रमेश खरेलले मेरो चरित्रहत्या गर्न लागि परे : कुलमान घिसिङ

9.4k
Shares

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्वडीआईजी रमेश खरेलद्वारा आफूमाथि लगाइएको आरोप भ्रामक रहेको भन्दै खरेल आफू र आफ्नो परिवारको चरित्र हत्या गर्न लागि परेको बताएका छन् ।


बुधबार विज्ञप्ति जारी गर्र्दै घिसिङले पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्य मान्यता र आचारसंहितको ठाडो उल्लङ्घन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरु (मुख्य रुपमा दाइ र भाइ) को चरित्र हत्या, मान प्रतिष्ठा र छविमा आघात पु¥याउने उद्देश्यले कसैको उक्साहटमा काम गरिरहेको जनाएका छन् ।

‘सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका काम कारबाही सार्वजनिक चासोका विषयहरु हुन्छन् । त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुन्छन् । आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक हो ।

आफूले आफ्नो पदीय दुरुपयोग गरी दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको उल्लेख गर्दै यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने छन् ।’ कुलमानद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।’

कुलमानद्वारा जारी विज्ञप्ति यस्तो छ

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले एन्टी करप्सन नेटवर्ककातर्फबाट २०८१ साउन २९ गते सामाजिक सञ्जालमार्फत मेराविरुद्ध सुनियोजित रुपमा दूषित मनसायका साथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

खरेलबाट मेरा बिरुद्ध कुनै एक टेलिभिजनमार्फत निहीत स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटक पटक सम्प्रेषण भइरहेको थियो । पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्य मान्यता र आचारसंहितको ठाडो उल्लङ्घन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरु (मुख्य रुपमा दाइ र भाइ) को चरित्र हत्या, मान प्रतिष्ठा र छविमा आघात पु¥याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको थियो र छ ।

स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहेता पनि निज खरेलबाट मेरा विरुद्धमा आफैं न्यायिक निकाय जस्तो बनी दोषी करार गर्नु निन्दनीय छ । सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका काम कारबाही सार्वजनिक चासोका विषयहरु हुन्छन् र त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुन्छन् ।

आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनविज्ञ छैन । उजुरी दर्ता गर्ना साथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आपूm चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निज खरेलबाट निहीत स्वार्थका साथ यस्ता कामहरु भइरहेका थिए र छन् ।

अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमान्दारीपूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु ।

यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन् । नेपालको संविधान तथा प्रचलित कानूनको परिधिभित्र रहेर निष्ठा साथ दिन रात एवम् आफ्नो व्यक्तिगत जीवनलाई समेत प्रवाह नगरी अहोरात्र खटी सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताका साथ पूरा गरिरहेको छु । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयका साथ लगाइएका आरोपहरुको खण्डन गर्दछु ।

यस्ता आरोपको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु ।प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेराविरुद्धमा सुनियोजित रुपमा लागिरहेका छन् । प्रचलित सार्वजनिक खरिद कानूनबमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पिपिए) रअन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ ।

जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत व्यापार विस्तार गर्ने बाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु ।

नेपालविद्युतप्राधिकरणका हरेक कामकारबाहीहरु पारदर्शी रुपमा भइरहेका छन् । र,अझै पारदर्शी रुपमा अगाडि बढाइने छ । ऊर्जा क्षेत्रका योजनाहरु कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रुपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने यसै प्रतिबद्धता जनाउँदछु ।

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण