अक्षयकोषको प्रभावकारीतामाथि पुनःविचार गर्न मेयरलाई वडाअध्यक्षको आग्रह


ललितपुर।

ललितपुर महानगरपालिकाले विभिन्न परम्परा र संस्कृतिको लागि खडा गरेका अक्षयकोष प्रभावकारीतामाथि जनप्रतिनिधि र स्थानीयले प्रश्न तेस्र्याएका छन्। न्यकू जात्रा मतयाः सञ्चालन मूल समारोह समिति २०८१ ले विहीबार नकबहीलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रश्न तेस्र्याएका हुन्।

सो अवसरमा समितिका महासचिव आशारत्न शाक्यले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मतयाः पर्व सञ्चालनमै चुनौतीमाथि चुनौती थपिएको बताउनुभयो।

उहाँले मतयाः अर्थात दीपयात्रा वर्षमा एकपटक सञ्चालन गर्न बाजागाजा प्रशिक्षणदेखि नौं बाजा प्रदर्शनी,त्यसको व्यवस्थापन लगायत तयारीमा करिब २५ देखि ३० लाख रकम आवश्यक रहेको सो महानगरपालिकाले उपलब्ध गराउँदै आएको रकम अपुग रहेको बताउनुभयो।हाल महानगरपालिकाले खडा गरेको ५० लाखको अक्षय कोषको वार्षिक ब्याजदर ४ प्रतिशत रकमले मात्र जात्रा धान्न नसकिने समितिले जनाएको छ ।

समितिका अध्यद्धिमान श्रेष्ठले बदलिँदो समयसंगै परम्परा र संस्कृति निरन्तरतामा कठिनाई थपिँदै गएको बताउनुभयो।
सो अवसरमा ललितपुर महानगरपालिकाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले महानगरपालिकाले खडा गरेको अक्षयकोषको ब्याज कुनै पनि जात्रा, पर्व र संस्कृति धान्नको लागि पर्याप्त नभएको उल्लेख गर्दै अक्षयकोषको प्रभावकारीतामाथि प्रश्न उठाउनुभयो।

वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ जात्रा,पर्वको सञ्चालनको समस्या र आवश्यकतालाई अक्षयकोषले सम्बोधन गर्न सकेको छैन। म यही मञ्चबाट अक्षयकोष सञ्चालनको कार्यविधि, र प्रभावकारी बनाउन मेयरलाई आग्रह गर्न चाहन्छौं ।’ उहाँले अक्षयकोषको औचित्य र प्रभावकारीतामाथि पुनःमूल्यांकन गर्न पनि मेयर चिरिबाबु महर्जनलाई पत्रकार सम्मेलनमा आग्रह गर्नुभयो।

लिच्छिविकालीन राजा बालार्चन देवले सञ्चालन गर्नुभएको सो पर्व हरेक वर्ष भर्दौ कृष्ण द्वितीया दिन हुने गर्दछ । यस वर्ष सो पर्व सञ्चालन गर्ने जिम्मेवारी क्षेत्र नं १ इलाका नकबहीको रहेको छ।