अर्शद र निरजको उदाहरणीय ‘स्पोर्ट्सम्यानसिप‘

196
Shares

काठमाडौं ।

सन १९४७ को अगस्त १४ मा पाकिस्तान र अगस्त १५ मा भारत नयाँ र स्वतन्त्र मुलुकको रुपमा अस्तित्वमा आउने क्रममा धार्मिक नरसंहार भएको थियो। त्यसपछि पनि पटक–पटक भएका युद्धले यी दुई देशका नागरिकबीच वैरी मानसिकता रहँदै आएको छ।

दुवै देशबीच यस्तो तिक्तता हुनु पछाडिको कारण राजनीति नै हो। तर, यसको असर खेलकुदमा पनि देख्न पाइन्छ। दक्षिण एसियाका दुई छिमेकी राष्ट्रबीच हुने कुनै पनि खेल प्रतिस्पर्धालाई खेलकै रुपमा मात्र लिइने गरिँदैन। किनभने यी दुई राष्ट्रका खेलाडीहरु आमने सामने हुँदा पानी बाराबारको स्थिति सिर्जना हुन्छ। मरिमेटर एकअर्कालाई हराउने होडबाजी नै चल्छ।

यी दुई देशका खेलाडीले खेलको नियम पालना गरेपनि खेल मैदानमा युद्ध नै लडिरहेको पो हो की भन्ने झल्को दिने गर्छ। हार र जितको महत्व त यत्ति धेरै हुन्छ की महिना दिनसम्म पनि जित्ने टोलीको प्रसंशा र हार्ने टोलीको आलोचना गरेर मिडिया थाक्दैन। धेरैजसो क्रिकेट खेलमा यस्तो रस्साकसी देखिने गरेपनि अन्य खेल पनि यस्तो संस्कारबाट अछूटो भने छैन। हक्की, फुटबल होस वा दौड, यी दुई राष्ट्रका खेलाडीमध्ये एकले अर्कोलाई हराउँदा युद्ध नै जितेसरी उत्सव मनाउने गरेको श्रब्यदृश्य मिडियाले ब्यापक प्रचार गर्छ । यस विषयमा धेरै फिल्महरु पनि छायांकन गरिएका छन।

यसरी विगत लामो समयदेखि वैरभावको सिलसिला चल्दै आएपनि गत हप्ता यी दुवै देशका खेलाडीले विश्व खेलमञ्चमार्फत मित्रताको बेजोड नमूना प्रस्तुत गरे । २०२४ अगस्त ९ का दिन पेरिस ओलम्पिकको ट्रयाक एण्ड फिल्ड अन्तर्गत ज्याभलीन थ्रो को गोल्ड मेडलका प्रमुख दावेदारका रुपमा पाकिस्तानी खेलाडी अर्शद नदिम र भारतका निरज चोपडाबीच कडा प्रतिस्पर्धा भएको थियो ।

निरज उनै खेलाडी हुन जसले गत टोकियो ओलम्पिक २०२० मा स्वर्ण पदक जितेका थिए । यसपटक पनि उनलाई स्वर्णका प्रबल दावेदार मानिएका थिए । उनले आफ्नो साख अनुसार ८९.४५ मिटर ज्याभलीन थ्रो पनि गरे । तर, निरजको उक्त चुनौतीलाई अर्शदले ९२.९७ मिटर टाढा ज्याभलीन फालेर उछिने । अर्शदले नयाँ ओलम्पिक रेकर्डसहित स्वर्णमा आफ्नो नाम लेखाए । ओलम्पिक इतिहासमै पाकिस्तानले व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो । अर्शदको यो थ्रो अहिले ओलम्पिक इतिहासको नै सर्वाधिक लामो थ्रो बनेको छ ।

यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा नेदरल्याण्ड्सका एन्ड्रियास थोरकिल्डसेनले ९०.५७ मिटरको थ्रो गर्दै कीतिमान बनाएका थिए । पाकिस्तानले ओलम्पिक इतिहासमा जितेको यो चौथो स्वर्ण हो । पाकिस्तानले ओलम्पिकमा स्वर्ण जितेको यो ४० वर्षयताकै पहिलो हो । यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो।

उक्त कुरा हार जितमा मात्र सिमित थिएन । धेरैजसोको अनुमान भन्दा विपरीत दृश्य देखियो। मेडल थाप्न कांस्य जित्ने ग्रेनाडाका एन्डसन पिटर्ससहित जब तीनैजना पोडियममा उभिए, तब ओलम्पिक जस्तो खेल महाकुम्भमा दक्षिण एसियाली खेलकुदका सदस्य राष्ट्र पाकिस्तान र भारत क्रमशः पहिलो र दोस्रो स्थान देखिनु दक्षिण एसियाली नागरिकका लागि पनि गर्वकै विषय थियो।
त्यतिमात्र होईन, एकअर्काको दुश्मन कहलिएका भारतीय र पाकिस्तानी खेलाडीले एकअर्कालाई गरेको इज्जत र उदारता तारीफायोग्य थियो।

दुवैले एक–अर्कालाई अंगालो हालेर बधाई दिनुदेखि साथ–साथ सेल्फी लिनु जस्तो मित्रवत ब्यवहारले दुवै देशको जनतामा सकारात्मक सन्देश प्रवाह भयो । त्यति मात्र होइन, निरजकी आमा सरोज देवीले पनि अर्शद आफ्नै छोरा जस्तो हो र गोल्ड जितेप्रति आफु निकै खुसी भएको अभिब्यक्तिले सबैको मन जितेको छ। अर्कोतिर अर्शदको बुबाले पनि एउटा अन्तर्वार्तामा छिमेकी हुनुको यो एउटा ठूलो प्रेरणा हो र निरजले टोकियो ओलम्पिकमा स्वर्ण पदक ल्याएपछि अर्शदले गाउँमा निरजको बारेमा दिनभर कुरा गर्ने गरेको र यही प्रेरणाको परिणाम अहिले बाहिर आएको बताएका थिए।

पाकिस्तानी अर्शद र भारतीय निरजले एकअर्कालाई गरेको सम्मान र सदभावले वर्षौ अघिदेखिको वैरी सोचलाई नै परिवर्तन गरेको छ । जुन आउँदै गरेको दुवै देशको स्वतन्त्रता दिवसका लागि नयाँ आयाम समेत बन्नेछ । कुनैपर्ने हुन्छ यो हेर्नलाई कि अर्शद र निरजको भाइचाराले आगामी दिनमा यी दुई राष्ट्रका खेलाडीबीच विगतका घाउमा मलम लगाउन कति सफल हुने हो भनेर । आशा गरौं २०६ राष्ट्र सम्मिलित पेरिस ओलम्पिक २०२४ जस्तो खेल महाकुम्भमा यी दुई छिमेकी राष्ट्रले देखाएको ‘स्पोर्ट्सम्यानसिप’ सबैको लागि उदाहरणीय बन्ने छ भनेर ।

अर्शदको खेल करिअर
गोल्ड, २०२४ पेरिस ओलम्पिक्स

सिल्भर, वल्र्ड एथ्लेटिक्स च्याम्पियनशिप २०२३, बुडापेस्ट

गोल्ड, कमनवेल्थ गेम्स २०२२, बर्मिङ्घम

गोल्ड, इस्लामिक सोलिडारिति गेम्स २०२१, कोन्या

गोल्ड, साउथ एसियन गेम्स २०१९, काठमाण्डौ

ब्रोन्ज, इस्लामिक सोलिडारिति गेम्स २०१७, बाकू

ब्रोन्ज, एसियन गेम्स २०१८, जाकार्ता

ब्रोन्ज, साउथ एसियन गेम्स २०१६, गुवाहाटी र शिलोंग

ब्रोन्ज, एसियन जुनियर एथ्लेटिक्स च्याम्पियनशिप २०१६, हो चि मिन्ह सिटी