बाढीमा खुम्बुका १४ वटा भवन पुरियो

282
Shares

ओखलढुंगा ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ को थामेमा आज दिउसो आएको बाढीका कारण १४ वटा भवनहरूमा पूर्ण रुपमा क्षति पुगेको छ ।
अपरान्ह आएको बाढीका कारण ७ वटा घर, ५ वटा होटल, एक वटा क्लिनिक र एक वटा विद्यालयको होस्टेल बाढीले बगाएको छ ।
बाढीका कारण दुधकोसी नदीको बहाव बढेको छ । दुधकोसी नदीमा बहाव बढेसँगै खुम्बु जोड्ने ओर्लाङघाटमा रहेको मोटर पुलमा क्षति पुगेको छ । यसै गरी बाढीले नदिको बहाव बढे सँगै सोताङ गाउँपालिका १ दिप्ली घाटमा रहेको बेली बृज बगाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्तिमार्फत स्थानीय सरकार,प्रशासन र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्य भइरहेको जनाएको छ ।

साथै खराब मौसमका कारण थप उद्धारमा कठिनाइ भएको गाउँपालिकाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
गाउँपालिकाले खोज तथा उद्धार, राहत तथा पुनः स्थापनाको लागी विभिन्न सङ्घ संस्था, प्रदेश सरकार र संघिय सरकारलाई अनुरोध गरेको छ ।