विद्यालय जाने भनेर ब्युटी पार्लर गएका ३ बालिका बेपत्ता

588
Shares

धादिङ ।

त्यस दिन नीलकण्ठ बाल मन्दिर मावि कक्षा ९ मा अध्ययन गर्ने १४ वर्षका तीन बालिका घरबाट विद्यालयका लागि हिँडेका थिए । उनीहरूले विद्यालय पोसाक लगाएर घरबाट निस्के पनि अन्य लुगासमेत झाेलामा हालेर निस्केका रहे छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का विष्णु विकको छोरी रश्मि विक आमाबाबु समेत धादिङ बेसी बसेको लामो समय भएकाे थियाे । बिहान बाबुलाई विद्यालय जान भनेर पौने आठ बजे घरबाट निस्केकाे थिइन् ।

 घरबाट निस्केर बाटोमा रहेको आफ्नै कक्षाकी सुशीला तामाङको कोठामा पुगिन् । सुशीला उनका दाइसँग बस्थिन् । उनको परिवार नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ मा खेती किसानी गरेर बस्छन् ।

नीलकण्ठ नगरपालिका वडा न.२ भुलभुलेकी सोही कक्षाकी अस्मिता गुरुङ पनि शुशिलाको कोठामा जम्मा भए । उनीहरूले विद्यालय पोसाक लगाए । मेकअपका सामान र विद्यालय पोसाक बाहेकको लुगा समेत किताब कापी बोक्ने झोलामा हालेर विद्यालयतर्फ गए । बिहान १० बजे विद्यालय पुगेपछि उनीहरू बजारतिर मोडिए । यतिसम्मको घटना जानकारी राखेका सुशीलाका दाजु सञ्जयले निन्याउरो अनुहार लगाएर बहिनी खोजिदिन अनुरोध गर्दै बताएपछि अरू परिवारका मानिस पनि मलिन अनुहारमा धादिङ बेसीमा एकसाथ भेटिनुभयो ।

विद्यालय हिँडेका उनीहरू धादिङ बेसीमा रहेको कौशिक व्यूटिपर्लरमा गएर थाई कट कपाल काटे र अन्य मेकअप गरे त्यहाँ ५ सय रुपैयाँ तिरेपछि दिउँसो १ बजेतिर उनीहरू पसलबाट गाडी छुट्छ भन्दै हतार गरेर निस्किए त्यसपछि कता गए कसैलाई कुनै जानकारी नभएको र अपुष्ट खबरहरू कहिले काठमाडौँ पुगेको, कहिले बागलुङ पुगेको, कहिले मुस्ताङ पुगेको खबरहरू आए पनि उनीहरू कहाँ किन गए कसैलाई जानकारी नभएकोले खोजी गरी उद्धार गर्नु पर्ने भएको हराइरहेकी अस्मिता गुरुङकी दिदी सुस्मिता गुरुङले बताइन् ।

मानव बेचबिखनको गिरोहले भारत लगेर बेचिदिन्छ कि ? वा कुनै दलालले कुनै घटना गराउँछ कि ? परिवारको तर्फबाट खोजी गर्न आउनुभएका सुशीला तामाङकी आमा निरमायाले गहभरी आँसु पारेर आशंका व्यक्त गरे ।

साउन २३ गते हराएका कक्षा ९ मा अध्ययन गर्ने १४ वर्षीय रश्मि बिक, सुशीला तामाङ र अस्मिता गुरुङको खोजी गरिदिन परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा फोटो सहित साउन २४ गते खोजतलासको निवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मकेन्द्र कुमार मिश्रले खोजतलासका लागि देशभरको प्रहरी कार्यालय, देश बाहिरिने सिमा क्षेत्रमा फोटो सहित हुलिया पठाएर खोजबिन थालेको बताउँदै हराएका बालिकाहरूसँग भएको मोबाइलको लोकेसन पत्ता नलागेकोले यकिन गर्न नसकिएको बताए । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

परिवार खोजी गरिरहेको र आतिइसकेको अवस्थामा अभिभावकहरू अध्ययन गर्ने विद्यालय नीलकण्ठ बाल मन्दिर विद्यालयका प्रधानाध्यापक र कक्षा शिक्षकलाई विद्यालय नआएको दिन जानकारी नगराएको सम्बन्धमा जानकारी माग्दा धेरै विद्यार्थी भएको जानकारी दिन नसकेको बताएको खोजीका लागि हिड्नुभएका सुस्मिता गुरुङको भनाइ छ ।

बालिकाहरूलाई कही कतै कसैले देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा विष्णु विक ९८४०७७९३२७, निरमाया तामाङ ९८६६२६२६५८, सुस्मिता गुरुङ ९७६९७६४८१० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।