दोलखा जिल्ला भन्नासाथ आजकल कालिञ्चोक र भीमेश्वर पर्यायवाची भएर आउँछन् । यहाँका चरिकोट, जिरी, शैलुङजस्ता पर्यटकीय क्षेत्रसँग पनि अधिकांश मानिस परिचित छन् । तर दोलखा यति मात्र होइन, दोलखा बुझ्न यतिले पर्याप्त हुँदैन । यी पर्यटकीय स्थललाई प्रवेशद्वार बनाएर दोलखाभित्र पस्ने हो भने दोलखामा अचम्म लाग्ने विषय छन्, तथ्यहरु छन्, ठाउँ छन् । जसले लेखक, दर्शक, पाठक, पर्यटकलाई रोमाञ्चित बनाउँछन् । दोलखाभित्रका यस्ता गहन विषयको जानकारी दिन्छ, प्रा. अमन श्रेष्ठको ‘दोलखा परिचय’ पुस्तकले ।
हुन त दोलखाको बारेमा यसअगाडि पनि दोलखाको ऐतिहासिक रुपरेखा, दोलखा दर्पण, दोलखाको साहित्य, दोलखासन्देशलगायत दोलखासम्बद्ध विभिन्न विषयकेन्द्रित कृति प्रकाशन नभएका होइनन् । दोलखा जिल्लाभित्रका विभिन्न विषयगत अनुसन्धान र फुटकर लेखनको फेहरिस्त पनि लामै छ । दोलखासम्बद्ध ती कृतिहरुमा भएको अपूर्णतालाई थप पूर्ण बनाउने र दोलखालाई गहनरुपमा चिनाउने काम ‘दोलखा परिचय’ले गरेको छ ।
विश्व भ्रमणमा निस्केको जोगी दुई लाखपटक घुम्दा पनि सोही ठाउँ (दोलखा) मा पुग्दा दोलाखाबाट दोलखा बेनेको होस् वा ढुङ्गाका घर र मन्दिरहरु भएको कारण दोलखा भएको किन नहोस् अथवा दोल्ती खोलाको शिर भएकाले दोलखा भनिएको होस्, जुनसुकै कारणबाट नामाकरण भएको भए तापनि समसामयिक सन्दर्भमा दोलखाको बारेमा नाम नसुन्ने नेपाली नहोलान् । नेपालका पहाडी जिल्लामध्येमा अत्यन्त सुन्दर पहाडकी रानी भन्न सकिने दोलखा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । त्यसो त विगतमा सगरमाथाको प्रवेशद्वारको रुपमा समेत दोलखाले चर्चा कमाएको थियो । विदेशी पर्यटकको गन्तव्य बनेको दोलखामा आज पनि विदेशी पर्यटकहरुको रुचि घटेको छैन ।
केही अनौठा जानकारी :
‘दोलखा परिचय’ पुस्तकमा दोलखासँग सम्बन्धित केही अनौठा जानकारी छन् । दोलखाबासीका लागि नयाँ र अनौठा नभए पनि अन्य पाठकहरुका लागि यी अनौठा विषय हुन् । यस्ता विषयहरुले पाठकलाई रोमाञ्चित र थप जिज्ञासु बनाउँछन् । जस्तैः
-विजया दशमीको दिन दोलखाको त्रिपुरासुन्दरी (देवीकोट) मन्दिरमा दुई थामीहरुले राँगाको रगत पिउनुका साथै शरीरमा रगतको दाग लगाई काँप्दै हिँड्ने चलन छ । जसलाई हिपा थामी जात्रा भनिन्छ (पेज २७६) ।
-कालिञ्चोक भगवतीको बारेमा त सबैले सुनेको हो, तर उनका दिदीबहिनीको बारेमा धेरैले नसुनेको हुन सक्छ । अझ भगवतीका २७ दिदीबहिनीमध्ये १० दोलखामा भएको र बाँकी १७ दिदीबहिनी उपत्यकामा रहेको पौराणिक कथा पक्कै धेरैको जानकारीमा छैन । (पेज ३४३) यसबाट के पनि प्रस्ट हुन्छ भने, उपत्यकाका शक्तिपीठहरुको दर्शन गर्दा दोलखामा नपुगी शक्तिपीठको दर्शन पूरा नहुने रहेछ ।
-भीमेश्वरलाई एक शिला तीन अवतार भनिन्छ । एउटै शिलामा भीमसेन, शिव र भगवतीको अंश कसरी रहन गयो ? द्वापर युगमा किच्चक र कौरव बध गर्न भीमसेनले महादेव र भगवतीको स्तुति गर्दा रुद्र र भगवतीको अंशसमेत भीमसेनमा समाहित भई भीमेश्वर हुन पुगेको रोचक कथा (पेज ३६९) यस पुस्तकमा रहेको छ ।
– देशमा विपद् आउनुपूर्व पसिना काढेर पूर्वसङ्केत गर्ने भीमसेनको जिल्ला हो दोलखा (पेज ३८१) । हाम्रा कुकर्मले भगवान् क्रूद्ध बनेको संकेतस्वरुप पसिना काढेको भन्ने अध्येताहरु भन्छन् ।
के अर्थमा फरक छ त दोलखा ? :
नेपालका ७७ जिल्लाको सबैका आ–आफ्नै विशेषता छन् । त्यसमध्ये दोलखा जिल्ला के अर्थमा फरक छ ? ‘दोलखा परिचय’ पुस्तकमा केही तथ्यहरु छन्, जसले दोलखालाई अन्य जिल्लाभन्दा फरकरुपमा चिनाउँछन् । जस्तै :
-दोलखाका राजा इन्द्रसिंह देवले काठमाडौँका राजा महिन्द्र मल्लले भन्दा अगाडि नै वि.सं. १६०५ मा चाँदीको मुद्रा प्रचलनमा ल्याएका थिए ।
-दक्षिण एसियामा नै सबैभन्दा अग्लो ठाउँमा रहेको च्छोरोल्पा हिमताल दोलखामा रहेको छ ।
-हाम्रो देशको समय निर्धारण गर्ने गौरीशंकर हिमाल दोलखामा रहेको छ ।
-खरिढुंगाजस्तो एकमात्र म्याग्नेसाइटको खानी (जो अहिले बन्द छ) दोलखामा छ ।
-थामी, सुरेल, जिरेलजस्ता विशेष जातिको उत्पत्ति र प्रमुख बसोबासस्थल दोलखा नै हो ।
-दोेलखालाई हिमआरोहीहरुको जिल्ला पनि भनिन्छ ।
नयाँ विषयको उठान :
‘दोलखा परिचय’ पुस्तकले केही नयाँ विषयवस्तुको उठान गरेको छ । यसतर्फ थप अध्ययन हुनुपर्नेतर्फ लेखकको संकेत देखिन्छ । जस्तै :
-दोलखाको अस्तित्व पौराणिक कालदेखि नै रहेको थियो ।
-पाँच पाण्डवले वनबास, गुप्तबास बस्दा बोलेको भाषा नै दोलखाको नेवारी भाषा हो ।
-मञ्जुश्री तिब्बतबाट उपत्यका प्रवेश गर्दा दोलखाको बाटो हुँदै प्रवेश गरेको हुन सक्छ ।
-प्राचीन कालमा दोलखा उत्तरमा तिब्बत र दक्षिणमा भारतसम्म व्यापार गर्ने व्यापारिक केन्द्र रहेको थियो ।
– उपत्यकाका मल्लहरु पनि दोलखाबाटै आएका हुन सक्छन् ।
-नेपालको सभ्यताको इतिहास नै दोलखाबाट शुरु भएको हुन सक्छ ।
यसरी दोलखा परिचय पुस्तकले केही ऐतिहासिक पक्षको उजागर गरेको छ भने केही अनौठा जानकारीहरु समेटेको छ । केही अन्यत्र नभएका फरक तथ्यहरुको वर्णन गरेको छ भने केही नयाँ विषयहरुलाई बहसको विषयवस्तुको रुपमा अगाडि सारेको छ।
दोलखाको परिचय पुस्तक दोलखाको सामान्य परिचय, राजनीतिक इतिहास, समाजिक जनजीवन, धार्मिक तथा सांस्कृतिक सम्पदा र अभिलेख गरी पाँच खण्डमा विभाजित छ । दोलखा जिल्लाको भौगोलिक अवस्था, यहाँका बासिन्दाको जनजीवन, दोलखाका प्रमुख स्थानहरु, स्वतन्त्र दोलखा राज्यको राजनीतिक इतिहास, जिल्लाका मठमन्दिर र जात्रापर्व आदिमा पुस्तक केन्द्रित देखिन्छ ।
दोलखामा के छैन, जो अन्यत्र छ । तर दोलखामा जे छ, त्यो अन्यत्र छैन । त्यसैले त दोलखालाई साँच्चिकै दोलखाजस्तो भन्न यस पुस्तकले बाध्य बनाउँछ । दोलखाको सुुन्दरता र विविधताको तुलना मात्र दोलखासँग मात्र हुन सक्छ । अन्यसँग सक्दैन भन्ने कुरा पुस्तकमा वर्णित विविध विषयले प्रस्ट पारेका छन् ।
प्राचीन दोलखा बजारलाई अभयपुर भनिन्छ । भीमेश्वर संरक्षित क्षेत्र भएकोले भयरहित राज्यको रुपमा अभयपुरलाई व्याख्या गरिएको छ । यस पुस्तकको ठूलो अंश ऐतिहासिक दोलखा खासगरी दोलखा बजारमा केन्द्रित भएकाले आगामी संस्करणहरुमा समग्र दोलखाका थप गतिविधिलाई समेत समेट्नुपर्ने कुरा अपेक्षित देखिन्छ । तथापि यसरुपमा भए पनि समग्र दोलखालाई चिनाउने दोलखाका धर्तीपुत्र अमन श्रेष्ठको प्रयास स्तुत्य छ । यस्ता अध्ययन अनुसन्धानका कार्य राज्यले गराउनुपर्ने हो । राज्यका निकायले गर्नुपर्ने कार्य व्यक्तिगत प्रयासमा गर्नु त्यति सजिलो थिएन । तर श्रमको परिणाम सफलता प्राप्त भएको छ । हाम्रो इतिहास लेखनको शैली परम्परागत र विवरणात्मक बढी हुन्छ । आगामी दिनमा आलोचनात्मक, समालोचनात्मक शैलीतर्फ पनि प्राध्यापक श्रेष्ठको कलम चलोस् ।
यस प्रकारका अध्ययन–अनुसन्धान गर्नु/गराउनु र प्रकाशन गर्नु जिल्लास्थित सरकारी निकाय र संघसंस्थाहरुको कर्तव्य हुन जान्छ । संस्थागतरुपमा यो कार्य गर्न सकेको भए जिल्लाको बारेमा अझ योभन्दा विस्तृत अध्ययन हुन सक्ने थियो । तर अध्ययन, अनुसन्धान र प्राज्ञिक विषयलाई बेवास्ता गर्ने र उदासीन हुने राष्ट्रका अगुवाको सोच भने विडम्बनापूर्ण छ । आजको युगमा विकास भनेको डोजरले पाखो लडाउनु र भ्यूटावर ठड्याउनु मात्र होइन, कला, साहित्य, संस्कृति, इतिहास, अध्ययन–अनुसन्धानको प्रवद्र्धन पनि हो । कला, साहित्य र संस्कृतिको विकास नै सभ्य समाजको द्योतक पनि हो भन्ने कुरामा आगामी दिनमा राज्यका निकायहरुको ध्यान जाओस् ।
प्रतिक्रिया