित र यादवहरुलाई हक अधिकार मिल्छ र राज्यको विकास हुन्छ भनेर जनताले निकै मन पराए । तर नेपाली नेताहरुको जस्तै उनको अभिनय पनि धेरै टिकेन । लामो समय सत्तामा टिकिरहने उपायको खोजीमा उनी लागे । लालुलाई के महसुस भयो भने विकासको बाटो ज्यादै लामो र कठीन हुन्छ । ठूलो अस्पताल, ठूलो स्कुल, ठूलो उद्योग, एउटा रोड बन्न पनि चार पाँच वर्ष लाग्छ । कुनै त दशकौँ पनि लाग्न सक्छ ।

अनि अर्कोपल्ट चुनाव कसरी जित्ने ? यसको सट्टा यदि सँधै आफ्नो साथमा रहने खालको भोट ब्यांक बनाइयो भने कुनै काम गर्नु जरुरी छैन । अनि उनले जनताको भावनासँग खेल्दै जाति र धर्मको नाममा सत्तामा टिकिरहने सोसियल इन्जिनियरिङको विधि तयार गरे । लालुले विहारमा रहेका करिव १४ प्रतिशत आफ्नो जाति यादव, करिव १६ प्रतिशत मुश्लिमलाई हात लिए । दलित र अरु केही जातिहरुबाट पनि केही मात्र भोट आउँदा पनि आफूलाई सत्ताबाट कसैले हटाउन नसक्ने आंकल गरे । आफ्नो रणनीति अनुरुप उनी माथिल्लो जातिलाई बेलाबेलामा गाली गर्थे ।

त्यसको प्रतिबाद गर्दै लालुलाई पनि गाली आउँथ्यो । अनि पिछडा जाति एक भएर हाम्रो नेतालाई किन गाली गरेको ? भन्दै प्रतिबाद गर्थे । यही सोसियल इन्जिनियरिङ प्रयोग गरेर उनले विहारमा १५ वर्ष शासन गरे । आफ्नो शासनकालमा लालुले सामाजिक संरचना नै परिवर्तन गरेका थिए । हरेक कुरालाई जातीवादि नजरबाट हेर्न थालिएको थियो । लालु सत्तामा आउँदा व्यरोक्रेसीमा माथिल्लो जातिको बाहुल्यता थियो ।

लालु उनीहरुलाई हिनताबोध गराएर निकम्मा सावित गर्न खोज्थे । टेबुलमा खुट्टा तेस्र्याएर राख्थे र कर्मचारीलाई वरिपरि उभ्याउँथे, पान थुक्न पिकदानी उठाउन भन्थे । यसको फोटो खिचाउँथे र अखवारमा छपाउँथे । सवै पदाधिकारीलाई लाइनमा उभ्यायो भनेर मतदाताहरु दंग पर्थे । कर्मचारीलाई यसरी हिनताबोध गराउन थालेपछि त्यहाँबाट अन्य सरुवा हुन कर्मचारी निवेदन लिएर केन्द्रिय सरकारकहाँ पुग्नेको संख्या ह्वात्तै बढ्यो ।

लालुको कार्यकालमा विहारमा स्कुल शिक्षक, कलेज प्रोफेसर, सुरक्षा प्रमुख, प्रशासकदेखि विकास निर्माण कार्यालयका झण्डै एक तिहाइ पदहरु खाली भएका थिए । किन कि त्यहाँ अन्यत्रबाट कोही जान मान्दैनथे । लामो समयसम्म लोक सेवा आयोगका प्रमुखको पद पनि खाली नै राखिएको थियो । उनले ब्युरोक्रेसी प्रतिको आदर, विश्वास र कार्यक्षमता सवै खत्तम पारिदिएका थिए ।

कर्मचारी भर्ना ग¥यो भने माथिल्लो जातको मानिस आउँछन्, बरु खाली राख्नु नै ठीक हुन्छ भन्ने लालुको तर्क थियो ।
लालु यादव सन् १९९६ मा जनता दलको अध्यक्ष भए र प्रधानमन्त्रीको सपना देख्न थालिसकेका थिए । तर सन् १९९७ मा लालु यादव विरुद्ध करिव ९ अर्ब भारतीय रुपियाँको चारा घोटला काण्डमा सिविआईले मुद्दा चलाएपछि उनी जेल गए । तर पनि उनको हातबाट शासन गएन । आफू पक्राउ पर्ने निश्चित भएपछि आफ्नी पत्नी रावडीदेवीलाई मुख्य मन्त्री बनाए । रावडी लालुको कठपुतली बनेर सन् १९९७ देखि २००५ सम्म बिहारमो मुख्य मन्त्री बनिन् ।

लालु यादवको उदयसँगै सन् १९९० पछि विहारमा कसरी कानुनविहिन जंगल राज सुरु भयो, सुरक्षा निकाय र ब्युरोक्रेसीलाई कसरी पंगु बनाइयो, कसरी विकासको गति अवरुद्ध भयो र अपराध कसरी संस्थागत जस्तै बन्दै गयो भन्ने बारेमा राजनीतिज्ञ तथा लेखक मृत्युञ्जय शर्माले ‘ब्रोकन प्रोमिसेसः काष्ट, क्रायम एण्ड पोलिटिक्स इन विहार’ नामक पुस्तक प्रकाशित गरेका छन् । यो पुस्तकमा नेपाल बारे नलेखिएको भएता पनि सन् १९९० पछिको नेपालको राजनीतिक, समाजिक, आर्थिक, प्रशासनिक गतिविधलाई सम्पूर्ण रुपमा चित्रण गरिएको जस्तो लाग्छ ।

लेखकले लालु यादवको १५ वर्षे शासन कालमा सवै भन्दा गलत काम उनीबाहेक कसैले गरेको छ भने त्यो मिडिया र इन्टेलिजेन्सले गरेको भनेका छन् । उनको भनाइमा मिडिया र इन्टेलिजेन्सले विहारमा भइरहेको जातिय हिंसालाई सामाजिक क्रान्तिको रुपमा चर्चा गरिरहेका थिए । र लालु यादवलाई सामाजिक क्रान्तिको मसिहा तथा जनताका नायकका रुपमा चित्रण गरिएको थियो ।

मिडिया राजनीतिक दलको कठपुतली बन्यो र आफ्नो भूमिका निर्वाह गर्न चुक्यो भने मुलुक कसरी पतनतिर लाग्छ भन्ने कुरा यस पुस्तक मार्फत विहारको गतिविधिबाट बुझिन्छ । विहारमा सन् २००५ मा नितिस कुमार मुख्य मन्त्री बनेपछि भने विहारमा उल्लेखनीय परिवर्तन भएको लेखकको मूल्यांकन छ । उनको भनाइ अनुसार नितिस कुमार सत्तामा आएपछि बल्ल विकास र कानुनी शासनको सुरुवात भयो ।

नितिस कुमारले मुख्य सचिव, डिजिपी आदि सवै सुरक्षा तथा प्रशासन प्रमुखहरुलाई आफ्नो हिसावले काम गर्न स्वतन्त्रता दिएपछि व्यरोक्रेसीमा सुधार आयो । कानुनी शासनमा सुधार आयो । कुनै मन्त्रीले गलत काम गर्न खोज्दा असहयोग गर्ने कर्मचारीलाई सरुवा गर्न तम्सिदा नितिसले त्यस्ता मन्त्रीलाई नै हटाइदिएका थिए । अदालतका मुद्दाका चाङ कम गर्न फास्ट कोर्ट बनाइ दिए ।

विहारमा कानुनी शासनको प्रत्यहाभूति भएपछि अहिले धेरैहदसम्म अपराध नियन्त्रण भएको छ ।
मुलुक बनाउने कुरामा सवै भन्दा महत्वपूर्ण नेतृत्वको इमान्दारिता र कानुनी शासनको प्रत्याभूति हो । यदि हामीले परीक्षणमा असफल भइसकेका नेताहरुलाई नै सधैँ बोकिरह्यौँ वा मुलुक बनाउनेतिर भन्दा अरु मुलुकतिर पलायन हुनेतिर सोच्यौँ भने नेपाल कहिल्यै विकसित हुँदैन । हाम्रो मुलुक हामीले नै बनाउँनु पर्छ त्यसका लागि शिक्षित युवाहरु राज्यको नेतृत्वमा पु¥याउनु पर्छ भन्ने सोच आजका नवयुवाहरुमा आउन जरुरी छ ।