स्कुटरलाई ट्रकले ठक्कर दिँदा पुरुषको मृत्यु, गट्ठाघर क्षेत्र दिनभर तनावग्रस्त

61.1k
Shares

भक्तपुर ।

भक्तपुरको गट्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएर एक पुरुषको मृत्यु भएको घटनाले साढे तीन घण्टाभन्दा बढी समय स्थिति तनावपूर्ण बनेको छ। ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गट्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घट्नास्थलमै मृत्यु भएको हो। तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । स्कुटर चालकको शरीर क्षतविक्षत भएको छ।

घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन्। दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन्। स्थानीय आन्दोलित भएपछि नयाँ ठिमी–कोटेश्वर सडकखण्डमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई नियन्त्रण लिन सामान्य बल प्रयोग गर्नुपरेको जनाएको छ।

मृत्यु भएका स्कुटरमा सवार पुरुषको शव साँझ उठाइएपछि अवस्था शान्त बन्दै गएको थियो। पुरुषको मृत्यु भएपछि स्थानीयको प्रदर्शनका कारण गट्ठाघरको अवस्था दिउँसो २ बजेदेखि तनावग्रस्त बनेको थियो। अरनिको राजमार्गअन्तर्गत गट्ठाघरमा ट्राफिक जाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएर रक्ताम्य पारेर घिसारेको र घटनास्थलमै स्कुटर चालक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीको भनाइ छ। दुर्घटनापछि फरार ट्रक चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् भने ट्राफिक प्रहरी र ट्रक चालकमाथि समेत आक्रोश पोखेका छन् । प्रदर्शनकारीले ट्रक तोडफोड गरेका छन् । घटनास्थलमा बाक्लो संख्यामा सुरक्षा टोली खटिएको थियो। आक्रोशित भीडले अन्धाधुन्द ढुंगा प्रहार गरेपछि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो।

भीडले ट्रक तोडफोड र प्रहरीमाथि ढुंगामुडा गर्न थालेपछि काठमाडौंबाट समेत थप मद्दतका लागि प्रहरी मगाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीका कारण पुरुषले ज्यान गुमाएको भन्दै स्थानीयले ट्राफिकविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालनसमेत गर्नुपरेको थियो।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ। सो क्रममा झडप हुँदा ४ वटा ढाला फुटेको र ढुंगाले लागेर ४ जना सशस्त्र प्रहरी सामान्य घाइते भएको पनि सशस्त्रले जनाएको छ।

पुरुषको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो। सामाजिक सञ्जालमा यस्ता घटनाबाट ट्राफिक प्रहरीले पाठ सिकेर लुकेर बिच सडकमा जथाभाबी चेकिङ गर्न नहुने भन्दै विरोध भएको छ। यो घटनाको सूक्ष्म अध्ययन गरी सत्यतथ्य पत्ता लगाई जनतामाझ सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्।

ट्राफिक चेकिङ व्यवस्थित नहुँदा ट्राफिक प्रहरीकै कारण कहिले सवारी चालक र कहिले ट्राफिककै ज्यान जाने वा घाइते हुने अवस्था आएको भन्दै ट्राफिक प्रहरी नेतृत्वले उपयुक्त कदम चाल्नुपर्ने माग गरिएको छ।