मानविकी तथा सामाजिक शास्त्र संकायको लुट, ६० हजार लिएर एकदिने अभिमुखीकरण


–पब्लिक क्याम्पस संघको बहिष्कार
–पदाधिकारी टुलुटुल हेर्दै
–यो त लुट भयो, आफ्नै कार्यक्रम गर्न ६० हजार
–सकेसम्म रोक्ने तयारी
–त्रिविलाई आर्थिक भार नपर्ने गरी स्वीकृत दिएका हौं

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय मानविकी संकालयले एक दिनको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न प्रतिकलेज ६० हजार रुपियाँ मागेर लुट मच्चाएको छ। डीन कार्यालयले ब्याचलर अफ कम्प्युटर एप्लिकेसन्स (बीसीए) कार्यक्रम सञ्चालन भइरहेका क्याम्पस र कलेजमा अध्यापनरत प्राध्यापकसँग १५ हजार रुपियाँका दरले ४ जनाको ६० हजार रुपियाँ उठाउन उर्दी जारी गरेको छ।

डीन कार्यालयले क्याम्पस प्रमुख, कार्यक्रम संयोजक र शिक्षकसहित ४ जनाको अनिवार्य सहभागी गर्न उर्दी जारी गर्दै रकम संकलन गर्न शुरू गरेको छ । कलेजलाई सेमेस्टर, पाठ्यक्रम, निर्माण र परिमार्जन गर्ने जस्ता डीन कार्यालयबाटै गर्नुपर्ने अनिवार्य कामलाई अभिमुखीकरणको नाम दिँदै रकम संकलन गर्न थालेकोमा त्रिविभित्रैबाट विरोध भएको छ।

यसअघि ०७९ चैत २६ गते सोही कार्यक्रम सञ्चालन गर्ने भन्दै सूचना जारी गरेको थियो। आन्तरिक रूपमा विवाद र तत्कालीन कार्यकारीको बैठकले स्वीकृत नदिएको कारण त्यस बेला सो कार्यक्रम स्थगित भएको थियो। नयाँ पदाधिकारी आउनासाथ डीन प्राडा कुशुम शाक्यले कार्यक्रम आयोजना गर्न स्वीकृत लिनुभएको थियो।

डीन शाक्यले कार्यकारीको बैठकबाटै स्वीकृत गराएर कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो । पत्रको विषयमा जानकारी लिँदा उहाँले भन्नुभयो– ‘तपाईंलाई कहाँ कसरी पत्र आयो ? यो त क्याम्पसलाई मात्र थियो ।’ उहाँले करिब डेढ वर्षदेखि स्थगित र रकम उठाएर पनि कार्यक्रम आयोजना गर्न नसकिएकाले यो वर्ष कार्यक्रम सम्पन्न गर्न कार्यक्रम गर्दा लाग्ने खर्चबापत एउटा क्याम्पसबाट ६० हजार संकलन गर्न पत्राचार गरेको बताउनुभयो ।

डीन कार्यालयले उपत्यकाभित्रका क्याम्पसका लागि साउन २६ गते पार्कभिलेज रिसोर्ट बूढानीलकण्ठ र उपत्यका बाहिरका क्याम्पसका लागि साउन ३१ गते सौराहास्थित युनिक वाइल्ड रिसोर्टमा कार्यक्रम गर्ने गरी मिति तय गरेको छ। डीन शाक्यको पदावधि समाप्त भइसकेर अर्को व्यवस्था नभएसम्मका लागि डीनको कार्यभार सम्हालिरहनुभएका डीन प्राडा शाक्यले प्रायःजसो निजी क्याम्पसलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लाग्नुभएको हो। डीन शाक्यको साउन ९ गतेबाट कार्यकाल सकिएको थियो। सो विषयमा उपकुलपति प्राडा केशरजंग बरालसँग जानकारी लिँदा यो कार्यक्रमले त्रिविलाई कुनै भार नपर्ने बताउनुभयो।

रजिस्टार प्राडा केदारप्रसाद रिजालले त्रिविलाई आर्थिक भार नगर्ने गरी निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्रिविको बजेटसहित प्रस्तावना तयार भएको थियो, हामीले आर्थिक भार नपर्ने गरी कार्यक्रम गर्न स्वीकृत दियौं ।’

डीन कार्यालयले गत वर्ष प्रयास गर्दा पनि कार्यक्रम गर्न सकेको थिएन । डीन कार्यालयले करिब सय बढी क्याम्पससँग ६० हजारका दरले रकम संकलन गर्ने तयारी गरेको छ । हाल देशभर करिब १ सय २५ क्याम्पसमा बीसीए विषयको पढाइ हुन्छ। तीमध्ये करिब ११ वटा सामुदायिक केही त्रिविको आंगिक क्याम्पसमा सञ्चालन भइरहेको छ। डीन कार्यालले निजी कलेजलाई अनिवार्य रूपमा रकम जम्मा गर्न दबाब दिएको स्रोतको भनाइ छ।



‘हामीले बहिष्कार गर्ने निर्णय गरेका छौं’

पब्लिक क्याम्पस संघका अध्यक्ष सत्रुधनप्रसाद गुप्ताले डीन कार्यालयले कलेजसँग रकम संकलन गर्नका लािग मात्रै आयोजना गरेको अभिमुखीकरण कार्यक्रम बहिष्कार गरिसकेको स्पष्ट पार्नुभयो । उहाँले कार्यक्रम आयोजना गर्नुको औचित्य नभएको विषयमा उपकुलपति, रेक्टर, रजिस्टार र मानविकी तथा सामाजिक संकायका डीन प्राडा कुशुम शाक्यलाई जानकारी गराएको बताउनुभयो ।

उहाँले कलेजसँग अनिवार्य रकम मागेर दुःख दिनु गलत भएको विषय पदाधिकारीलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको आरोप लगाउनुभयो । भन्नुभयो–डीन कार्यालयको अनिवार्य दायित्वभित्र पर्ने अभिमुखीकरण, पाठ्यक्रम परिमार्जनजस्ता विषयमा शुल्क उठाउनु गलत छ । उहाँले डीन कार्यालयले तत्काल निर्णय फिर्ता लिनुपर्ने उहाको जिकिर थियो ।

संघले कार्यकारीको बैठकले निर्णय गरेको भए यो गम्भीर गल्ती भएको आरोप लगाउनुभयो । रकम उठाएर तालिम दिने विषयलाई पदाधिकारीले स्वीकार गर्ने ? यो जति नालायक विषय के हुन्छ ? उहाँको प्रतिप्रश्न थियो । उहाँले निजीसँग रकम असुल्न कार्यक्रम आयोजना गर्न लागेको आरोप लगाउनुभयो ।

१ दिनको कार्यक्रमको नाममा ६० हजार उठाउने ? पदाधिकारीकै मिलोमतोमा यो कार्यक्रम हुन लागेको आरोप उहाँको थियो। ‘हामीले बहिष्कार गर्ने निर्णय गरिसकेका छौं, निजी र केही आंगिक मात्र सहभागी होलान्’ –उहाँको आरोप थियो।