अमरदीप सुनुवारको पहिलो कृति पृथ्वीको स्वेतपत्रको लोकार्पण


काठमाडौं।

गीतकार एवं कवि अमरदीप सुनवारको कविता संग्रह पृथ्वीको स्वेतपत्र बजारमा आएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका सुनुवारको सो कृति शुक्रबार एक समारोहकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले लोकार्पण गरे ।सो अवसरमा कुलपति राईले सुनुवारले आफ्नो कवितामा राष्ट्रप्रेम, राष्ट्रभक्ति, सौन्दर्यता, मानवता, प्रकृतिवाद, समयका सुस्केरा, मानवीय संवेदना तथा स्वतन्त्रता जस्ता विषयलाई कविताको विषयवस्तु बनाएको बताए।

पृथ्वी भएर नै मानव जीवनको अस्तित्व रहेको कुरा कवितामार्फत व्यक्त गर्दै ती कविताहरु सुसंस्कृत सिर्जना रहेको पनि कुलपति राईको विचार रहेको छ ।
राईले सबै निजामती कर्मचारीले कविता लेख्ने हो भने काममा समेत थप सृजनशीलता आउने विचार व्यक्त गर्दै भने ‘ प्रत्येक कर्मचारीले कविता लेख्नुपर्छ, नलेखेपनि पढ्नुपर्छ ।जसरी शरीरको मयल साबुनले सफा गर्छ, त्यसैगरी साहित्यले मानिसको दिमाग सफा गर्छ। मानिसको दिमाग सफा गर्ने कविताले हो, त्यसैले कविता लेख्नुपर्छ,पढ्नुपर्छ ।’

सुनुवारको कवितामाथि साहित्यकार मोमिला जोशी, राजकुमार बानियाँ, सुशान्त गुरुङ, विमला तुम्खेवा लगायतले समीक्षा एवम् टिप्पणी गरेका थिए । 
सुनुवारको पहिलो काव्यकृति उत्कृष्ट बनेर आएको बताउँदै उनीहरुले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम भएको बताए। सुनुवारले ४७ वटा कवितालाई १ सय ३१ पृष्ठमा समावेश गरेका छन्।

सोही अवसरमा कवि तथा गीतकार सुनुवारको शब्दमा रहेको नयाँ बाल गीत ‘ आँगनीमा नाच चरी ‘ गीतसमेत सार्वजनिक भएको छ । यस अघि उनको दिनरात सधैं सधैं, लिखु खोलाको तिरैतिर र गाउँ घर भन्ने गीत बजारमा ल्याएको थियो।