उद्योग मन्त्री भण्डारीद्वारा विशाखपटनम पोर्टको अवलोकन भ्रमण


काठमाडाैं ।
गत मंगलबारदेखि भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पोर्टको अवलोकन भ्रमण गरेका छन् । उनले पोर्टको पुर्वाधार तथा सेवाहरुको बिषयमा प्रत्यक्ष अवलोकन गरेर जानकारी लिएका छन् ।


अवलोकनका क्रममा सामान लोड अनलोडको प्रक्रिया, सामानहरु सिपमा व्यवस्थापन गर्ने प्रक्रिया लगायतका विषयमा जानकारी लिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । विशाखपटनमबाट विरगन्ज सम्म रेलको दुरिका हिसाबले टाढा भएपनि पानिजहाजबाट ढुवानी गरिने हुदाँ सस्तो मै ढुवानी हुने पोर्ट नियमनकारी निकायको भनाई छ ।


मन्त्री भण्डारीले आयात-निर्यातका क्रममा लजेस्टीकमा बढी रकम खर्च भैरहेको विषयमा ध्यानाकर्षण गराएका छन् । त्यसको सहजीकरणका लागि आगामी दिनमा सरकारसंग समन्वय गरिने पोर्ट नियमनकारी निकायको भनाई छ । आयात निर्यातमा प्रक्रियागत सरलीकरण गर्न र ढुवानी लागत घटाउने बिषयमा छलफल केन्द्रीत रहेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

तेस्रो मुलुकसँगको कारोबारका लागि नेपाललाई भारतले उपलब्ध गराएको विशाखपटनम पोर्टको अवलोकन गरि पोर्टको नियमनकारी निकाय र सिपिङ कम्पनीहरुसंग अन्तरक्रिया आयोजना गरिएको हो ।