परराष्ट्रमन्त्री देउवासँग भारतीय विदेश सचिवको शिष्टाचार भेट


काठमाडौँ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो ।

वार्ताका क्रममा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत् भारतसँग कुरा उठाएकी थिइन् ।

भेटका क्रममा मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन् ।

सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो ।

त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलाको पुल उद्घाटनबारे पनि प्रसङ्ग उठाएकी थिइन् ।

साथै भेटकाक्रममा मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी थिइन् ।
मन्त्री डा राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरुको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् ।