व्यावहारिक ज्ञानका लागि नीतिशिक्षा

0
Shares

व्यक्तिअनुसार स्वभाव फरक–फरक हुन्छ । यद्यपि व्यावहारिक ज्ञान प्राप्तिका लागि नीतिशिक्षाले मार्ग निर्देशन गरेको छ । हाम्रा पुर्खाले आफ्नो अनुभवका साथै अध्ययन अनुसन्धानपश्चात् नीतिशिक्षा लेखेका हुन् । नीतिशिक्षामा हितोपदेश, विदुरनीति, चाणक्यनीति आदि अग्रपंक्तिमा रहेका छन् ।

केही प्रचलित नीतिशिक्षा

क) आफ्नै प्रशंसा गर्ने, दुर्वचन बोल्ने, क्रोध (धेरै रिसाउने), अश्लील बोल्ने, अरूले बोलेका कुरामा अनादर गर्ने, थोरै कुराको ज्ञान हुँदा पनि सबै जानेको धाक लगाउने, बिनाकाम अरूलाई दुःख दिने, मोजमस्तीमा धन खर्च गर्ने मूर्खको लक्षण हो ।

ख) धन धेरै हुने, बल धेरै हुने, आयु धेरै हुने भन्दा जोसँग धेरै ज्ञान छ त्यो नै श्रेष्ठ (उत्कृष्ट) हो । धु्रव, प्रह्लाद, कपिलमुनिले आमालाई पनि ज्ञान दिएका थिए । ज्ञानी भएकाले नै उनीहरू श्रेष्ठ भएका हुन् ।

ग) विद्यार्थीको सबैभन्दा ठूलो कुरा अनुशासन हो । अनुशासन नै धर्म, तपस्या, ज्ञान हो । अनुशासनमा बस्नेले सबै कुरा सहज रूपमा प्राप्त गर्न सक्छ ।

घ) नसोची, नसम्झी, विचार नपु¥याइकन काम गर्ने, केही नबुझी लडाइँ–झगडा गर्ने, हतार–हतार काम गर्ने, कुरै नबुझी, रुने, हास्ने, रिसाउने मान्छेको चाँडै विनाश हुन्छ ।

ङ) वृद्ध अवस्थामा श्रीमती मरिन् भने, आफ्नो धन आफन्तको हातमा गयो भने, आफ्नो भोजन अर्काको अधीनमा रह्यो भने त्यसले मृत्यु समान दुःख दिन्छ ।

च) जसले आफ्ना शत्रुलाई र व्यभिचारसम्पन्न व्यवहार भएका स्त्री–पुरुषलाई अत्यधिक विश्वास गर्दछ त्यसको चाँडै नै नाश हुन्छ।

छ) दुष्ट मनुष्य पहिला शरणमा पर्दछ । अगाडि मन पर्ने कुराहरू सुमधुर तरिकाले सुनाउँछ । पछाडि अरूसँग नराम्रा कुरा गर्दछ । आपत्कालीन अवस्थामा सहयोग गर्नुको सट्टा अपहेलना गर्दछ । त्यसैले, दुष्टसँग मित्रता तथा प्रेम गर्नुहुँदैन ।

ज) जसले विवाह लगायतका शुभकार्यमा, आपत्कालीन अवस्थामा, अनिकाल लागेका अवस्थामा, राज्य वा राष्ट्रमा हुने विद्रोहमा तथा श्मसानघाटमा उपस्थिति जनाउँछ या साथ दिन्छ त्यो मात्र बन्धु वा मित्र हो ।

झ) आपत्कालीन अवस्थामा मित्रलाई, युद्धमा शूरवीरलाई, ऋण लागेका बेला सच्चा व्यवहार, धनविहीन भएका बेला श्रीमती÷प्रेमिकालाई, दुःख परेका बेला दाजुभाइ तथा बन्धुबान्धवलाई चिन्ने अवसर प्राप्त हुन्छ ।