कामपाद्वारा २९ प्रकारको फोहोर खरिद बिक्री खुला

1.79k
Shares


–सबैभन्दा महँगो तामाको सामान
–कामपाको बन्चरेमा १० प्रतिशत मात्र फोहोर लैजाने योजना
–ल्यान्डफिल साइटमा कामपाको फोहोर शून्यमा झार्ने योजना
–कामपामा मात्र लागु

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले २९ प्रकारको सुख्खा फोहोरमैलाको दररेट जारी गरेको छ । महानगरपालिकाले पहिलोपटक सुख्खा फोहोरको दररेट जारी गरेको हो। कामपाले अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न स्थानीय कानुन जारी गरी सुख्खा फोहोरको खरिद र बिक्रीसम्बन्धी दररेट जारी गरेको हो।

कामपा आर्थिक ऐन २०८१ मा राजस्व संकलन गर्न २९ प्रकारका सुख्खा फोहोरमा दररेट तोकेको हो । कामपाले यो महिनाबाट फोहोरको रकम तोकेको हो। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले चालू आर्थिक वर्षबाट सुख्खा फोहोरको दररेट कायम गरेको बताउनुभयो।

कामपा क्षेत्रबाट दैनिक रूपमा संकलन हुने फोहोरमैला र अन्य पालिकाहरूबाट बन्चरेडाँडामा विसर्जन हुने नगन्य फोहोर मैलाबाट पुनः चक्रीय प्रयोगमा आउने पृथकीकरण भएको फोहोरको खरिद एवं बिक्री शुल्क कायम गरेको हो । स्थानीय राजपत्रमा जारी सूचनाअनुसार कामपाले टेकु ट्रान्सफर्मर स्टेसनमा वर्गीकरण गरेको फोहोर बिक्री गर्नका लागि यो व्यवस्था गरेको हो । आर्थिक ऐनमा खरिदको विषय उठान भए पनि हालसम्म कुनै कम्पनी र व्यक्तिसँग किन्ने काम भएको छैन ।
कामपाले सबै प्रकारको सुख्खा फोहोर खरिद गरेको झन्डै ५० प्रतिशत बढी शुल्कमा फोहोर बिक्री गर्ने गरेको छ । ऐनमा हाइ क्वालिटीको प्लास्टिक प्रतिकिलो ४ रुपियाँ ६८ पैसामा खरिद गरेर ९ रुपियाँ ९५ पैसामा बिक्री गर्ने व्यवस्था गरेको छ । कम गुणस्तरको क्वालिटीको प्लास्टिक ८ रुपियाँ ५० पैसामा किनेर १७ रुपियाँमा बिक्री हुनेछ । पेय पदार्थको पेट बोटल १४ रुपियाँमा खरिद गरी २८ रुपियाँमा बिक्री गर्ने गरी दररेट तोकेको छ ।

दररेटअनुसार सबैभन्दा बढी तामाको सामाग्रीको बिक्री रकम तोकेको छ । तामाको सामग्री प्रतिकिलो ३ सय १८ रुपियाँ ७५ पैसामा खरिद गरेर ६ सय ३७ रुपियाँ ५० पैसामा बिक्री गर्ने गरी रेट तोकेको छ । ९१ रुपियाँमा खरिद गर्ने आल्मुनियम १ सय ८२ रुपियाँमा बिक्री गर्ने, २ सय १२ रुपियाँ खरिद गर्ने गरी दर कायम गरेको ब्रास ४ सय २५ रुपियाँ बिक्री हुनेछ ।
कामपाले बिक्री गर्ने वस्तुहरुमा कडा प्लास्टिक कचरा, प्लास्टिक गुडिया, कार्टुन, मिक्स पेपर, कपी, किताब, न्युज पेपर, बियर बोतल, वाइनको सेतो बोतल, रंगीन बोतल, टिन, कम गुणस्तरको फलाम, उच्च कोटीको फलाम क्यान, कपडा, तेल, पुरानो टायर, मोबिल, क्रेट, कुर्सी, सुख्खा फोहोर, अण्डाको क्रेट र रबर रहेका छन् ।

कामपाका प्रवक्ता नवीन मानन्धरले यो दररेट कामपाको मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले सबै प्रकारको फोहोर बिक्री गर्ने गरी रेट जारी गरेका हौं, यही अनुसार बिक्री भएमा कामपाको फोहोर करिब १० प्रतिशत मात्र बन्चरेमा जान्छ। ल्यान्डफिल साइटमा शून्य फोहोर लैजाने नीतिअनुसार कामपाले २९ प्रकारको फोहोरमैला खरिद बिक्री शुरू गरेका हौं ।’
कामपाले फोहोरमैला खरिद बिक्रीसँगै जडिबुटी, कवाडी र मृत जीवजन्तुको शुल्क संकलन गर्न शुरू गरेको छ । जसअनुसार १६ प्रकारका कवाडी मालसामान र ५ प्रकारका मृत जीवजन्तु र अन्य सामान रहेका छन् ।