नक्कली भिसा बनाएर करोडौं ठगी

11.66k
Shares

काभ्रे

वैदेशिक रोजगारमा लैजान न्युजिल्यान्डको होटलमा वेटर काम गर्ने भन्दै नक्कली भिसा र टिकट बनाएर ठगेको भन्दै सुनसरीका अजय चौधरी र काभ्रेका बुद्ध लामाविरुद्ध वैदेशिक रोजगार, अपराध अनुसन्धान विभाग र जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पीडितहरुले उजुरी दिएका छन् ।

चौधरी र काभ्रेपलाञ्चोकका रोशी गाउँपालिका–६ साविक सिपाली चिलाउने गाविस ६ लेखपानी टोलका लामाले दर्जनौं व्यक्तिमार्फत नक्कली भिसा बनाउँदै करोडौं रकम असुल गरी ठगेको उजुरीमा उल्लेख गरिएको छ । नक्कली कागजात बनाउने चौधरी फरार छन् । उनीहरूले रोशी गाउँपालिका साविक सिपाली गाविस ६ घर भएका मिलन लामा लगायतका ३५ जनाभन्दा धेरैलाई प्रतिव्यक्ति ७ देखि १५ लाख रुपियाँसम्म लिएको उजुरीमा उल्लेख गरिएको छ ।

‘२०८० जेठ महिनादेखि नै मेरो आफ्नै गाउँका चिनेजानेका बुद्ध लामाले तिमीलाई वर्किङ भिसामा न्युजिल्यान्ड जान सजिलो हुन्छ । अजय चौधरीले चिनेकाले राहदानीसहितका कागजात उपलब्ध गराउँदा फरक पर्दैन भनेर विश्वास दिलाए’, पीडित मिलन लामाले भने– ‘म लगायत गाउँका अन्य केही र विभिन्न जिल्लाका व्यक्तिहरुले उनकै विश्वासमा न्युजिल्यान्ड जाने प्रयोजनका लागि रकम बुझाएका हौं । मैले पहिलो किस्ताबापत ७ लाख रुपियाँ बुद्ध लामाको सानिमा विकास बैंकको खातामा २०८० असार ५ गते जम्मा गरिदिएँ ।’

मिलनले दिनुपर्ने साढे १६ लाखमध्ये बाँकी रकम न्युजिल्यान्ड जाने दिनमा भुक्तानी गर्ने मौखिक सहमति भएको थियो । मिलनबाहेक अधिकांशले १४ लाखभन्दा धेरै रकम चौधरीलाई बुझाएका थिए । मिलनका अनुसार चौधरीलाई व्यक्तिहरु भेटाउने र जमानी बस्ने कार्य बुद्धले गर्दै आएका थिए ।

२०८० साल असार १५ गते न्युजिल्यान्ड उडाउने भन्दै चौधरीको समूहले नक्कली भिसा र टिकट सबैलाई उपलब्ध गराएको थियो । २०८१ असार १४ गते राति तत्कालका लागि २०८१ भदौ १५ गतेसम्मका लागि टिकट सरेको भने । ‘जब उनीहरुले मिति पर सारे तब हामीलाई शंका लाग्यो’, पीडित मिलनले भने– ‘न्युजिल्यान्डमा भएका साथीहरुलाई सबै कागजात पठाएर बुझ्दा थाहा भयो बुद्ध लामा र अजय चौधरीले बनाएका सबै कागजात नक्कली रहेछन् ।’

न्युजिल्याण्डको लेक हवाए होटलमा वेटर पदमा मासिक २ हजार ४ सय डलर हुने गरी पठाउने भन्दै कागजात दिएका थिए । उनीहरुले उक्त होटलका सबै कागजात नक्कली बनाएका थिए । पीडितहरुले पटक–पटक भेट्ने प्रयत्न गर्दा पनि सम्पर्कमा नआउने र वर्किङ नभए भिजिट भिसामा पठाउने भन्दै ढाँट्दै गरेको मिलनको भनाइ छ । केही पीडितले वैदेशिक रोजगार विभाग, जिल्ला अदालत काभ्रेपलाञ्चोक र प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको महिनौं भइसक्यो । तर, पनि सुनुवाइ हुन सकेको छैन ।

सानिमा विकास बैंकले वैदेशिक रोजगार विभागलाई मिलन लामाले उनको खातामा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि जम्मा गरेको रकमको बैंक भौचरसहित उपलब्ध गराएको छ । प्रहरीले अनुसन्धान समेत नगरेको पीडितहरुको गुनासो छ । आरोपित बुद्ध लामाले भने आफूले कसैलाई नठगेको बताएका छन्।

‘मैले अजय चौधरीलाई चिनेको हुँ । चिनेकै आधारमा मिलन लगायतलाई अजय चौधरीका बारेमा बताएको हुँ । नक्कली कागजात अजय चौधरीले बनाएका रहेछन्’, आरोपित लामा भन्छन्– ‘मैले वैदेशिक रोजगारका नाममा ठगी गरेको छैन र होइन । गाउँकै भाइहरु पठाएर मैले किन ठग्नु ? मिलनको नामबाट मेरो खातामा जम्मा भएको पैसामध्ये केही फिर्ता गरेको छु । ‘मिलनसँग लिएको ७ लाख रकम फिर्ता गर्न तयार छु । ३ लाख फिर्ता गरिसकेको छु ।’