बढ्दो युवा पलायन किन रोकिँदैन ?

1.6k
Shares

लक्ष्मण अधिकारी

हुन त नेपाली समाज पनि आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेश गरिसक्यो, तर पनि कुनै महत्वपूर्ण काम गर्नुपर्दा साइत हेराउने र बिहान पत्रिकाको राशिफल हेरेर दिनको कार्ययोजना बनाउने मध्ययुगीन सोचबाट हामी मुक्त हुन सकेका छैनौँ । अर्थात् संसारमा विकसित उच्चतम प्रविधिको प्रयोग सँगसँगै भाग्यवाद एवं ज्योतिषी विद्याप्रतिको भरोसाबाट आजको जेन जी पुस्ता पनि मुक्त हुन सकेको देखिँदैन।

अहिले स्कुल शिक्षा पूरा नहुँदै विदेश जान तयारी गर्नेहरूको झुण्ड जति ठूलो छ, स्वदेशमै विश्वविद्यालयको अध्ययन सकेर जागिरका लागि भौंतारिनेहरूको समूह पनि त्योभन्दा सानो पक्कै छैन। कलेजको अध्ययन सकेर स्वदेशमा नै केही गर्न चाहनेलाई पनि प्रोत्साहन गर्न सक्ने वातावरण बन्न सकेको छैन।

अर्कोतिर वर्तमान शिक्षा प्रणालीले आफैँ रोजगारी सिर्जना गर्न सक्ने दक्षता र सीप दिन सकेको देखिँदैन। यसले गर्दा ठूलो खर्च गरेर स्कुल र विश्वविद्यालयमा पन्ध्र सोह्र वर्ष बिताएपछि पनि अब के व्यवसाय गरौँ ? कुन पत्थर लगायो भने रोजगारी मिल्छ, व्यवसायमा सफलता मिल्ला ? भनेर ज्योतिषीकहाँ सोध्न जाने प्रचलन छ । त्यो भनेको व्यक्तिको आफ्नो काबिलियतप्रतिको अविश्वास र वर्तमान शिक्षा प्रणालीको असफलता पनि हो।


वर्तमान समयमा शिक्षा प्रणालीलाई पुनः परिभाषित गर्न आवश्यक छ। विज्ञान र प्रविधिको प्रगति, समाजको बदलिँदो आवश्यकता र विश्वव्यापीकरणको परिस्थितिमा शिक्षा प्रणालीलाई नयाँ आयाम दिन आवश्यक छ। विश्वमा समाजका हरेक गतिविधि प्रविधिले सञ्चालन गर्न थालेको वर्तमान डिजिटल युगमा अनलाइन शिक्षणको माध्यमले शिक्षालाई अझ सुलभ र प्रभावकारी बनाउन सकिन्छ।

इन्टरनेट प्रविधिको प्रयोगले विद्यार्थीहरूले घरमै बसेर पनि विश्वको गुणस्तरीय शिक्षा लिन सकिने युगमा शिक्षा प्राप्तिका लागि ठूलो रकम र जोखिम व्यहोरेर विदेशिनु युक्तिसंगत देखिँदैन । तर, यसका लागि राज्यले उपयुक्त वातावरण सिर्जना नगरिदिँदा युवा पलायनको वेग उर्लिंदै गएको छ ।

मुलुकमा एकातिर बढ्दो भ्रष्टाचार, अक्षम र असफलाता उन्मुख राज्य प्रणाली, भाइचारावाद र वृद्धहरूले कब्जा गरेर थिलथिलो पारेको दिशाहीन राजनीति छ । अर्कोतिर उत्पादन भन्दा आयतलाई प्राथमिकता दिने अर्थ व्यवस्था र चाउरिँदै गएको रोजगार प्रणालीका कारण शिक्षामा गरेको लगानी बालुवामा पानी बराबर हुँदै गएको छ।

यसकै कारण आफ्नो भविष्य अन्धकार र असुरक्षित देखेर किशोरकिशोरीको ठूलो समूह स्कुल शिक्षा पूरा गर्नासाथ सुरक्षित भविष्यको खोजीमा विदेश पलायन भइरहेका छन्। यसरी विदेश पलायन हुनेहरूले भोग्नुपरेका मानसिक, आर्थिक, भाषिक, सामाजिक, सांस्कृतिक र आप्रवासी विभेदको पीडाको फेहरिस्त निकै लामो हुन्छ। अझ योभन्दा डरलाग्दो कुरा किशोरावस्थामा विदेशिएकाहरूमध्ये अधिकांश उतै स्थायी रूपमा पलायन हुने प्रवृत्ति हो । यसले आफ्नो मुलुकको भविष्य निर्माण गर्ने जनशक्तिको ठूलो समूह क्षीण गराइरहेको छ।

वर्षेनी झन्डै एक लाख किशोरकिशोरीले विदेश पढ्नका लागि शिक्षा मन्त्रालयबाट सहमति पत्र लिइरहेका छन् । उनीहरूलाई स्वदेशमै पढ्न र रोजगारी गर्न प्रोत्साहित गर्ने किसिमको वातावरण राज्यले निर्माण गर्न नसक्दा एकातिर देशको भविष्य निर्माण गर्ने युवा जनशक्ति राष्ट्रले गुमाइरहेको छ भने अर्कोतिर शिक्षा क्षेत्रमा राज्य र निजी क्षेत्रबाट भएको ठूलो लगानी खेर गइरहेको छ। विगतमा भरिभराउ हुने कलेज र विश्वविद्यालयका कोठा र चौरहरू अहिले पातलिँदै जानुको कारण र समाधान खोज्न राज्य अझै जुर्मुराएको देखिँदैन ।

यस्तै, गरेर अहिले वर्षेनी साढे सात लाखभन्दा बढी युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । उनीहरूले विदेशमा भोग्नुपरेको शारीरिक, आर्थिक शोषण, मानसिक, सामाजिक, भाषिक र सांस्कृतिक पीडाको लेखाजोखा गरिसाध्य छैन।
एकातिर हाम्रा युवाहरू विदशिने र उतै पलायन हुने प्रवृत्ति बढ्दो छ भने अर्कोतिर खुला सिमानाबाट विदेशीहरू नेपाल भित्रिने र रोजगारी, व्यापार र अरू व्यवसायमा हाबी हुँदै नागरिकता हत्याएर देशको अर्थतन्त्र र राजनीतिमा पक्कड जमाउँदै जाने प्रवृत्ति निकै खतरनाक रूपमा वृद्धि हुँदै गएकाले आम नेपालीलाई चिन्तित तुल्याएको छ ।

यसमा सबैभन्दा बढी राज्य चिन्तित हुनुपर्ने हो, तर राज्य एवं राजनीतिक दलहरू यस विषयमा उति गम्भीर देखिँदैनन्। राजनीतिक दल र राज्यमा सधैं आफू मात्र हालिमुहाली गरिरहन युवा शक्तिको विदेश पलायनप्रति राजनीतिक नेतृत्व र राज्य उदासीन हुँदै गएको हो कि भन्ने प्रश्नहरू पनि उब्जिएका छन्।