स्वास्थ्य बीमा वृद्धि गरी ५ लाख बनाउने

854
Shares

काठमाडाैं ।
स्वास्थ्य बिमाको सीमा क्षेत्र वृद्धि गरी ५ लाख बनाउने र हरेक अस्पतालमा न्युरो सम्बन्धी सेवा विस्तार गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौड्यालले जानकारी गराए ।

स्वास्थ्य मन्त्री पौड्यालले स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यका नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै स्वास्थ्य बिमालाई एकद्धार प्रणालीका माध्यमबाट अघि बढाउने नीति अघि सारेको जानकारी गराए ।

उनले स्वास्थ्य बिमा हालसम्म १ लाख रहेकोमा त्यसलाई वृद्धि गरी ५ लाख बनाउन ४० अरबको स्रोत सुनिश्चित भएको र नीति तथा कार्यक्रम अनुसार प्रस्तुत गरिएका कार्यक्रममा १५ देखि २० प्रतिशत बजेटको स्रोत सुनिश्चित नभएको बताए । स्रोत सुनिश्चित नभएको अवस्थामा तीनै तहको सरकार र दातृ निकायसँग सहकार्य गरेर अघि बढ्ने योजना सहित कार्यक्रम ल्याएको पनि उनले जानकारी गराए ।

मन्त्री पौड्यालले खरिद प्रक्रियालाई पारदर्शी बनाउने विषयमा नीतिगत सुधारका लागि स्वास्थ्य मन्त्रालयले जोड दिने बताए । हरेक अस्पतालमा आइसियु तथा शल्यक्रिया कक्ष र जनशक्तिलाई दुई सिफ्टमा चलाएर भएपनि सेवालाई सुचारु गर्ने र दक्ष जनशक्तिको कामको मूल्याङ्कन गरी समय सापेक्ष तलब भत्ता दिने व्यवस्था गरिने छ । यदि स्वास्थ्य संस्थाको आन्तरिक स्रोतबाट थप भत्ता दिन आर्थिक स्रोत कम भएमा स्वास्थ्य मन्त्रालयको आन्तरिक स्रोतबाट व्यवस्था मिलाउनेछौ भने ।

यी कार्यक्रम पुरा गर्न आवश्यकता अनुसार प्रविधि, विशेषज्ञ, आवश्यक जनशक्ति सहितको कार्यान्वयन समिति बनाई हुटहुटी ल्याउने मन्त्री पौड्यालको योजना रहेको उनले जानकारी गराए । उनले यसका साथै गंगालाल अस्पताललाई मुटुरोग विशेषज्ञ अध्ययन अध्यापनका लागि विस्तार गर्ने योजना रहेको जानकारी गराए ।

त्यसै गरी निरोगी नेपाल बनाउन रोग निरोधक प्रणालीको विकास गर्ने, आधारभूत स्वास्थ्य केन्द्र विस्तार गर्ने, योग, ध्यानमा जोड दिने, आर्युर्वेदलाई प्राथमिकतामा राख्ने , पाठ्यक्रममानै स्वास्थ्य शिक्षामा जोड दिने, जनचाहना अनुरूपको व्यवस्थापन गर्ने लक्ष्य सरकारले लिएको बताए । त्यसै गरी मानसिक स्वास्थ्य कार्यक्रम विस्तार गर्ने, लागु पदार्थ दुर्व्यसनलाई सुधार ल्याउने कार्यक्रम बनाउने, स्तन क्यान्सर र मुटुको भल्भ फेर्न तथा उपचारमा गरिब तथा आयस्रोत नभएकालाई निःशुल्क गर्ने तर्फ जोड दिने ।

मृगौला रोगको स्थानीय स्तरमा स्क्रीनिङ गर्ने, सरकारकै न्युरो अस्पताल छुट्टै नभएकाले न्युरो अस्पताल खोल्ने, गंगालाललाई ५ सय बेडमा विस्तार गर्ने, कान्ति बाल अस्पताललाई वृद्धि विकास गर्ने , टेकु अस्पताललाई सरुवा रोग उपचारको हब केन्द्र बनाउने, सातै प्रदेशमा मृगौला प्रत्यारोपण गर्ने व्यवस्था गर्ने ।

तनहुँमा रहेको जीपी कोईराला श्वासप्रश्वास अस्पताललाई ३ सय बेडमा विस्तार गर्ने, औषधि ऐन लामो समय देखि संशोधन नभएको र समय सापेक्ष बनाउन औषधि ऐन संशोधन गर्ने र औषधिको मूल्य समायोजन गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले कार्यक्रम अघि सारेको स्वास्थ्य मन्त्री पौड्यालले जानकारी गराए।

यसका सााथै नेपाली औषधि कम्पनीहरूलाई गुणस्तरीय औषधि उत्पादनका लागि प्रोत्साहन गर्ने, नेपाल औषधि लिमिटेडलाई व्यवस्थित गर्ने लगायतका विषयलाई नीति तथा योजना कार्यक्रम अनुरूप कार्यान्वयनमा जोड दिने बताए । उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको सम्बोधन गर्दै तीन तहको सरकार सेवाग्राहीको स्वास्थ्य सेवामा गुणस्तरमा जोड दिने गरी अघि बढ्ने बताए ।