युवाहरू किन प्रशासनमा जान चाहँदैनन् ?

9.12k
Shares

काठमाडौं ।

खानेपानीको बिलदेखि लाइसेन्स नवीकरण गर्नदेखि हरेक कामकुरोका लागि नागरिकहरू विभिन्न सरकारी कार्यालयमा जाने गर्दछन् । तर, अक्सर किशोरकिशोरी र युवावर्ग सरकारी कार्यालयमा जान भनेपछि झन्झट मान्छन्। भरसक सरकारी कार्यालयमा जान नपरे हुन्छ भन्ने उनीहरू चाहन्छन्। जानुपरे पनि आफूभन्दा ठूला, नजिकका नातेदारहरू लिएर सरकारी कार्यालयमा गएर काम फत्ते गर्छन्।

स्थानीय तह, प्रहरी, प्रशासनमा सेवाप्रवाह चुस्तदुरुस्त गर्न, सेवामा नागरिक पहुँच बढाउन सार्वजनिक सुनुवाइ, नागरिक सुनुवाइ, सामाजिक परीक्षण र विभिन्नखाले अन्तरक्रियाहरू आयोजना गर्छन् । तथापि, सेवा लिन कुनै आफन्त, नातेदारको सहयोगबिना सरकारी कार्यालय जाने युवावर्ग वृद्धि हुन सकेको छैन । आखिर किन किशोरकिशोरी र युवावर्गहरू सरकारी कार्यालयमा जान चाहँदैनन् ?

‘वडा कार्यालय, नगरपालिका तथा प्रशासनमा चिनेको मान्छे छ भने चाँडै काम हुन्छ । नभए कर्मचारीबाट सहज रूपमा काम गराउन गार्‍हो छ’ – ललितपुर महानगरपालिका–८ बस्ने सतिस शाक्यले भन्नुभयो । एउटा संस्थामा आबद्ध भएर प्रशासनको कामलाई नजिकबाट नियाल्दै आएको आधारमा सरकारी कार्यालयमा चिनजानबिना काम हुँदैन भन्ने धारणा बनेको उहाँले बताउनुभयो।

उहाँले एउटै कामका लागि वडा र नगरपालिकामा दश पटकसम्म धाएको सन्दर्भ पनि सुनाउनुभयो। उहाँको अनुभवमा काम लिएर सरकारी कार्यालयमा जाँदा कहिलेकाहीँ तोकिएको कामका लागि तोकिएको कागजात नभएको हुने, कहिले कर्मचारी भेट नहुने, आलटाल गर्ने र सर्वसाधारणको कुरै नसुन्ने खालका छन्।

त्यसै गरी ललितपुर–२० बस्ने विपुलरत्न शाक्यले काम लिएर जाने क्रममा कर्मचारीले सहजीकरण नगर्ने, प्रक्रियागत ज्ञानको कमीले पनि पनि कार्यालयमा जान अनिच्छुक रहेको बताउनुभयो। कर्मचारीले कुरा गर्ने शैली, भाषा पनि युवामैत्री नहुने, युवाहरूले उनीहरूले सुन्ने भाषामा कुरा गर्न नसक्ने जस्ता कारणले पनि काम गर्न गार्‍हो भएको उहाँको ठम्याइ रहेको छ ।
काठमाडौं महानगरपालिका कार्यालयमा भेट भएका बानेश्वर निवासी सुमन कार्की पनि सेवाग्राहीको चाहना र अपेक्षाप्रति कर्मचारी खासै संवेदनशील नहुने गरेको अनुभव सुनाउनुहुन्छ।

अझ विदेशबाट घर बिदामा फर्किएका साथीहरू त सरकारी कार्यालयमा जान झ्याउन मान्छन्। अर्कोतर्फ एउटा काम गराउन पनि दिनभरि लाग्ने, तुरुन्तै काम नबन्ने प्रवृतिले गर्दा पनि दिक्क बनाएको उहाँको भनाइ छ। ती युवाहरूले प्रशासनको उपर जीवनमा भोगेको अनुभवको आधारमा सरकारी कार्यालयमा जान नपाए पनि हुन्छ भन्ने सोच बनाएका छन्।

‘किशोरकिशोर र युवावर्गमा सामान्यतया नियम, कानुन बुझेको हुँदैन । सरकारी काम भने प्रक्रियामा आधारित हुने गर्दछ । यसले गर्दा सरकारी काम अलि झझन्टिलो, मान्ने गर्छन्’, अध्यागमन विभागमा कार्यरत उपसचिव अमरदीप सुनुवारले भन्नुभयो– ‘काम गर्दा अलि तर्किने, ताकेता गर्नुपर्ने हुन्छ।’

त्यसले गर्दा उपसचिव सुनुवारका अनुसार युवाहरू आफ्नो समस्याको विषयमा प्रशासन गएर ‘फेस’ गर्ने बानी बसाल्नुपर्दछ । उहाँले भन्न्ुभयो– ‘म फेस गर्छु भन्ने भावना हुनुपर्दछ । शुरू, शुरूमा अलि गा¥हो पनि होला । कार्यालयमा गएर नागरिक बडापत्र पढ्ने, त्यहीअनुसार कागजात मिलाउने, सम्बन्धित शाखा प्रमुखलाई भेटेर कुरा राख्नेजस्ता बानी बसाल्न सके आफंै गएर काम लिन सक्ने हुन्छन्।’

सरकारी कार्यालयमा समयमै काम हुँदैन भन्ने जनधारणाले पनि प्रशासनमा एक्लै जान नचाहने समस्या देखिएको सुनुवारको तर्क रहेको छ । यसलाई चिर्दै जानुपर्ने पनि उहाँको जोड रहेको छ। अहिले हरेक सरकारी कार्यालयमा तोकिएको कामका लागि तोकिएको कागजात र लाग्ने समयावधि समेत उल्लेख गरी नागरिक बडापत्रको बोर्ड टाँगिएको हुन्छ। सम्बन्धित कार्यालयको वेभसाइट पनि त्यसबारे राख्ने गरेको छ, त्यसलाई एकचोटि पढेर व्यवहार गर्ने हो भने सेवा लिन सहज हुने ललितपुर महानगरपालिका–३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनको भनाइ रहेको छ।

अहिले ३ वडामा नागरिक बडापत्र मात्र नभई अपांगमैत्री बडापत्र र रोबर्ट बडापत्रको समेत प्रयोगमा ल्याइएको छ। जसले गर्दा दृष्टिविहीन सेवाग्राहीले समेत सुनेर काम लिन सक्ने स्थिति रहेको छ। अहिलेको डिजिटल तथा उच्च प्रविधियुक्त जमानामा यस किसिमको प्रयोगले पनि सेवाप्रवाहमा सहज बनाएको सेवाग्राहीहरूको भनाइ छ।