मृत अवस्थामा भेटिए दृष्टिविहीन गायक प्रकाश


काठमाडौं ।

दृष्टिविहीन गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ। शनिबार ललितपुर महानगरपालिका भैंसेपाटीस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका उनलाई परिवारले पाटन अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसपछि उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको थियो। दृष्टिविहीन उनी रियालिटी शो नेपाली ताराबाट गायनमा उदाएका उनको प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ, तिम्रो हातको सिन्दुर, जुन भन्दिनँ, नमान लाज यसरी, नआए नि हुन्थ्योजस्ता गीत चर्चित छन्। सुनसरी प्रकाशपुरका उनले बाल्यअवस्थामा कोशीमा आएको बाढीका कारण परिवार गुमाएका थिए।

उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्यसअघि उनको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिएको थियो।