केसीसी एक्जिबिट २०२४ को शुभारम्भ


काठमाडौँ । 

 कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को शुभारम्भ गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष सुमन कटुवालले गरे । कार्यक्रमका  प्रमुख अतिथि  उपप्रधानमन्त्री प्रकाशमान सिंहले  यो प्रदर्शनीले किताबी ज्ञान मात्रै नदिएर व्यवहारिक ज्ञान दिने बताए । ‘किताबले सैद्धान्तिक ज्ञान दिन्छ, त्यो पनि चाहिन्छ तर त्यो कुरालाई ब्यबहारमा उतार्न र प्रयोग गर्न कति जटिल छ भन्ने ज्ञान यस्ता प्रदर्शनीले दिन्छ’ उनले भने । नेपालमा बसेर नेपालमै केही गर्नका लागि राम्रो अध्ययन र प्रयोग आवश्यक रहेको उनले बताए । ज्ञानको विस्तार पनि आवश्यक रहेकोले आफूले प्राप्त गरेको ज्ञानलाई फैलाउन विद्यार्थीहरुलाई आग्रह गरे । कान्तिपुर सिटी कलेजले विद्यार्थीको क्षमता प्रदर्शन गर्न यस्तो अवसर दिएकोमा धन्यवाद ज्ञापन गरे ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डीन प्रा.डा. देवीप्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई सुधार गरेको उल्लेख गरे । ‘विश्वविद्यालयले परीक्षा सकिएको ९० दिनमा परीक्षाफल प्रकाशित गर्छौं भनेर लिखित प्रतिबद्धता व्यक्त गरेका छौं’ उनले भने, ‘कक्षा सञ्चालनलाई पनि कसरी छरितो बनाउन सकिन्छ त्यो काम हामी गरिरहेका छौं ।’

पूर्वमन्त्री गणेश साहले यस्तो प्रदर्शनी गर्न र यसबाट प्रभाव पार्न एउटा इको सिस्टम बनाइदिन सरकारसँग आग्रह गरे । यस्ता प्रदर्शनीलाई कलेजभित्रमात्रै सीमित नगरेर बाहिर सार्वजनिक गर्न पनि आवश्यक रहेको उनले बताए । उनले भने, ‘२०औं प्रदर्शनीलाई ग्राण्ड बनाउनुहोस् । यो प्रदर्शनी विद्यार्थीको ज्ञान निखार्न आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल व्यवस्थापन संघका महासचिव इन्द्रकुमार श्रेष्ठले वार्षिक रुपमा कलेजले आयोजना गरिरहेको प्रदर्शनीले विद्यार्थीहरुले धेरै कुरा सिक्ने र व्यवहारमा आइपर्ने धेरै समस्या समाधानका लागि तयार हुने बताए ।

नेपाल कम्प्युटर एसोसिएसनका अध्यक्ष रञ्जित कुमार पोद्दारले यो प्रदर्शनी विद्यार्थीले कसरी पढिरहेका छन् त्यो अन्य कलेजका विद्यार्थी, अभिभावक र समाजलाई देखाउने माध्यम भएको बताए ।

कार्यक्रमको औचित्य र महत्व उल्लेख गर्दै कलेजका आमसञ्चार विभागीय प्रमुख प्रा. रामाकृष्ण रेग्मीले केसीसी एक्जिबिटले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे । प्रदर्शनी विद्यार्थी र बाह्य बजारसँगको पुल भएको उनले बताए । ‘भोलि इन्टर्नसीप गर्न जाँदा वा जागिर खान जाँदा पनि बजारले चिन्छ, त्यो चिनाउने काम चाहिँ यो प्रदर्शनीले गरिरहेको छ ।’

 कार्यक्रममा क्याम्पसका प्रिन्सिपल राजु कट्टेल, एक्जिबिट संयोजक ई. रबी श्रेष्ठ लगायतले प्रदर्शनीको बारेमा जानकारी दिएका थिए ।

समुद्घाटन समारोहपछि प्रमुख अतिथि, अतिथिलगायतले स्टलको भ्रमण गरेर जानकारी र मनोरञ्जन लिएका थिए ।

प्रदर्शनीमा राखिएका नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित छन् । प्रदर्शनीमा इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्काेको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विथआउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल, रिटेनिङ एण्ड स्टेबिलिटी स्टक्चर, लिक्वी फ्याक्सन, अर्लि वार्निङ सिस्टम लगायतका विभिन्न प्रोजेक्ट आदि छन् । यसैगरी आइटीतर्फ फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम, जेष्टर कन्ट्रोल प्रिजेन्टेशन, होम अटोमेशन सिस्टम, फ्लोड अलर्ट सिस्टम, पेमेन्ट कन्फर्मेशन, इमर्जेन्सी अलर्ट सिस्टम, अटोमेटिक वाटर लेभल कन्ट्रोलिङ, स्मार्ट एग्रिकल्चर सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शनीमा रहेका छन् । यी सिस्टममा अधिकतम एआईको प्रयोग भएका छन् । यता ब्यवस्थापनतर्फका विद्यार्थीहरूले खानेकुराको प्रदर्शनी गरेका छन् । विभिन्न विधाका गरी, ३० भन्दा बढी स्टल रहने प्रदर्शनीका मिडिया संयोजक राजिव तिमलिसनाले जानकारी दिए । प्रदर्शनीमा १२ हजार भन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको पनि उनले बताए ।

 कलेज प्राङ्गणमै हुने प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहित राष्ट्रिय स्तरका कलाकारहरुका विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक तिमल्सिनाले जानकारी दिए । दुई दिन चल्ने प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवद्र्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको उनले बताए ।

 प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शीर्षकमा कन्फरेन्स पनि हुनेछ । यो कन्फरेन्समा तीन वटा महत्वपूर्ण पेपर प्रस्तुति र प्यानल डिस्कसनसमेत हुने छन् । 

 कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन हुने अग्रणी कलेज हो । यहाँबाट उत्तीर्ण विद्यार्थीहरुले देश तथा विदेशका विभिन्न क्षेत्रमा नेतृत्व लिएर काम गरी आफ्नो दक्षता प्रस्तुत गरिरहेका छन् ।