बंगलादेशमा संसद् विघटन, नयाँ सरकार गठनमा अझै ढिलाइ


काठमाडौं ।

छिमेकी मुलुक बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागेपछि त्यहाँ राष्ट्रपतिले संसद् विघटन गरिदिएका छन् । संसद् विघटन भएपछि अब चुनावी सरकार गठन हुने भएको छ । प्रधानमन्त्री शेख हसिना भागेर दिल्ली पुगेपछि सत्ताको नेतृत्व सेनाले गर्ने संकेत गर्नासाथ विद्यार्थीहरूले सेनाको नेतृत्व आफूहरूलाई स्वीकार नहुने बताएपछि सेना एक कदम पछि हटेको छ।

राजनीतिक प्रतिशोधका कारण जेल जीवन बिताउँदै आएकी विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीकी नेता बेगम खालिदाजियाले जनतालाई शान्त रहन आग्रह गर्नुभएको छ। राष्ट्रपति मोहम्मद शाहबुद्धिनले जेलमा रहेकी जियालाई रिहाइको आदेश दिएलगत्तै उहाँ जेलमुक्त हुनुभएको छ।

उहाँले राष्ट्रको नाममा सम्बोधन गर्दै जनतालाई संयमित रहन आग्रह गर्नुभएको छ। उहाँले मुलुक अब हिंसाबाट मुक्त हुने र देशबाट घृणाको राजनीति अन्त्य भएको र सबै दल मिलेर अघि बढ्न देशवासीलाई आग्रह गर्नुभएको छ। आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरूले नयाँ सरकार गठनमा ढिलाइ नगर्न राजनीतिक दल, सेना र राष्ट्रपतिलाई आग्रह गरिरहेका छन्।विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री डा. मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन आग्रह गरेका छन्।

हाल फ्रान्समा रहनु भएका नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनुभएको छ। उहाँले विद्यार्थी नेताहरूले पटक पटक गरेको आग्रहलाई स्वीकार गर्दै स्वदेश फर्कन लागेको जानकारी बीबीसी अन्तर्राष्ट्रिय सेवालाई जानकारी दिनुभएको छ। देश छोडेर पलायन भएकी शेख हसिनाका प्रमुख राजनीतिक दुस्मनका रूपमा रहनुभएका युनुस पेरिसमा सञ्चालन भइरहेको ओलम्पिक खेलमा अतिथिको रूपमा सहभागी हुनुभएको थियो । उहाँले शुरूमा विद्यार्थी नेताहरूले गरेको प्रस्तावलाई अस्वीकार गर्नुभएको थियो । पटक पटकको आग्रहपछि उहाँले सरकारको नेतृत्व गर्न स्वीकार गर्नु भए पनि अहिलेसम्म उहाँको समर्थन वा विरोधमा कुनै प्रतिक्रिया आएको छैन।

विद्यार्थी आन्दोलनका संयोेजकहरू आसिफ मोहम्मद, नाहिद इस्लाम र अबु बकर मजुम्दारले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन स्वीकार्य नभएको र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका छन् । ती तीन नेताले हामीले सिफारिस गरेभन्दा अन्य कुनै सरकार स्वीकार्य नहुने र आफूहरूले राखेको मागविरुद्ध कुनै कदम चालिए अर्को आँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् । आन्दोलनले सफलता हासिल गरेकै दिन अल्पसंख्यक रूपमा रहेका हिन्दुमाथि आक्रमण शुरू गरिएको छ । धार्मिक तथा जातीय आन्दोलन चर्काएर बंगलादेशको भविष्यमाथि खेलबाड गर्ने समूह सक्रिय रहेकाले त्यसतर्फ चनाखो हुन ती विद्यार्थी नेताहरूले आग्रह गरेका छन् ।

बंगलादेशमा १७ करोड जनसंख्या रहेकोमा १ करोड ५० लाखको हाराहारीमा हिन्दुहरू रहेका छन्। बंगलादेशमा पटक पटक हिन्दुमाथि आक्रमण हुँदै आएको छ । सोमबार दिउँसो आन्दोलनकारीले हिन्दुमन्दिरमा आक्रमण गरी तोडफोड गरेका समाचार सार्वजनिक भएपछि आन्दोलनकारी विद्यार्थीहरू थप सजक भएका छन्।

नेपालमा चिन्ता

बंगलादेशमा राजनीतिक परिवर्तनले एकाएक नयाँ मोड लिएपछि नेपालमा त्यसको प्रभावको बारेमा छलफल शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवासमा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बंगलादेशमा भएको परिवर्तन र त्यसको असरको बारेमा जानकारी गराउनुभएको थियो ।

चीन, भारत, म्यानमार, पाकिस्तान, भुटानलगायतका देशले बंगलादेशमा राजनीतिक परिर्वतन भएपछि आफ्ना सीमा नाकालाई कडाइ गरेको छ । हिजो म्यानमारबाट भागेर नेपाल आएका रोहिँग्याहरूले नेपाललाई दुःख दिइरहेकाले बंगालदेशको राजनीतिक अवस्था बिग्रियो भने शरणार्थीको रूपमा ठुलो संख्यामा बंगालीहरू नेपाल आउन सक्ने भएकाले सीमा क्षेत्रमा कडा निगरानी राख्न पनि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।


हसिनाका पार्टी नेताको होटलमा आगजनी हुँदा २४ को मृत्यु

राजीनामा दिएर विदेश पलायन भएकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एकजना जिल्ला नेताले सञ्चालक गरेको होटलमा आगजनी हुँदा झण्डै २४ जनाको मृत्यु भएको छ ।

बंगलादेशका विभिन्न सञ्चारमाध्यमका अनुसार अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी गरेर भागेका थिए । त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरू धुँवामा निसास्सिएर मारिएको समाचारमा उल्लेख गरिएको छ । सो घट्नामा ४० बढीको उद्धार गरिएको समाचारमा जनाइएको छ।

होटलमा सोमबार दिउँसो ४ बजेदेखि आगलागी भएको थियो भने राती ८ बजे नियन्त्रणमा आएको थियो। जेसोर अस्पतालका डा. प्रार्थो प्रतिम चक्रवर्तीले आगजनीका कारण घाइते १५० जनाको उपचार भइरहेको समाचार स्रोतलाई जनाए।