पत्नीको शरीर ११ टुक्रा पारेर गाड्ने पक्राउ


हेटौंडा। करिब २० वर्षकी पत्नी लक्ष्मी पाख्रिनलाई हत्या शरीर ११ टुक्रा पारेर बनमा गाडेको अभियोगमा पति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पालुङमा घटनास्थलतर्फ गएको प्रहरीले मंगलबार विहान करिब ४ बजे घटनाको प्रकृतिलाई सूक्ष्म तरिकाले अध्ययन गरी मकवानपुरको कैलाश गाउँपालिका वडा–५, कालीखोलास्थित काफलडाँडा बस्ने वर्ष २६ का पति मंगलबहादुर पाख्रिनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धान गर्ने क्रममा स्थानीय तथा मृतकका पतिलाई सोधपुछ गर्दा पतिले २७ गते दिउँसो करिब २ः३० बजे पत्नी लक्ष्मीलाई घरभित्र धारिलो हतियार बञ्चरो प्रहार गरी शवलाई ११ वटा टुक्रा पारेर २ वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा खाल्डो खनी गाडेको खुलेको थियो ।

मृतकका कपडाहरु शव गाडेको स्थान भन्दा केही पर बोरामा हालेर खाल्डो खनी गाडेको र घटनामा प्रयोग भएको धारिलो हतियार बञ्चरोको बिंड फुकाली घरभन्दा पूर्व खाल्डोमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ ।

मृतकको गाडिएको शव, घटनामा प्रयोग भएको हतियार बञ्चरो र कपडासमेत खाल्डोबाट बरामद गरी मंगलबहादुरलाई तत्काल पक्राउ गरेर बुधबार मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिन म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत कारण खुल्न नआए पनि पतिले लामो समयदेखि डिप्रेसनको औषधिसेवन गरिरहेको थाहा भएको छ । उनीहरुका १३ महिनाकी छोरी छन् ।