द एज ब्यान्ड : पुरानादेखि नयाँसम्मको प्यारो ब्यान्ड

0
Shares

पप संगीतमा चर्चित पुरानो ब्यान्डमध्ये एक द एज ब्यान्ड रक पप ब्यान्ड हो। ब्यान्डको नचाहेको होइन तिमीलाई, सम्झिने मुटु रेट्न पाए हुन्थ्योजस्ता गीत हालसम्म पनि युवामाझ चर्चित छन् । यो ब्यान्ड आजसम्म आफ्ना गीतसंगीत र कन्सर्टमार्फत दर्शकको मनमा राज गर्न सफल भइरहेको छ।

सन् १९९८ मा ६ जना पोखरेली युवाको जोश र जाँगरका साथ खुलेको ब्यान्डको पहिलो एल्बम मेरो आँशु सन् २००० मा निस्किएको थियो। सोही साल भोकलिस्ट जीवन गुरुङ ब्यान्डमा आबद्ध भएका थिए। सुरुवाती चरणमा विनय गुरुङ, रोशन गुरुङ, सुनील गुभाजु, सञ्जिव श्रेष्ठ, सोम गुरुङ, वसन्त शर्मा, रक्की तुलाचनलगायत सदस्य रहेको ब्यान्डमा हालसम्म आउने जानेको सदस्य लामै छ। हाल भोकलिस्ट जीवन गुरुङ, गिटारमा विष्णु गुरुङ, ड्रममा गणेश राई, बेस गिटारमा अमित गुरुङ र साउन्ड इन्जिनियर अरुण तण्डुकार गरी ५ सदस्यले ब्यान्ड हाँकिरहेका छन्। ब्यान्डले पहिलो एल्बम रिलिजको साललाई आफ्नो स्थापना वर्ष मानेर आगामी सन् २०२५ मा २५ औं एनिभर्सरी मनाउने तयारी गरेको छ। जसअन्तर्गत देश तथा विदेशका विभिन्न स्थानमा कन्सर्ट गर्ने योजना ब्यान्डले बनाएको छ। यहीअन्र्तगत ब्यान्डले द एज ब्यान्ड टुर २०२५ घोषणा गरेको छ।

सन् २००६ मा ब्यान्डको दोस्रो एल्बम भाइब्स सार्वजनिक भयो। २००६ मै गायक जीवन गुरुङ प्रस्तुतिका लागि जापान गएका थिए । त्यो समयमा कन्सर्टका लागि समूह नै जानु लगभग असम्भवजस्तै थियो। उनी ट्र्याक लिएर जान्थे र नेपाली गीत संगीत प्रस्तुति गरेर नेपालीको मन जितेर आउँथे।

सन् २०१२/१३ देखि भने ब्यान्डले विदेशमा कन्सर्ट गर्ने क्रम बढ्दै गर्दा द एज ब्यान्डले दुबई, अमेरिका, जापानलगायत विभिन्न देशमा सांगीतिक भ्रमण गरेको छ।

गायक जीवन गुरुङको परिवार उनी ब्रिटिश लाहुरे बनेको हेर्न चाहन्थ्यो। तर, उनको कलिलो हातले भने बन्दुकको साटो गिटार रोज्यो। जुन गिटारले उनलाई नेपालमा रोजाइको गायक बनाइदियो।

मेरो आँसु, नचाहेको होइन्, सम्झने मुटु, थाहा छैन, तिम्रो याद, कसरी, नछोड्नु यो साथ, यो साथजस्ता करिब दुई दर्जन चर्चित गीत सार्वजनिक गरेको ब्यान्डले पूर्वदेखि पश्चिमसम्म बुटवल भैरहवा, धरान, झापा, पोखरा स्याङ्जा, इटहरीजस्ता स्थानमा कन्सर्ट गरिसकेको छ।

२५ वर्षदेखि हालसम्म दर्शकलाई आफ्नो गीत संगीत र कन्सर्टमार्फत मन्त्रमूग्ध बनाइरहेको ब्यान्डका भोकलिस्ट जीवन आफ्नो गीतका प्यार्टनका लागि गरेको मिहिनेत, फ्यान फलोअर्सको माया कारण यो स्थानमा रहेको बताउँछन्।
अहिलेको जेनेरेसन लक्की छ ः भोकलिस्ट जीवन

अहिले पहिलाजस्तो एल्बम रिलिज गर्ने जमाना छैन। त्यो बेलाजस्तो एउटा एल्बमका लागि ५÷६ वर्ष मिहिनेत गर्नुपर्ने अवस्था पनि छैन। डिजिटल प्ल्याटफर्मका कारण केही समयमै भाइरल हुने जमाना छ। यो कारण अहिलेको जेनेरेसन लक्की छ। तर, त्यो बेलाका हाम्रा गीत अहिलेका दर्शकले पनि मन पराइरहनुभएको छ। अहिलेको कन्सर्टमा भाइबहिनी आउँदा खुसी लाग्छ। त्योबेला दाइ दिदीले सुन्ने गर्थे भने अहिले उनीहरूका भाइबहिनीले पनि हाम्रो गीत सुुन्छन्। हाम्रा गीतहरू एल्डरबाट जुनियरसम्म सेयररिङ भइरहेका छन्, हामीलाई मन पराएका छन्। यसमा हामी लक्की छाँ।

गीतसंगीत भनेको ५÷६ जना ब्यान्डका सदस्य मिलेर बनाउने हो। हामी पनि मिलेर अघि बढिरहेका थियाँै। मिल्दा मिल्दै पनि घरको स्थिति आआफ्नै आदि कारणले सबैले ब्यान्डमा एक साथ यात्रा गर्न सकिँदैन। यस्तोबेला एकअर्काको कन्भिन्समै स्याक्रिफाइज गर्ने गरिन्छ। यसैक्रममा कतिपय ब्यान्ड नै टुक्रिरहेका हुन्छन्। तर, अन्य साथीभाइलाई राखेर भए पनि हामीले ब्यान्डलाई टुटाएको छैनौँ ।

सँगै काम गरेका साथीभाइ ब्यान्डबाट छुटिँदा, बाहिरिँदा वा बिदेसिँदा नमिठो लाग्छ। तर, पनि ब्यान्डको काम रोक्नु भएन। हाम्रो टारगेट भनेको ब्यान्डलाई अघि लाने हो। केही नयाँ प्रोजेक्टका काम भइरहेको छन्।

भविष्यमा ब्यान्ड खोल्ने, गायनमा आउने सोचमा धेरैजना होलान्, कोही ट्राई गर्दै होलान्। आफूमा इच्छा छ भने समयमै आफ्नो कला सिपलाई देखाउनुपर्छ। जसले गर्दा पछि रिग्रेट फिल नहोस्। म्युजिक गर्दा मेन्टल्ली पोजेटिभ फिल हुन्छ, यो मेडिटेसनजस्तै हो ।