संक्रमणकालीन न्यायमा फड्के किनारामा बस्दैनौं : सभापति लामिछाने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन न्यायमा आफ्नो पार्टी फड्के किनारामा साक्षी नबस्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका छन् ।

‘संक्रमणकालीन न्यायमा हाम्रो सधैँ सहयोग रहनेछ । सहयोग गर्छौं भन्नुको अर्थ फड्के किनाराको साक्षी हुन्छौं भन्न खोजेको अवश्य होइन,’ लामिछानेले भने, ‘सम्मानित सदनको चौथो शक्ति भएको कर्तव्य र दायित्व हामीलाई असाध्यै थाहा छ ।’

उनले सरकारसहित सबै राजनीतिक दललाई हाम्रो उपस्थिति नजरअन्दाज नगर्न आग्रह गरेका छन् । संक्रमणकालीन न्यायको पर्खाइमा रहेका सबै पीडितलाई राहत दिन सबैसँग सहकार्य गर्न तयार रहेको लामिछानेले प्रतिबद्धता गरे । तर न्याय प्रणालीमा केही चुनौती रहेको पनि बताए ।