बिहे भाको छैन रे कुमारी नि होइन रे

0
Shares

‘एउटा थियो राजा, एउटी थिइन् रानी। यो अद्भूत जोडीको प्रेमकहानी।’ माग्ने बुढा केदारप्रसाद घिमिरेको मीठो आवाजसँगै नामले सुपरहिट सिक्वेल फिल्म छक्का पञ्जा–५ को गीत सोमबार सार्वजनिक गरिएको छ।

बिहे भाको छैन बोलको गीत ओएसआर युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो। दीपक शर्माको संगीत रहेकोे गीत सविन सुवेदी र बेनिशा पौडेलले गाएका छन् भने गीतको भिडियोमा फिल्मका दुई शीर्ष कलाकार दीपकराज गिरी र वर्षा शिवाकोटीका साथमा माग्ने बुढा केदारप्रसाद घिमिरेलाई फिचर्ड गरिएको छ।

विवाहका लागि केटाले केटीलाई फकाउन गरेको प्रयत्न देखाइएको गीत चाडबाड र भोजको रमाइलो पृष्ठभूमिमा खिचिएको छ। गीतको भिडियोमा दीपकराज गिरीलाई दोहोरो भूमिकामा समेत देखाइएको छ। दीपकराज गिरी र दीपक शर्माले संयुक्तरूपमा रचना गरेको गीतले भन्छ
बिहे भाको छैन म, कुमारी पनि छैन म।
मरिहत्ते धेरै गर्छन् कसैको नि भइनम
धानको बाला झर्ला कि नझर्ला, यही हो केटी मन पर्ला नपर्ला।

डान्सिङ बिटमा तयार पारिएको गीतको भिडियो सुनील क्षेत्रीले कोेरियोग्राफी गरेका छन्। गीतबारे आफ्नो आवाजबाट बुझाएका माग्ने बुढा केदारप्रसाद घिमिरेले गीतको अन्त्यमा फिल्मको रिलिज डेट घोषणा गर्छन्– ‘यस्तै छ राजा, यस्तै छिन् रानी। असोज २४ मा बाँकी कहानी।’ गीत मंगलबार साँझसम्म आठ लाख बढीले हेरिसकेका छन्।

आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्माणाधीन फिल्म दीपाश्री निरौलाले निर्देशन गरेकी छन्। केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा कथा र संवाद दीपकराज गिरी, केदारप्रसाद घिमिरे र दिलीप तामाङ, पटकथा दीपकराज गिरी, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायांकन उत्तम हुमागाईं र सम्पादन विपीन मल्लको रहेको छ।