जलवायु परिवर्तन असर न्यूनीकरणमा नेपाल भारत मिलेर अघि बढौँ : राष्ट्रपति पाैडेल

42
Shares

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताए । “ हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनिकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ”, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।


राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको बताए । उनले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त संभावना रहेको उल्लेख गरे ।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनिकरणको विषय दुवै देशका लागि चुनौति रहेकोले यसमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल सरकारका कैयो योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको बताए । उनले काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए ।

नेपाल भारबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थीर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पार्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताए ।