प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने


काठमाडौँ ।

 सञ्चार क्षेत्रको प्रवर्धन र प्रभावकारिताका लागि प्रेस काउन्सिल नेपालले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने भएको छ । 
हरेक क्षेत्रमा नकारात्मकता छाएको र सामाजिक सञ्जालले त्यसमा मलजल गरेको निष्कर्ष साथ काउन्सिलले फरक धारको पत्रकारिताका लागि विभिन्न काम गरिरहेको जानकारी दिएको हो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशा जगाई हरेक काममा प्रभावकारिता ल्याउन फरक धारको पत्रकारिता जरुरी भएको बताए  ।

विभिन्न लेखक एवं सञ्चारकर्मीहरुसँग सोमबार काउन्सिलमा भएको अन्तर्क्रियामा अध्यक्ष बस्नेतले भने, ‘हरेक क्षेत्र, व्यक्ति, संस्था असफल भएको भाष्य निर्माण गर्न जानीनजानी मिडिया क्षेत्र पनि लागेको देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । यो बेला मिडियाले रचनात्मक र सृजनात्मक पत्रकारिता गरी गलत भाष्यलाई चिर्नुपर्ने जरुरी भएको छ ।’ 

अध्यक्ष बस्नेतले समाजमा देखिएका बेथिति र समस्यालाई प्रश्न उठाउनुपर्ने र पत्रकारले त्यसमा समाधानका विकल्पहरु समेत औँल्याउनुपर्ने सुझाव दिए । 
‘अब यो भएन, त्यो भएन भन्ने प्रश्न मात्र त सामाजिक सञ्जालबाटै आम मानिसले उठाउन सक्छन् । सञ्चारकर्मीले त्यो भन्दा माथि उठी, रचनात्मक भई समाधनका विकल्पहरु पस्किनुपर्छ । सबैतिर नकारात्मकता र नैराश्यता पक्कै छैन । आशाको बाटो डोर्‍याउने काम समेत पत्रकारिताको हो’।  अध्यक्ष बस्नेतले भने  ।