काभा वीच भलिबल प्रतियोगितामा दोस्रो स्थान ल्याउने राष्ट्रिय खेलाडी सम्मानित


ललितपुर ।

सैबु भलिबल क्लबले भलिबल खेलका राष्ट्रिय टीमका कप्तान मानबहादुर श्रेष्ठ र राष्ट्रिय खेलाडी दीलबहादुर सुनारलाई सम्मान गरेको छ । भुटानको थिम्पुमा अगष्ट १ देखि ३ तारिखमा सम्पन्न सेन्ट्रल जोन एशियन भलिबल एसोसिसन(काभा) वीच भलिबल प्रतियोगितामा दोस्रो स्थान(फस्ट रनरअप)हासिल गरेका दुई खेलाडीलाई सम्मान गरेको हो ।


प्रतियोगितामा कप्तान श्रेष्ठ र सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा माल्दिभ्सले पहिलो स्थान हासिल गरेको थियो । सम्मान कार्यक्रममा क्लबका अध्यक्ष धिरज कुँबरले सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा क्लबका उपाध्यक्ष एवं सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापा , समाजसेवी हरिकुमार थापा, सर्कलका वरिष्ठ सदस्य गोपालराम पौडेलले कप्तान श्रेष्ठ र खेलाडी सुनारलाई सम्मान गरेका थिए ।

सम्मानित मध्ये राष्ट्रिय खेलाडी एवं कप्तान श्रेष्ठ सैंबु भलिबल क्लबका कार्यकारी सदस्य हुन । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय कप्तान श्रेष्ठले सम्मानले भर्खरै खेलिरहेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताए । खेलकुदलाई कसरी अघि बढाउने र यस स्थानलाई परिचय गराउने भन्ने विषयमा गहन छलफल गर्नुपर्ने बताए । उनले सैंबु भलिबल क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नुपर्ने बताए ।

कार्यक्रममा सैबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापाले राष्ट्रिय खेल भलिबल खेललाई अघि बढाउन खेलाडी सम्मान कार्यक्रम महत्वपुर्ण रहेको बताए ।

दुईजना खेलाडीले नेपाल र सैबुको नाम उच्च स्थानमा राख्न सफल भएकोमा शुभकामना दिएका थिए । कार्यक्रमा क्लबका सचिव सुरेन्द्र थापा मगर, नेपाल क्योकुसिन कराटे महासंघका अध्यक्ष शालिकराम कुँबर लगायतले शुभकामना दिएका थिए ।