स्नातक तह प्रथम वर्षको तालिका सार्वजनिक : असोजबाट पढाइ, आगामी असोजमै परीक्षाफल

560
Shares

–दुई महिनाअघि नै पठनपाठन शुरू
–क्यालेन्डर पूर्ण रूपमा लागू
–९० दिनमा परीक्षाफल
–प्रदेश परीक्षा कार्यालयबाट काम शुरू

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयल स्नातक तहअन्तर्गत ४ वटा संकायको पठनपाठन विगतभन्दा दुई महिनाअगावै शुरू गर्ने निर्णय गरेको छ । उक्त तहको पठनपाठन अघिल्लो वर्ष मंसिर ५ गतेबाट शुरू भएको थियो । तर, त्रिविले वार्षिक प्रणालीअन्तर्गतको पढाइ यो वर्ष असोजबाट शुरू गर्ने निर्णय गरेको हो । यो वर्ष असोजबाट पठनपाठन शुरू गरी ०८२ असोजमै परीक्षाफल प्रकाशित हुनेछ।

त्रिविका रेक्टर प्राडा खड्ग केसीले क्यालेन्डरलाई पूर्ण रूपमा कार्यान्वयन गर्न स्नातक तहको क्यालेन्डर सार्वजनिक गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्षबाट शुरू हुने इन्जिनियरिङ र चिकित्सा, कृषि तथा वनबाहेक सबै संकायको परीक्षाफल ९० दिनमा प्रकाशित गर्ने गरी व्यवस्थापन गरेको छ ।

त्रिविले सार्वजनिक गरेको तालिकाअनुसार मानविकी तथा सामाजिक, व्यवस्थापन, शिक्षा र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८१÷०८२ को पठनपाठन र परीक्षा सकेको ९० दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिका छ । त्रिविले नयाँ शैक्षिक क्यालेन्डर तयार गरेलगत्तै यस्तो व्यवस्था गरेको हो ।

तालिकाअनुसार साउन २८ गतेबाट आवेदन फारम वितरण र बुझाउने, असोजबाट कक्षा सञ्चालन, २०८२ वैशाखबाट अन्तिम परीक्षा फारम भराउने, जेठमा कक्षा सकेर असारमा परीक्षा सञ्चालन र २०८२ साल असोजमा नतिजा प्रकाशन गर्ने कार्यक्रम छ।
रेक्टर कार्यालयद्वारा जारी पत्रमा केही सेमेस्टर प्रणालीबाट सञ्चालन हुने विषयबाहेक सबै परीक्षा क्यालेन्डरअनुसार हुनेछन्। गएको वर्ष मंसिरमा शुरू भएको पढाइको तालिका अस्तव्यस्त थियो। उपकुलपति प्राडा केशरजंग बरालले कार्यकाल सम्हालेलगत्तै समयमै पढाइ र परीक्षाफल प्रकाशित गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएको थियो।

रेक्टर र रजिस्टार नियुक्त भएलगत्तै त्रिविले शैक्षिक क्यालेन्डर जारी गरी पढाइ शुरू हुनेदेखि परीक्षाफल प्रकाशित गर्नेसम्मको मिति तय गरेको थियो। त्रिविका रजिस्टार प्राडा केदार रिजालले सबै विषयको परीक्षाफल परीक्षा सकेको ३ महिनाभित्र गर्ने गरी तयार भइसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार क्यालेन्डर सार्वजनिक गरेको करिब डेढ महिनाभित्र त्रिविले करिब २६ विषयको परीक्षाफल प्रकाशित गरिसकेको छ । रजिस्टार रिजालले भन्नुभयो– ‘बीबीए पहिलो र तेस्रो वर्षको परीक्षाफल प्रकाशित हुन केही समय लाग्ला, बाँकी लामो समयदेखि रोकिएका अधिकांश विषयको परीक्षाफल प्रकाशित गरिसकेका छौं ।’

उहाँले अब विराटनगर, नेपालगञ्ज र अत्तरिया प्रदेश परीक्षा कार्यालयबाट उत्तरपुस्तिका परीक्षण, वितरण, स्क्रुटिङ शुरू गर्ने व्यवस्था भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिलो चरणमा विराटनगरमा शुरू गरिसकेका छौं ।’ अब तीन क्षेत्रबाट काम थालेपछि परीक्षा दिएको ९० दिनमै परीक्षाफल प्रकाशित हुने उहाँले जानकारी दिनुभयो । त्रिविको पहिलो प्राथमिकता समयमै परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशित गर्नुरहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार परीक्षाफलकै कारण त्रिविको साख गिरेको बताउँदै अब समयमै परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशित गरी साख जोगाउने गरी अघि बढ्ने दाबी गर्नुभयो। हामीले क्यालेन्डर सार्वजनिक गरेसँगै परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशित गर्न थालिसकेका छौं’ –रजिस्टार रिजालको भनाइ थियो ।

त्रिविले जारी गरेको क्यालेन्डरमा जाडो र गर्मी बिदा कटौती गर्ने, सेमेस्टरको परीक्षा सकेपछि केही दिन बिदा दिने, साउनदेखि कार्तिकसम्म पठनपाठन सक्नुपर्ने, पुसमा साताव्यापी खेलकुद प्रतियोगिता र फागुनमा स्ववियु निर्वाचन गर्ने विषय समावेश छ।